अर्थमा देखापरेका नयाँ तरमारा सहसचिव


काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण विभागले नयाँ महानिर्देशक पाएको छ । अर्थ अन्तर्गतको सबैभन्दा ठूलो आन्तरिक राजस्व विभागका महानिर्देशकमा रामप्रसाद आचार्य गएका छन्। अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहेका आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको हो । उनी माओवादी सत्तामा पनि उत्तिकै लाभ लिने सहसचिवमा पर्छन्।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले अर्थमा भित्र्याएर बजेट लेख्ने टिममा राखेका आचार्य प्रशासन महाशाखा हुँदै आन्तरिक राजस्व विभागको महानिर्देशक बन्न सफल भएका छन्। माओवादी निकट भएर मोरङ र काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेका आचार्य राजस्व अनुसन्धान विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्।

आचार्य गृहको कर्मचारी प्रशासन, आन्तरिक व्यवस्थापन जस्ता महत्त्वपूर्ण महाशाखा प्रमुख भइसकेका व्यक्ति हुन्। माओवादीबाट एमालेमा अर्थ मन्त्रालयको चाबी पुग्नेवित्तिकै आचार्यले आन्तरिक राजस्व विभागको महानिर्देशक पड्काउन सफल भएका छन्।

अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदै ग्वान्जाओ महावाणिज्यदूत बनेका हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन्। स्वास्थ्यमा पुगेका विवादित सहसचिव ढुण्डीप्रसाद निरौलाको उत्तराधिकारी बनेर पुडासैनी भन्सार विभागको नेतृत्व गर्न पुगेका हुन्। बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको सचिवबाट अर्थ मन्त्रालय हुँदै उनले भन्सारको नेतृत्व लिन सफल भएका छन्।

हरिशरणका दाइ रामशरण पनि अर्थको राजस्व सचिव बनेर अवकाश पाएका हुन्। सचिवमा बढुवा भएपछि सीधै राजस्व सचिव हुन सफल भएका पुडासैनी दाजुभाइले अर्थमा बसेर पालैपालो तरमारेका  हुन्। आचार्य र पुडासैनी अर्थमा नयाँ तरमारा सहसचिवको रूपमा देखापरेका छन्।

बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाल र अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्माले पाइसकेका छन्। शर्मा अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा गएपछि खाली भएको राजस्व व्यवस्थापन महाशाखामा उत्तरकुमार खत्री पुगेका छन्। उत्तरको ठाउँ योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारी राष्ट्रिय योजना आयोगबाट आएका महेश भट्टराईले पाएका हुन्। प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी श्रम मन्त्रालयबाट आएका मदन दाहालले पाएका छन्।अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख थानप्रसाद पंगेनी बनेका छन्। अमृत लम्साललाई पनि अर्थ मन्त्रालय अन्तर्गत नै व्यवस्थापन गरिएको छ।

रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक रमेश अर्याल र मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख करको जिम्मेवारी पार्वती शर्माले पाएकी छिन्। आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी भने  गोपीकृष्ण कोइराला र कविता रेग्मीले पाएका हुन्।

विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक दीपक लामिछाने भएका छन्। भन्सार विभागको उपमहानिर्देशक भने यमुना प्रधानलाई भन्सार र जनकराज शर्मा भएका हुन्। महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी डिल्लीराम पन्थीले पाएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #रामप्रसाद आचार्य, #हरिशरण पुडासैनी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ