जनताका घरमा शुद्ध र सफा पानी पठाउन मन्त्री यादवको निर्देशन


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले जनताका घरमा शुद्ध र सफा पानी पठाउन निर्देशन दिएका छन्। आइतबार महाँकालचौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरी अवलोकन गर्नुहुँदै मन्त्री यादवले काठमाडौँको विभिन्न स्थानमा पानीको चुहावट भइरहेको बताउँदै त्यसलाई नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्न निर्देशन दिएका हुन्।

“विभिन्न ठाउँमा खाने पानीका पाइपहरू फुटेर पानी लिकेज भइरहेको जनगुनासो छ, यसरी खेर जाँदा आम उपभोक्ताले पानीको प्रयोग गर्न सकेका छैनन्,” उनले भने, “चुहावट नियन्त्रण गरी जनतालाई सुद्ध र सफा पानी वितरण गरौँ, काठमाडौँका जनताले बाह्रै महिना पानी खान पाउन पर्छ ।”

यसै गरी मन्त्री यादवले खाने पानीका पाइपहरू फुट्दा त्यसमा दिसा मिसिँदा फोहर पानी जनताका घरमा जाने गएको कारण हैजा जस्ता रोगहरू फैलिरहेको हुँदा त्यसतर्फ सचेत भएर फोहर पानी नियन्त्रणमा लाग्न कर्मचारीहरूलाई निर्देशन दिए ।

जनताले शुद्ध खानेपानी खान पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुँदै मन्त्री यादवले अघि थपे, “हामीभन्दा ठूला जनता हुन्, हामी जनताका सेवक हौँ, जनतालाई शुद्ध पानी वितरण गर्नु हाम्रो दायित्व हो ।” यसै गरी मन्त्री यादवले आफू कुराभन्दा पनि कामलाई प्राथमिकता दिने व्यक्ति भएको बताउँदै समय बिताउनु भन्दा पनि काम गरेर देखाउन तर्फ लाग्न मन्त्रालयका कर्मचारीहरूसँग आग्रह गरे ।

खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताउनुहुँदै मन्त्री यादवले भने, “शुद्ध खानेपानी वितरणका लागि चाहिने बजेटको जोहो गर्ने जिम्मा म लिन्छु । पानीको चुहावट रोक्नुस् । काठमाडौँका जनतालाई वर्षभरि शुद्ध पानी खुवाउनुस् ।”

त्यस्तै मन्त्री यादवले महाँकालचौरमा निर्माणाधीन नयाँ पोखरीहरूको समेत निरीक्षण गरेका  थियो । निरीक्षणका क्रममा उहाँले मन्त्रालयका सचिवलगायतका कर्मचारीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए । मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालयद्वारा विस्तार भइरहेको मेलम्चीको पानी वितरण गर्न थप पाइप लाइन लेइङ र गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको साइट समेत निरीक्षण गरेका थियो । सो अवसरमा मन्त्रालयकी सचिव प्रमीला देवी शाक्य बज्राचार्य, सहसचिव मिना श्रेष्ठलगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ