थामे बाढी पीडितका लागि काठमाडौं महानगरपालिकाले २० लाख राहत दिने


काठमाडौं। थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुन:स्थापनाका लागि काठमाडौँ महानगरपालिकाले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ। महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

गएको साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति भएको विवरण सार्वजनिक भएको छ। ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा समेत क्षति पुर्‍याएको थियो। फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ। यस्तै पद मार्ग भत्किएर थामे र टोकटोकेको आवागमन अवरुद्ध भएको थियो। यस्तै जोरसल्ले र फाक्दिङ्लगायत बस्तीमा जमिन कटान गरेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भएपछि ग्लेसियर पग्लिएर र पर्माफ्रोस्ट पग्लिएर हिमताल विस्फोट भएको बताएको छ । यसको ३९ वर्ष अघि अर्थात् २०४२ साल साउन २० गते थामेको अर्को भाग ४४०० मिटर उचाइमा रहेको दिग च्छो हिमताल फुटेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ