राजस्व अनुसन्धानमा घिमिरे र सम्पत्ति शुद्धीकरणमा दाहाललाई महानिर्देशकको जिम्मेवारी
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक तोकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे बनेका छन्। राजस्वमा राम्रो दख्खल राख्ने घिमिरे भोजपुरका हुन्। उनले अनुभव र विज्ञता अनुसारको जिम्मेवारी पाएकाे चर्चा छ। राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरुवा भएर आएका घिमिरेले उक्त जिम्मेवारी पाएका छन्।
राजस्व अनुसन्धान विभागको महानिर्देशक बन्न दौडधुप गरिरहेका सुमन दाहालले भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी पाएका छन्। झापाका दाहाल भन्सार विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भए हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका सहसचिव दाहाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक कमलप्रसाद भट्टराई भने राष्ट्रिय सूचना आयोगमा पुगेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #चण्डीप्रसाद घिमिरे, #सुमन दाहाल
तपाईको प्रतिक्रिया दिनुहोस