गृह मन्त्रालयमा थुप्रिए विवादित सहसचिवहरू

गृह मन्त्रालय 'यातायात क्लब' बन्दै, कसरी चुके गृहमन्त्री रमेश लेखक?


काठमाडौं। गृह मन्त्रालय पछिल्लो समय विवादित सहसचिवहरू थुप्रिने थलो बनेको छ। खासगरी यातायातको बेथिति र अनियमिततासँग जोडिएका सहसचिवहरू गृह मन्त्रालयमा थुप्रिन थालेका छन्। यातायात क्षेत्रका चर्चित र विवादित ‘खेलाडी’ डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराईदेखि उपसचिव हुँदा यातायातमा राइँदाइँ गरेका अर्का विवादित सहसचिव बसन्त अधिकारीसम्म गृह मन्त्रालयको छत्रछायाँमा पुगेका हुन्।

शालिन र भद्र स्वभावका रमेश लेखक गृहमन्त्री भएका बेला यस्ता विवादित सहसचिवको गृह मन्त्रालयमा हालीमुहाली चल्न थालेपछि उनीमाथि समेत प्रश्न उठ्न थालेको छ। गृह मन्त्रालयमा विवादित सहसचिव भित्र्याउने रवि लामिछानेको अभियानलाई रमेश लेखकले पनि निरन्तरता दिएको आरोप लाग्न थालेको हो। गृहमन्त्री लेखक अनुभवी भएपनि उनले गलत पात्र बोकेर हिँडन् थालेको गृह कै उच्च अधिकारीहरू सुनाउँछन्।

नक्कली लाइसेन्स, इम्बोस्ड नम्बर प्लेट जस्ता अनियमितता छानबिन दायरामा रहेका विवादित सहसचिवहरू एकपछि अर्को गर्दै गृह मन्त्रालयमा थुप्रिन थालेका छन्। यातायात व्यवस्था विभागको महानिर्देशक भएर विवादमा तानिएका सहसचिवहरू डा. टोकराज पाण्डे, गोगनबहादुर हमाल, नारायणप्रसाद भट्टराई अहिले गृह मन्त्रालयमा हर्ताकर्ता बनेका छन्। यसले गर्दा गृह मन्त्रालय ‘यातायात क्लब’ बन्दै गएको गृह मन्त्रालय कै उच्च अधिकारीहरूको टिप्पणी आउन थालेको छ। यसमा गृहमन्त्री लेखक मौन बस्नु रहस्यको विषय हो।

रवि लामिछाने गृहमन्त्री भएपछि गोगनबहादुर हमालले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी पाएका हुन्। यातायातदेखि एयरपोर्ट काण्डसम्ममा विवादमा तानिएका हमाललाई रविले महत्त्वपूर्ण जिम्मेवारी दिएका थिए। उनलाई गृहमन्त्री रमेश लेखकले पनि निरन्तरता दिएका छन्। हमाल अहिले महत्त्वपूर्ण जिल्लाको सिडिओ ताकेर बसिरहेको गृह मन्त्रालयभित्र चर्चा छ। रविले बोकेका गलत मान्छे लेखेकले पनि किन बोकिरहेका छन् यसले उनीमाथि गम्भीर प्रश्न खडा गरेको हो।

रवि कै पालामा अर्थ मन्त्रालयबाट गृह मन्त्रालय छिर्न खोजेका डा. टोकराज पाण्डे लेखक आएपछि गृहमा ‘जम्प’ गरेका छन्। नक्कली लाइसेन्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले छानबिन थालेपछि त्यसलाई प्रभावित बनाउन गृह छिर्न खोजेका पाण्डेलाई लेखक आएपछि साइत जुरेको छ। उनी अहिले अख्तियारको छानबिनमा समेत रहेका छन्। त्यस्ता विवादित पात्रलाई गृह भित्र्याएर महत्त्वपूर्ण जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउने तयारी भइरहेको छ । उक्त कदमले गृहमन्त्री लेखक पनि विवादमा तानिने निश्चित देखिन्छ।

नारायणकाजी श्रेष्ठ कै पालामा यातायात व्यवस्था विभागको महानिर्देशक हुँदै गृह मन्त्रालय छिरेका नारायणप्रसाद भट्टराई अहिले गृहकै महत्त्वपूर्ण मानिने सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका छन्। उनी यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा गाडीले हानेर मान्छे मार्नेलाई हिरासतमै नक्कली लाइसेन्स दिएको ‘केस’मा सिआईबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत चलाएको छ। भट्टराई जति विवादमा आएपनि नारायणकाजीदेखि रमेश लेखकसम्मलाई रिझाएर राखेका छन्।

उपसचिव हुँदा यातायातमा राज गरेका बसन्त अधिकारी पनि गृह मन्त्रालय छिरेका छन्। काठमाडौं महानगरपालिकामा करारमा स्वास्थ्यको कर्मचारी भर्ति गर्दा ‘किर्ते’ गरेको आरोप लागेका उनी मधेशी आयोग पुगेका थिए। रवि लामिछाने गृहमन्त्री हुनेवित्तिकै गृह छिरेका सहसचिव अधिकारी राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा ‘सेटल’ भएका छन्। रविको पालामा छिरेका विवादित व्यक्ति लेखकका पालामा समेत हलचल नहुनुले उनको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको हो।

लेखकभन्दा अगाडिका गृहमन्त्रीले छिराएका विवादित सहसचिव हलचल नहुनु र थप विवादित सहसचिव गृहमा भित्रिनुले गृहमन्त्री लेखक चुकेको टिप्पणी हुन थालेको छ। गृहमा भित्रिएका विवादित सहसचिवलाई उनले तत्काल ‘फिल्टर’ गर्नुपर्ने देखिन्छ। कलंकको टीका लगाउनबाट जोगिन यस्ता विवादित सहसचिवको पहिचान गरेर सकेसम्म अर्को मन्त्रालय पठाउने नत्र महत्त्वपूर्ण जिम्मेवारी नदिने कुरामा गृहमन्त्री लेखकले विशेष ध्यान पुऱ्याउन जरूरी छ। रविले बोकेका विवादित सहसचिवलाई नै च्यापेर हिँडे गृहमन्त्री लेखकको जहाज डुब्ने उच्च खतरा छ। गृह मन्त्रालयलाई रवि लामिछानेको छाँयाबाट मुक्त गराउन यी विवादित सहसचिव हटाउनु पर्ने कांग्रेस वृत्तमा समेत आवाज उठ्न थालिसकेको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #गोगनबहादुर हमाल, #डा. टोकराज पाण्डे, #नक्कली लाइसेन्स, #नारायणप्रसाद भट्टराई, #बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ