आरक्षणबाट पहिलोपटक सहसचिव बन्नेहरू


काठमाडौं । नेपालमा आरक्षण (कोटा)प्रणाली लागू भएको २०६५ सालदेखि हो। नेपालको अन्तरिम संविधान, २०६३ लागू भएपछि २०६५ सालमा निजामती सेवा ऐन र नियमावलीमा संशोधन गरेर आरक्षण दिने व्यवस्था राखिएको थियो। त्यसपछि आरक्षण प्रणालीले निरन्तरता पाएको छ।

स्वास्थ्य लाइभले आरक्षण व्यवस्थाको दुरुपयोग र यसलाई व्यवस्थित र समयानुकूल बनाउनका लागि आरक्षण प्रणालीको अवस्था देखाउने प्रयास गरिरहेको छ। यसमा वृहत्त बहस र छलफल हुन् जरूरी देखिन्छ। आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछाडि परेका वर्ग, समुदायलाई एकपटकका लागि आरक्षण दिनु स्वभाविक कै मान्नुपर्छ। त्यो पनि सरकारी सेवा प्रवेशको चरणमा सेवामा प्रवेश गरेर सहसचिव हुने बेलामा आरक्षणबाट छिरेको व्यक्ति एउटा तहमा पुगिसकेको हुन्छ। त्यसलै ‘इन्ट्री प्वाइन्ट’मा एक व्यक्तिलाई एकपटकका लागि आरक्षण दिँदा त्यसलाई सकारात्मक विभेद नै मानिन्छ। तर, एउटै व्यक्ति वा परिवारका सदस्यले पटकपटक आरक्षणको लाभ लिँदा त्यसले नकारात्मक विभेद हुन थालेको पाइन्छ। आरक्षणलाई व्यवस्थित र समयानुकूल बनाउन आवश्यक भइसकेको छ।

नेपालमा आरक्षण व्यवस्था लागू भएपछि आदिवासी/जनजाति कोटाबाट सहसचिव बन्ने पहिलो व्यक्ति गणेश राई हुन्। २०६५ साल चैतमा सहसचिव बनेका राई आदिवासी/जनजातिबाट आरक्षणको लाभ लिने पहिलो व्यक्तिमा पर्छन्। काठमाडौं महानगरपालिकाको प्रमुख तथा कार्यकारी अधिकृत हुँदा राई निकै चर्चामा आएका थिए। उनी क्षमतामा अब्बल मानिन्छन्। उनीपछि हाल लोकसेवा आयोगका सदस्य रहेका वीरबहादुर राई आदिवासी/जनजाति कोटाबाट सहसचिव बन्ने दोस्रो व्यक्ति हुन्।

आरक्षण व्यवस्था लागू हुँदा सहसचिव बन्ने योग्यता  पुगेका व्यक्ति कमै भएकाले गणेशले कोटा प्रयोग गरेर सहसचिव बन्नु स्वभाविक कै मान्नुपर्छ। तर, उनी आर्थिक, सामाजिक र शैक्षिक रूपमा भने पछाडि परेका व्यक्ति थिएनन्। गणेशका सहोदर दाइ कुमार राई त्यस अगाडि नै राष्ट्रिय सभा सदस्य भइसकेका थिए। उनी पनि विदेश पढेर आएका आर्थिक रूपमा सम्पन्नै परिवारमा हुर्किएका व्यक्ति हुन्। आरक्षण पाउनका लागि त्यो बेला उचित मापदण्ड थिएन। जुन अहिले पनि छैन। त्यो बेला त्यो मापदण्ड ल्याउनुको पनि कुनै अर्थ थिएन। अहिले भने उचित मापदण्ड ल्याउन जरूरी भइसकेको देखिन्छ।

महिलाबाट पहिलोपटक सहसचिव बन्ने व्यक्ति यमकुमारी खतिवडा हुन्। उनी पनि राईसँगै एकैदिन २०६५ साल चैतमै महिला कोटाबाट प्रशासन सेवाको सहसचिव बनेकी व्यक्ति हुन्। यमकुमारीका श्रीमान धर्मकान्त बाँस्कोटा प्रतिष्ठित चिकित्सक हुन्। धर्मकान्तले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको उपकुलपति जस्ता महत्त्वपूर्ण पदमा बसेर काम गरिसकेका छन्। त्यसैबेला कहलिएका चिकित्सककी श्रीमती त्यो पनि उपसचिव भइसकेको व्यक्ति आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछाडि परेको भन्नै मिल्दैन थियो। तर, महिलाप्रति सहानुभूति र सहसचिव हुन न्यूनतम योग्यता चाहिने भएकोले त्यो बेला यमकुमारी आरक्षणबाट सहसचिव बन्दा स्वभाविक नै मान्नुपर्छ। अब भने आरक्षण सुविधा लिनका लागि महिला पनि आर्थिक, सामाजिक र शैक्षिक हिसाबले पछाडि परेको हुनुपर्ने र त्यसका लागि उचित मापदण्ड बनाउन जरुरी छ।

२०५१ सालमा व्यवस्थापिका संसद सेवाबाट २०५१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी यमकुमारी ४ वर्षमै उपसचिव भइन्। उपसचिव भएपछि उनी संसद् सेवाबाट प्रशासन सेवामा सरिन। यसमा पनि यामकुमारीले महिला हुँदाको लाभ लिएको पाइन्छ।  यमकुमारीपछि महिला कोटा प्रयोग गर्ने देवकुमारी गुरागाईं हुन्। स्वास्थ्य सचिवबाटै केही समय अगाडि अवकाश पाएकी देवकुमारी उपसचिव र सहसचिव दुुबै महिला कोटाबाट बनेेकी हुन्।

मधेशी कोटाबाट पहिलोपटक सहसचिव बन्ने व्यक्ति वीरेन्द्रकुमार यादव हुन्। २०६६ असोजमा सहसचिव बनेका यादव हालसम्म सहसचिव नै छन्। उनीपछि मधेशी कोटाबाट सहसचिव भएर कृष्णहरि पुष्कर कर्णले सचिवको आधा कार्यकाल भ्याइसक्दा पनि यादव सचिव हुने सुरसार छैन। २०३१ सालमा जन्मिएका यादव ५०  वर्षका भए। मधेशी कोटाबाट सहसचिव भएको पन्ध्र वर्ष हुँदा पनि उनी सचिव नबनेर सहसचिवमै रमाइरहेको पाइन्छ। यादवभन्दा पछाडिका दुई दर्जन बढी सहसचिव सचिव बनिसकेका छन्। आधाभन्दा बढि त घर नै गोइसके।

दलित कोटाबाट पहिलो सहसचिव बन्ने व्यक्ति मानबहादुर बिके हुन्। २०६७ फागुनमा दलित कोटाबाट सहसचिव बनेका बिके केही समय सचिव पनि भए। उनी क्षमतावान व्यक्तिमा पर्छन्। दलित कोटाबाट पहिलोपटक सहसचिव बनेका बिकेले विद्यावारिधि समेत गरेका छन्।

अपांग कोटाबाट पहिलो सहसचिव बन्ने व्यक्ति हुन् दिपक काफ्ले। हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको भूमिकामा रहेका काफ्ले २०६९ साल चैतमा अपांग कोटाबाट प्रशासन सेवाको सहसचिव बनेका हुन्।

माओवादी सत्ताका तरमारा सहसचिव उपमाले परिचित र चर्चित चक्रबहादुर बुढा पिछडिएको क्षेत्र (पि. छे.)बाट आरक्षण सुविधा लिने पहिलो सहसचिव हुन्। २०७१ फागुनमा उनी पिछडिएको क्षेत्रको कोटाबाट सहसचिवमा नाम निकाल्न सफल भएका थिए। बुढाभन्दा अगाडि पिछडिएको क्षेत्रबाट सहसचिव बन्ने अर्को व्यक्ति छैन। सहसचिवमा पिछडिएको क्षेत्रको कोटाबाट आएपनि बुढा जागिरमा भने सधैं अगाडिको क्षेत्रमा बसेर तरमार्न सफल भए।

बुढा अर्थ र गृह मन्त्रालयमा जमेर बसेका सहसचिव हुन्। राजस्व  अनुसन्धान विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काज खटाइएका उनी भन्सार र पर्यटन विभागका महानिर्देशक भइसकेका सहसचिव हुन्। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा, गृहको प्रशासन, सुरक्षा जस्ता महाशाखा, कास्की र मकवानपुर जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका चक्रबहादुर बुढाको नाम पिछडिएको क्षेत्रबाट पहिलो सहसचिवमा दर्ज भएको छ।

आदिवासी/जनजाति कोटाबाट पहिलो सहसचिव बनेका गणेश राई उमेर हदका कारण सचिव हुन नसकेपनि पहिलो महिला कोटाकी यमकुमारी खतिवडा र दलित कोटामा मानबहादुर बिके सचिव बने। यमकुमारीले पुरै पाँच वर्ष सचिव चलाइन् भने मानबहादुर सचिव बनेको छोटो समयमै अवकाश भए। मधेशी कोटाबाट पहिलो सहसचिव बनेका वीरेन्द्रकुमार यादव पूरा पाँच वर्ष सचिव चलाउनेमा पर्छन्। अपांग कोटाबाट सहसचिव बनेका दिपक काफ्ले ५ वर्ष नै सचिव बन्न पाउनेछन्। पिछडिएको क्षेत्रबाट सहसचिव बनेका बुढाले पनि पाँच वर्षै सचिव खाने सम्भावना छ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #आदिवासी/जनजाति कोटाबाट पहिलो सहसचिव गणेश राई, #आरक्षण, #कृष्णहरि पुष्कर कर्ण, #गणेश राई, #चक्रबहादुर बुढा, #दलित कोटाबाट पहिलो सहसचिव मानबहादुर बिके, #देवकुमारी गुरागाईं, #मधेशी कोटाबाट पहिलो सहसचिव वीरेन्द्रकुमार यादव, #महिला कोटाबाट पहिलो सहसचिव यमकुमारी खतिवडा, #मानबहादुर बिके, #यमकुमारी खतिवडा, #वीरेन्द्रकुमार यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ