आरक्षण बिनै सहसचिव बन्न सफल डेढ दर्जन महिलाहरू


काठमाडौं। महिलाहरू आरक्षणबाट मात्र सरकारी सेवाको माथिल्लो पदमा पुग्छन् भन्ने भाष्य चिर्दै डेढ दर्जन बढी सहसचिवहरू आन्तरिक प्रतिस्पर्धा (आप्र) र खुला प्रतिस्पर्धाबाट आउन सफल भएका छन्। स्वास्थ्य लाइभको अध्ययनमा आरक्षण बिनै डेढ दर्जन बढी महिलाहरू पुरूषसँग आप्र र खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएको पाइएको छ। ती महिलाहरू आरक्षण बिनै प्रतिस्पर्धामा खरो रुपमा उत्रिएर सहसचिव बन्न सफल भएका हुन्।

आरक्षणको दुरूपयोग भइरहेको र महिला भनेकै आरक्षणबाट माथिल्लो तहमा जान्छन् भन्ने मान्यतालाई चुनौती दिँदै डेढ दर्जन बढी महिला आप्र र खुलाबाट सहसचिव बन्न सफल भएको देखिन्छ। आरक्षण प्रयोग नगर्ने डेढ दर्जन बढी महिलाबाट सहसचिव भएका व्यक्तिको विवरण हेर्दा कतिपयले ‘इन्ट्री प्वाइन्ट’मा मात्र उक्त सुविधा लिएका छन् भने कतिपयले कुनै पनि पदमा आरक्षण सुविधा लिएका छैनन्। महिला आरक्षणको फर्म नै नभरी प्रतिस्पर्धाबाटै शाखा, अधिकृत, उपसचिव र सहसचिव बनेका छन्। त्यसरी आरक्षण बिनै खरो प्रतिस्पर्धामा उत्रिने सहसचिव हुन् इन्दु घिमिरे। इन्दु २०७१ साल फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी हुन्। शाखा अधिकृत र उपसचिव बन्न पनि उनले महिला कोटा प्रयोग गरेको पाइँदैन। हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सहसचिव इन्दु महिलाहरूका लागि उदाहरणीय पात्र हुन्।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाई पनि आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी महिला हुन्। गीता २०७४ बैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएकी हुन्। सहसचिवको आन्तरिक प्रतिस्पर्धामा श्यामप्रसाद भण्डारी, कुमारप्रसाद दाहाल, दीर्घराज मैनाली, राजेश्वर ज्ञवालीलगायतलाई पछाडि पार्न गीता सफल देखिन्छन्। गीताले उपसचिवमा मात्रै महिला कोटा प्रयोग गरेको पाइन्छ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरूवा भएर आएकी हुमकला पाण्डे पनि आरक्षण बिनै सहसचिव बनेकी हुन्। २०७५ बैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल हुमकला पनि एक सशक्त महिला हुन्। हुमकलाका श्रीमान् यमलाल भुसाल पनि नेपाल सरकार कै सहसचिव हुन्। यमलाल पनि राष्ट्रिय योजना आयोगबाट हालै सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ पनि आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव बन्न सफल भएकी महिला हुन् l आरक्षण सुविधा नलिई २०७७ असारमा आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव बन्न रोशनी सफल भइन्। उपसचिवमा पनि उनले आन्तरिक प्रतिस्पर्धाबाटै नाम निकालेकी थिइन्। लोकसेवा आयोगले २०७७ मा आन्तरिक प्रतिस्पर्धाबाट २२ जना सहसचिव मागेकोमा रोशनीले ११ नम्बरमा आफूलाई उभ्याउन सफल भइन्। रोशनीका श्रीमान् राजकुमार श्रेष्ठ पनि नेपाल सरकारका सचिव हुन्। उनी लोकसेवा आयोगबाट हालै सरूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

रोशनीसँगै सुनिता नेपाल पनि आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिवमा नाम निकाल्न सफल महिला हुन्। आन्तरिक प्रतिस्पर्धाबाट २२ जना सहसचिव बन्दा महिलाबाट रोशनी र सुनिता मात्रै परेका थिए। आन्तरिक प्रतिस्पर्धाबाट सहसचिवमा रोशनीले ११ नम्बरमा सिफारिस हुँदा सुनिता १४ नम्बरमा पर्न सफल भएकी थिइन्। सुनिता अहिले स्याङ्जाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकी छिन्।

नेपाल इन्जिनियरिङ सेवा मेटेरियोलोजी समूहकी प्राविधिक सहसचिव डा. अर्चना श्रेष्ठ पनि आन्तरिक प्रतिस्पर्धाबाट आएकी हुन्। २०७७ साल असारमा महिला आरक्षण बिनै पुरुषसँग प्रतिस्पर्धा गरेर सहसचिव बनेकी अर्चना अहिले जल तथा मौसम विज्ञान विभागमा उपमहानिर्देशकको भूमिकामा छिन्।मौसम पूर्वानुमान महाशाखा समेत हेर्ने अर्चना शिवप्रसाद नेपाललाई बैकल्पिक सूचीमा धकेल्दै सहसचिव बन्न सफल भएकी हुन्।

२०७७ साउनमा आरक्षण बिनै खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवाको सहसचिव बन्ने महिला हुन् लिली श्रेष्ठ। नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोली समूह, जनरल मेडिकल ल्याब टेक्नोलोजी उपसमूहको एघारौं तह (सहसचिव)मा उनी खुला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएकी हुन्। उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत छिन्।

२०७८ असोजमा आरक्षण बिनै सहसचिव बन्ने महिला हुन् बबिता मिश्र । उनी आन्तरिक प्रतिस्पर्धाबाट नेपाल संघीय संसद् सेवाको सहसचिव बनेकी हुन्। सहसचिव मिश्र संघीय संसद् सचिवालयमा कार्यरत छिन्।

यशोदा अर्यालले २०७८ मंसिरमा नेपाल आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहको एघारौं तह, प्रमुख जनस्वास्थ्य प्रशासक (सहसचिव)मा नाम निकाल्न सफल भएकी थिइन्। दिपकप्रसाद तिवारीलाई प्रतिस्पर्धामा पछि पार्दै यशोदा स्वास्थ्यतिरको सहसचिव बन्न सफल भएकी हुन्। आरक्षण बिनै आन्तरिक प्रतिस्पर्धाबाट स्वास्थ्यको सहसचिव बन्न सफल महिला यशोदा अहिले स्वास्थ्य मन्त्रालयको फजिलमा छिन्।

आरक्षणा बिनै कानुनको सहसचिव बन्ने महिला हुन् अरुणा जोशी। २०७८ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट जोशी नेपाल न्याय सेवा, कानुन समूहको सहसचिव बनेकी थिइन्। हाल उनी निर्वाचन आयोगमा कार्यरत छिन्।

२०७८ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन तर्फ एकैचोटी ४ जना महिला सहसचिव बन्न सफल भएका थिए। आरक्षण बिनै नेपाल प्रशासन सेवाको सहसचिव बन्ने ती ४ प्रभावशाली महिला हुन् पार्वती शर्मा, रेखा कँडेल, संगीता ओझा र सुशीला अर्याल। नेपाल प्रशासन सेवाको (आप्र)मा १० जना सहसचिव माग हुँदा ४ जना महिला शर्मा, कँडेल, ओझा र अर्याल खरो प्रतिस्पर्धामा उत्रिन सफल भएका हुन्। शर्मा अहिले मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासनक बन्न पुगेकी छिन्। कँडेल अहिले लुम्बिनी प्रदेशको आन्तरिक मामिलामा तथा कानुन मन्त्रालयकी सचिव हुन्। ओझा नेपाल पयर्टन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)का कार्यकारी निर्देशकको भूमिकामा छिन् भने अर्याल महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक हुन्।

सुलोचना श्रेष्ठ नेपाल कृषि सेवा, ला.पो. एण्ड डे. डे. समूहमा खुला प्रतिस्पर्धाबाट सहसचिव बन्ने महिला हुन्। २०७९ जेठमा खला प्रतिस्पर्धाबाट सहसचिव बनेकी सुलोचना हाल पशु सेवा विभागको उपमहानिर्देशक पदमा कार्यरत छिन्। उनी आरक्षण बिनै सहसचिव बन्न सफल भएकी महिला हुन्।

खुला प्रतिस्पर्धाबाट सहसचिव बन्ने अर्की प्रतिभाशाली महिला हुन् पुजा खत्री। २०७९ साल चैतमा उनी खुला प्रतिस्पर्धाबाट नेपाल न्याय सेवा, सरकारी वकील समूहको सहसचिव बनेकी हुन्। खुला प्रतिस्पर्धाबाट अमित उप्रेतीलाई बैकल्पिकमा धकेल्दै पुजा सहसचिव बन्न सफल भएकी थिइन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहन्यायाधिवक्ता बनेर काम गरिसकेकी पुजा हाल उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर पुगेकी छिन्।

आरक्षण बिनै आन्तरिक प्रतिस्पर्धाबाट नेपाल प्रशासन सेवाको सहसचिव बन्न सफल महिला हुन् मिरा आचार्य। उनी २०८१ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी हुन्। ९ जना सहसचिव मागेकोमा प्रतिस्पर्धामा खरो उत्रिने मिरा एक्ली महिला हुन्। सहसचिवमा उनको नाम ७ नम्बरमा सिफारिस भएको हो। आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी मिरा राष्ट्रिय किताबखाना (निजामती)की उपमहानिर्देशक हुन्।

आरक्षण बिनै आन्तरिक प्रतिस्पर्धाबाट सरकारी वकील समूहको सहसचिव बन्ने अर्की महिला हुन् दीपशिखा मुनाकमी। उनी २०८१ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सरकारी वकील समूहको सहसचिव बन्न सफल भएकी हुन्। ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मुनाकमी आप्रबाट सहसचिव बनेकी थिइन्। उच्च सरकारी वकील कार्यालय, ओखलढुङ्गामा कार्यरत सहन्यायाधिवक्ता मुनाकमीको हालै महान्यायाधिवक्ता कार्यालय, रामशाहपथ, काठमाडौंमा सरूवा भएको छ।

आरक्षण बिनै सहसचिवमा ‘टपर’ बनेर चर्चामा रहेकी महिला पात्र हुन् कृष्णकुमारी श्रेष्ठ। २०८१ साल जेठमा खुला प्रतिस्पर्धाबाट १ नम्बरमा नाम निकाल्न उनी सफल भइन्। सहसचिव श्रेष्ठलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ।

खुला र आन्तरिक प्रतिस्पर्धामा महिलाहरू उत्तिकै अब्बल छन् भने कुरा यो दृष्टान्तले दर्शाउँछ। महिलाहरूलाई सबल र सक्षम बनाउन आरक्षण दिनुलाई न्यायोचित नै मान्न सकिन्छ। तर, आरक्षण सेवा प्रवेशमा हुनुपर्छ। आर्थिक, पारिवारिक, सामाजिक र शैक्षिक हैसियत हेरेर महिलालाई ‘इन्ट्री प्वाइन्ट’मा आरक्षण दिँदा सामाजिक न्यायको दृष्टिकोणले उपयुक्त नै हुन्छ। आरक्षण बिनै महिलाहरू पनि सरकारी सेवाको माथिल्लो तहमा फड्को मार्न सक्छन् भन्ने यो गतिलो उदाहरण हो। पछिल्लो समय आन्तरिक र खुला प्रतिस्पर्धामा खरो उत्रिएर महिलाहरू सहसचिव बन्ने क्रम बढ्दो देखिन्छ।

यी हुन् आरक्षणबिनै सहसचिव बन्ने महिलाहरू

१, इन्दु घिमिरे

२, गिताकुमारी होमेगाई

३, हुमकला पाण्डे

४, रोशनीकुमारी श्रेष्ठ

५, सुनिता नेपाल

६, अर्चना श्रेष्ठ

७, लिली श्रेष्ठ

८, बबिता मिश्र

९, यशोदा अर्याल

१०, अरुणा जोशी

११, पार्वती शर्मा

१२, रेखा कँडेल

१३, संगीता ओझा

१४, शुशिला अर्याल

१५, सुलोचना श्रेष्ठ

१६, पुजा खत्री

१७, मिरा आचार्य

१८, दीपशिखा मुनाकमी

१९, कृष्णकुमारी श्रेष्ठ

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अरुणा जोशी, #अर्चना श्रेष्ठ, #आरक्षण, #इन्दु घिमिरे, #कृष्णकुमारी श्रेष्ठ, #गिताकुमारी होमेगाई, #दीपशिखा मुनाकमी, #पार्वती शर्मा, #पुजा खत्री, #बबिता मिश्र, #महिला सहसचिव, #मिरा आचार्य, #यशोदा अर्याल, #रेखा कँडेल, #रोशनीकुमारी श्रेष्ठ, #लिली श्रेष्ठ, #संगिता ओझा, #सहसचिव सुशिला अर्याल, #सुनिता नेपाल, #सुलोचना श्रेष्ठ, #हुमकला पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ