इजरायलमै अर्दली छाड्ने कान्ता रिजालको नाम संसदीय सुनुवाईका लागि पठाइएन


काठमाडौं । इजरायलमै अर्दली (निजी सहयोगी) छाडेर आउने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम संसदीय सुनुवाईका लागि परराष्ट्र मन्त्रालयले नपठाएको पाइएको छ। व्यवस्थापिका संसद् सचिवालय उच्च स्रोतका अनुसार अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी भनिएकी रिजालको नाम सरकारले संसदीय सुनुवाईका लागि पठाएको छैन।

१७ जना प्रस्तावित राजदूतको नाम मात्र आएको संसद् सचिवालयले स्वास्थ्य लाइभलाई बतायो। त्यसमा अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत रिजालको नाम नरहेको संसद् सचिवालयको भनाइ छ।

रिजाललाई इजरायलको राजदूतबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। इजरायलबाट फिर्ता आउँदा उनले अर्दली भने उतै छाडेर आएको पाइएको छ। स्वास्थ्य लाइभले उक्त कुरा खुलासा गरेपछि रिजालको नाम संसदीय सुनुवाइका लागि नपठाइएको हो।

इजरायल सरकारले अर्दली छाडेको विषयमा तहाँस्थित नेपाली राजदूतवास मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ। उक्त विषयलाई परराष्ट्र मन्त्रालय भने गुपचुप पार्न खोजेको देखिन्छ। यो विषयमा सरकारले तत्काल छानबिन गरेर दोषी देखिए रिजालमाथि आवश्यक कारबाही गर्न जरूरी छ। राजदूत रिजालले अर्दली इजरायलमै छाडेर आएको विषयले नेपालको छबिमाथि नकरात्मक असर परेको छ।

अदालतबाट दोषी ठहर भएका इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य कपिलमान श्रेष्ठको नाम भने संसदीय सुनुवाईका लागि पठाइएको छ। संविधान र राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ विपरीत सिफारिस भएका व्यक्तिहरू संसदीय सुनुवाई विशेष समितिले सच्याउनु पर्छ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #इजरायल, #कान्ता रिजाल, #धनप्रसाद पण्डित इजरायल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ