बसन्तनगरमा बन्यो फल्चासहितको मंगलादेवी पार्क, प्रकाशमानले गरे उद्घाटन


काठमाडौं। बबरमहल बसन्तनगरको सार्वजनिक जग्गामा फल्चासहितको मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क बनेको छ। बागमती प्रदेश सरकारको लगानीमा उक्त पार्क बनेको हो।

उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले फल्चासहितको नवनिर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क उद्धाटन गरेका छन्। उक्त पार्कमा स्वर्गीय मंगलादेवी सिंहको शालिक अनावरण उनका सुपुत्र समेत रहेका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन्।

काठमाडौं क्षेत्र नम्बर १(१)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित दिपेन्द्र श्रेष्ठको अगुवाईमा बसन्तनगरको सार्वजनिक जग्गामा फल्चासहितको मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क बनेको छ। सांसद श्रेष्ठ र काठमाडौं महानगरपालिकाका वडाध्यक्ष हिरालाल तण्डुकारको सक्रियतामा उक्त सार्वजनिक जग्गा भएको अतिक्रमण हटाइएको थियो। त्यसमा सुन्दर पार्क निर्माण गरिएको छ।

नवनिर्मित मंगलादेवी पार्कको रेखदेख र संरक्षण काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले गर्ने वडाध्यक्ष तण्डुकारले बताए।

बाममती प्रदेशका पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले फल्चासहितको नवनिर्मित पार्कमा बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने बताए। उक्त पार्कमा नेवारी माैलिक पहिचान झल्काउने फल्चा तथा व्यवस्थित र सुविधायुक्त शाैचालय समेत रहेको उनले जनाए। त्यो ठाउँमा दईवटा पार्क निर्माण गरिएको छ।

बसन्तनगरमा मात्र होइन काठमाडौंको बुद्धनगर, देवीनगर क्षेत्रमा पनि व्यवस्थित पार्क बनेका छन्। उक्त पार्क निर्माणमा त्यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका उपप्रधान एवं सहरी विकासमन्त्री सिंह, प्रदेश सांसद श्रेष्ठ र त्यो क्षेत्रका स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण भूमिका रहेको छ। उक्त क्षेत्रमा सरकारी/सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउँदै पार्क बनाउने अभियान नै चलेको पाइन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ