माओवादी सत्ताका तरमारा सहसचिवहरू तितरवितर


काठमाडौं । माओवादी सत्तामा हुँदा लगातार मालदार अड्डामा बसेर रजगज गरिरहेका सहसचिवहरू उक्त पार्टी सरकारबाट बाहिरिएसँगै तितरवितर बनेका छन्। भन्सार, राजस्व, पर्यटन, महावाणिज्य दूतावास, सम्पत्ति शुद्धीकरण जस्ता महत्त्वपूर्ण ठाउँमा बसेर रजाइँ गरिरहेका माओवादी सत्ताका तरमारा सहसचिवहरू पछिल्लो समय तितरवितर बनेका हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वको सरकार हटेर केपी शर्मा ओली सत्तामा उक्लिन वित्तिकै माओवादी सत्ताका तरमारा सहसचिवहरूको हरिविजोग भएको छ। कतिपयले त मुखैमा आइसकेको महावाणिज्यदूत समेत गुमाउनु परेको छ। माओवादी सत्तामा हुँदा हालिमुहाली गरिरहेका सहसचिवहरू अहिले प्रधानमन्त्री ओलीको परेका हुन्।

मन्त्रिपरिषद्को बैठकले झन्डै पाँच दर्जन सचिव सरूवा गर्दा माओवादी सत्तामा तरमार्ने केही सहसचिवहरू भने जोगिएका छन्। उनीहरू अझैं महत्त्वपूर्ण जिम्मेवारीमै रहन सफल भएका छन्।

माओवादी सत्ताबाट सबैभन्दा बढी लाभ लिने चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा पुगेका छन्। उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय हेर्ने गरी तोकिएको छ। गृह र अर्थ मन्त्रालयका महत्त्वपूर्ण महाशाखा, भन्सार, पर्यटन, राजस्व अनुसन्धान जस्ता महत्त्वपूर्ण विभागको नेतृत्व गरेर विवादमा तानिएका पिछडिएको क्षेत्रबाट सहसचिव बनेका बुढा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय पुगेका हुन्।

राजस्व अनुसन्धान विभागबाट कोलकत्ताको महावाणिज्यदूत खान परराष्ट्र मन्त्रालय पुगेका माओवादी सत्ताका तरमारा सहसचिव नवराज ढुंगानाको ‘हिस्स बुढी खिस्स दाँत’ भने जस्तो अवस्था भएको छ। मुखैमा आएको महावाणिज्यदूत गुमाएर उनी सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयतिर लखेटिएका छन्। वीरगञ्ज भन्सार, तत्कालीन प्रधानमन्त्री दाहालको निजी सचिव, राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै कलकत्ताको महावाणिज्यदूत बन्न परराष्ट्र पुगेका ढुंगाना उछिच्टिएर सुदूरपश्चिममा पुगेका हुन्।

ललितपुरको प्रमुख जिल्ला अधिकारी हुँदा बालकुमारी घटनामा जिम्मेवारी खोसिएका रुद्रप्रसाद पण्डित त्यसलगत्तै गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बन्न सफल भएका थिए। गृह मन्त्रालय अर्को पार्टीको भागमा पर्नेवित्तिकै उनी माओवादीले नेतृत्व गरेको मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागको महानिर्देशक भए।

माओवादी कै विभागीय मन्त्री हुँदा पण्डित सहकारी विभागको रजिष्ट्रार समेत रहेका थिए। उनी अहिले राष्ट्रिय योजना आयोग सरुवा भएका छन्। माओवादी सत्ताका तरमारा सहसचिव पण्डित प्रदेश जानबाट भने जोगिएका छन्।

माओवादी सत्तामा विभिन्न मन्त्रीकाे निजी सचिव र पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा निजी सचिव रहेका अर्जुन भण्डारी पनि राष्ट्रिय योजना आयोगमै पुगेका छन्। महावाणिज्यदूत बनेर अमेरिका जाने चलखेलमा रहेका माओवादी सत्ताका तरमारा सहसचिव भण्डारीको सत्ता ढल्नेवित्तिकै अमेरिका जाने सपना ‘हुरी’ले उडाइदिएको छ ।  ओली नेतृत्वको सरकार आएपछि उनी योजना आयोग पुगेका हुन्।

श्रीमती र छोरा अमेरिकामा ‘सेटल’ गराएर नेपालमा जागिर खाँदै आएका भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला पनि फ्यालिएका छन्। विवादित निरौलालाई ओली सरकारले भन्सारबाट झिकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतिर पुऱ्याइदिएको छ। वीरगञ्ज भन्सार, ललितपुरको प्रमुख जिल्ला अधिकारी, नाथमको प्रमुख, मध्यमस्तरीय करदाता कार्यालय प्रमुख र भन्सार विभागको महानिर्देशक बनेका माओवादी सत्ताका तरमारा सहसचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या बढाउन पुगेका छन्।

माओवादी सत्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदा बदनाम र विवादित सहसचिव पुष्पराज शाही बल्ल ठेगान लागेका छन्। उनी कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख हुँदा विवादमा तानिएका र सम्पत्ति शुद्धीकरणको नेतृत्वमा हुँदा ‘गन्हाएका’ जाजरकोटे शाही पिछडिएको क्षेत्रबाट नायब सुब्बा, शाखा अधिकृत र उपसचिव बनेकाले सरकारले त्यहीँ क्षेत्रमा खटाएर उचित निर्णय गरेको छ।

कोलकत्ताको महावाणिज्यदूतबाट भर्खरै फर्किएका माओवादी सत्ताका तरमारा सहसचिव ईश्वरराज पौडेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरिएको छ।माओवादी निकट भएर सहसचिव पौडेलले काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत, अध्यागमन विभागको महानिर्देशक हुँदै कोलकत्ताको महावाणिज्यदूत बनेका उनी प्रदेशमा पुगेका हुन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक माओवादी सत्ताका तरमारा सहसचिव कमलप्रसाद भट्टराई राष्ट्रिय सूचना आयोग पुगेका छन् । माओवादी सत्तामा हुँदा हङकङको महावाणिज्यदूत, भन्सार विभागको महानिर्देशक, पर्यटन, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा जस्ता मालदार ठाउँमा बसेका भट्टराई राष्ट्रिय सूचना आयोग पुगेका हुन्।

माओवादी सत्तालाई रिझाएर चितवन, गोरखा जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी बनेका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन्। नवराज ढुंगानासँगै महावाणिज्यदूत बन्न परराष्ट्र मन्त्रालय पुगेका उनलाई ओली सरकारले सतर्कता केन्द्रमा पुऱ्याइदिएको हो। भरतपुर महानगरपालिका मेयरको ‘मतपत्र च्यात्ने’ काण्डका सिडिओ भट्ट पनि मुखमै आइसकेको महावाणिज्यदूत गुमाएर सतर्कता केन्द्र पुगेका छन्।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले भरतपुर महानगरपालिकाबाट तानेर अर्थ मन्त्रालयको महत्त्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएका नरेन्द्रकुमार रानामगर पनि सरुवा भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रीकृष्ण नेपाललाई उक्त महाशाखा प्रमुख बनाएर अतिरिक्तमा पुऱ्याइदिएका थिए। उनको लोक सेवा आयोगमा सरुवा गरिएको हो।

माओवादी निकट भनेर परिचित आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी कर्णालीको प्रदेश प्रमुखको कार्यालय सरुवा भएका छन्। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले वातावरण विभागको महानिर्देशकबाट तानेर आन्तरिक राजस्व विभागका महानिर्देशक बनाएका तिवारी कर्णाली प्रदेशतिर पुगेका हुन्। माओवादी सत्ताका तरमारा सहसचिव रामप्रसाद आचार्य भने अर्थमै बस्न सफल भएका छन्।

माओवादी मन्त्रीहरू निकट भएर काम गरेका हेमराज तामाङ पनि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। माओवादी सत्ताका तरमारा सहसचिव झलकराम अधिकारीले यसअघि नै सुदूरपश्चिम प्रदेशतिर बाटो तताइसकेका छन्। तारानाथ अधिकारी इकोनोमिक मिनिस्टर बनेर नयाँ दिल्लीतिरै मस्ती मारिरहेका छन्। नारायणप्रसाद सापकोटा पनि महालेखा नियन्त्रक कार्यालयबाट निर्वाचन आयोग पुगेका हुन्।

माओवादी सत्ताका तरमारा सहसचिवहरु रुद्रसिंह तामाङ र रितेशकुमार शाक्य भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा रहेका छन्। वीरेन्द्रदेव भारतीले हालै सफाइ पाएका छन्। माओवादी सत्ताका तरमारा सहसचिवहरु नारायणप्रसाद भट्टराई, बाबुराम भण्डारी, गोगनबहादुर हमाल, जितेन्द्र बस्नेत लगायत भने यथास्थानमा बस्न सफल भएका हुन्।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अर्जुन भण्डारी, #ईश्वराज पौडेल, #कमलप्रसाद भट्टराई सहसचिव, #चक्रबहादुर बुढा, #ढुण्डीप्रसाद निरौला, #तरमारा सहसचिवहरू, #नवराज ढुंगाना सहसचिव, #नारायणप्रसाद भट्ट, #पुष्पराज शाही, #माओवादी सत्ताका तरमारा सहसचिवहरू, #रुद्रप्रसाद पण्डित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ