मानव बेचबिखनको आरोपमा सिके राउतको पार्टीका केन्द्रीय सदस्य न्यौपाने समातिए
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा सिके राउत नेतृत्वको पार्टीका केन्द्रीय सदस्य बुद्धिराज न्यौपाने पक्राउ परेका छन्। उनलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको मानव बेचबखिन अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) गौतम मिश्रले स्वास्थ्य लाइभलाई जानकारी दिए।
मौरिससमा कम्पनीमा पठाउने भनेर व्यक्तिको घरमा एक महिला कामदारलाई पठाउन न्यौपानेको मुख्य भूमिका रहेको पाइएको प्रवक्ता मिश्रले स्वास्थ्य लाइभलाई बताए। ब्यूरोले न्यौपानेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रवक्ता मिश्रको भनाइ छ ।
मौरिससबाट उद्धार गरेर ल्याइएकी पीडितले ग्रीनकार्डको लोभमा न्यौपानेको गिरोहले आफूलाई राम्रो कमाइ हुने प्रलोभनमा उक्त देश पठाएको र व्यक्तिको घरमा बन्धन बनाइएको उजुरी दिएकी छिन्।
कम्पनीमा भनेर पठाइएकी ती महिला घरेलु कामदारका रुपमा मौरिसस पठाइएको आरोप छ। ब्यूरोका अनुसार न्यौपानेमार्फत खरिद गरिएको भन्दै ती महिलालाई गाह्रो काममा लगाउने र चरम श्रम तथा यौन शोषण गर्न लगाएको ती महिलाको दाबी छ। ती पीडित महिलालाई मानव बेचबखिन अनुसन्धान ब्यूरोको पहलमा गैर आवासीय नेपाली संघले उद्धार गरेर नेपाल पठाएको हो।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका न्यौपाने अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा अवैतनिक सल्लाहकारमा नियुक्त भएका थिए। झापाको कमल गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्यौपाने अनिता देवीको सल्लाहकार हुँदा निकै चर्चामा आएका थिए। ‘मन्त्रीको सल्लाहकार हुँ भन्दै’ जाम हटाउन प्रहरीलाई फोन गरेको उनको भिडिओ भाइरल बनेपछि विवादमा तानिएका थिए।
न्यौपाने अहिले जनमत पार्टीको केन्द्रीय सदस्य तथा प्रशासन विभाग प्रमुख हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #बुद्धिराज न्यौपाने केन्द्रीय सदस्य जनमत पार्टी, #मानव बेचविखन, #सामान्य प्रशासनमन्त्री अनिता देवी
तपाईको प्रतिक्रिया दिनुहोस