परिवार अमेरिकामा ‘सेटल’ गरिसकेका भन्सारका डिजी ढुण्डीप्रसाद निरौला स्वास्थ्यमा पुगे

काठमाडौं । परिवार अमेरिकामा ‘सेटल’ गरिसकेका भन्सार विभागका महानिर्देशक (डिजी) ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रिएका छन्। मन्त्रिपरिषद्को हालैको बैठकले उनलाई भन्सार विभागबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको हो।
जनसंख्या व्यवस्थापन महाशाखाका प्रमुख विनोदबहादुर कुँवर प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिव बन्न गएपछि रिक्त उक्त स्थानमा निरौला पुगेका छन्। माओवादी सत्ताका अन्य तरमारा सहसचिवहरू अन्यत्र पुऱ्याइँदा निरौला भने मन्त्रालय पाउने ‘भाग्यमानी’ तरमारामा पर्न सफल भएका हुन्।
पुरै परिवार अमेरिकामा व्यवस्थापन गरिसकेका र अवकाशको मुखमा रहेका निरौलालाई भन्सार विभाग जस्तो संवेदनशील निकाय दिँदा सरकारमाथि नै प्रश्न उठेको थियो। उक्त कुरालाई केपी शर्मा ओली नेतृत्वको सरकारले ‘करेक्सन’ गरेको छ। भन्सारमा आधारित राजस्वले धानेको मुलुकमा अवकाशपछि अर्को देशमा जान तम्तयार भएर बसेका निरौला जस्ता व्यक्तिलाई विभागको नेतृत्व दिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको अघिल्लो सरकारमाथि प्रश्न उठेको थियो। अहिलेको सरकारले त्यो कुरालाई सच्याएको हो।
वीरगन्ज भन्सार कार्यालय प्रमुख, मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख ललितपुरको प्रमुख जिल्ला अधिकारी, भन्सार विभाग जस्ता निकायको नेतृत्व गरेका निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका हुन्। स्वास्थ्य मन्त्रालयमा जनसंख्या व्यवस्थापन महाशाखा खाली भएकाले उनको पनि त्यतै व्यवस्थापन हुने सम्भावना छ।
सरकारले भन्सार विभागका महानिर्देशक निरौलासहित झन्डै ५ दर्जन सहसचिवको सरूवा गरेको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीको कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको हो। निरौलाका उपमहानिर्देशक रामकुमार महतो पनि सरुवा भएर लोकसेवा आयोग पुगेका छन्।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय हेर्ने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (अतिरिक्त) समूहमा सरुवा भएको छ । राजस्व अनुसन्धान विभागको नेतृत्व गरेर कलकत्ताको महावाणिज्यदूत बन्न परराष्ट्र मन्त्रालय पुगेका नवराज ढुंगानालाई झिकेर त्यहाँबाट सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय पुऱ्याइएको छ । उनीसँगै परराष्ट्र मन्त्रालय गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा फिर्ता पठाइएका छन्। कलकत्ताको महावाणिज्यदूतबाट हालै फर्किएका ईश्वरराज पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश पुगेका छन् । लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले भने राष्ट्रपति कार्यालय आएका हुन् ।
महावाणिज्यदूतका लागि गृहबाट झक्कप्रसाद आचार्य र भरत खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट लक्ष्मीप्रसाद निरौला र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक परराष्ट्र मन्त्रालय लगिएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई राष्ट्रिय सूचना आयोग सरुवा भएका छन्। पर्यटन विभागको महानिर्देशक रुद्रप्रसाद पण्डित राष्ट्रिय योजना आयोगका सरुवा भएका हुन्। हुलाक सेवा विभागका महानिर्देशक ज्ञानहरि घिमिरे महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय पुगेका छन्। महिला मन्त्रालयका सहसचिवद्वय चन्द्रकला पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र पुष्कर न्यौपाने कोशीको प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्यबाट विनोदबहादुर कुँवर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सुमन दाहाल, राष्ट्रिय योजना आयोगबाट यमलाल भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की सहसचिव कृष्णकुमारी श्रेष्ठ पुगेका छन् । यीनै मध्येबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्नेछन्।
अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगका महेश भट्टराई, बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मदन दाहाल, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीकी यमुना प्रधान, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला सरुवा भएका छन्।
अर्थबाट सहसचिवहरु नरेन्द्रकुमार राना, नारायणप्रसाद सापकोटा, टोकराज पाण्डे बाहिरिएका छन्। राना राष्ट्रिय योजना आयोग, सापकोटा निर्वाचन आयोग र पाण्डे गृह मन्त्रालय पुगेका हुन्।भ्रष्टाचार मुद्दामा निलम्बित अर्थका सहसचिवद्वय रितेशकुमार शाक्यलाई र टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। निर्वाचन आयोगका सहसचिव रमेश ढकाल पनि गृह मन्त्रालयमा पुगेका छन् ।
निर्वाचन आयोगका सहसचिव रघुराम विष्ट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शिवराम पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका हुन् । गृह मन्त्रालयका भूपेन्द्र थापा लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सूर्यबहादुर खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन् ।
कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भएका छन्।
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय प्रमुख रामकृष्ण लामिछाने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेका छन् । रेग्मी पर्यटन विभागको महानिर्देशक बन्ने सम्भावना छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हेमराज तामााङ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव शंकर नेपाल कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।
प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रकाश दाहालले मन्त्रालयमै जिम्मेवारी पाएका छन् । ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालय पुगेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालयका कृष्णप्रसाद लम्साल गृह मन्त्रालयमा सरुवा पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग सरुवा भएका हुन्। गण्डकीको प्रदेश लोकसेवा आयोगका ऋषिराम तिवारी र रक्षाका लीलाप्रसाद शर्मा गृह मन्त्रालय आएका छन्। बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोग र सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोग पुगेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दीपकराज नेपाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पुगेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्जुन भण्डारीलाई राष्ट्रय योजना र पुष्पराज शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।
क्याटेगोरी : समाचारट्याग : #अमेरिका, #ढुण्डीप्रसाद निरौला, #तरमारा सहसचिवहरू, #भन्सार विभाग, #माओवादी सत्ताका तरमारा सहसचिवहरू
तपाईको प्रतिक्रिया दिनुहोस