पाउलो फेर्दै मुलुकको एकमात्र महिला अस्पताल, चिन्ताको विषय शल्यक्रिया ४ प्रतिशतले बढ्यो 


काठमाडौ मुलुकको एक मात्रै महिला अस्पतालले पाउलो फेर्दै गएको छ । तर, यसमा चिन्ताका विषयहरू भने थप हुँदै गएका छन् । मुलुकको एक मात्रै महिला अस्पताल परोपकार प्रसूति तथा स्त्रीरोगको ६५ औं वार्षिक उत्सव मनाइरहँदा खुसी सँगै चिन्ताहरू पनि बढ्दै गएका छन् । 

अधिकारीहरूले प्रस्तुत गरेको अस्पतालको वार्षिक विवरणमा अघिल्लो वर्ष भन्दा अहिले शल्यक्रिया गरेर बच्चा जन्माउने दर ४ प्रतिशतले बढेको देखिएको छ । ४३ प्रतिशत महिलाले शल्यक्रिया मार्फत बच्चा जन्माएका छन् । अधिकारीहरू भन्छन् शल्यक्रिया गरेर बच्चा जन्माउने दर यो धेरै हो । 

महिलाको उपचार गर्ने एक मात्रै विशेषज्ञ सेवा सहितको केन्द्रिय अस्पताल भए पनि यहाँ सीमित साधन, श्रोत रहेको छ । सीमित साधन र श्रोतका बावजुद पनि अस्पतालमा गत आ.ब. ०८० ÷ ०८१ मा कुल ३० हजार ९ सय ५२ जना महिला भर्ना भएका थिए । उनीहरू मध्ये प्रसूति तर्फ २५ हजार १ सय १६ तथा स्त्री रोग तर्फ ५ हजार ८ सय ३६ जना भर्ना भएका थिए । 

नवजात शिशु सघन उपचार तर्फ २ हजार ७ सय ८७ र मातृ  सघन उपचार तर्फ ४ सय ५४ जना भर्ना भएका थिए भने बहिरङ्ग सेवा तर्फ १ लाख ९४ हजार ४ सय ९० जनाले सेवा लिएको अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारीले बताए । 

अधिकारीका अनुसार प्रसूति तर्फ भर्ना भएका २५ हजार १ सय १६ मध्ये २२ हजार ३ सय  ७९ जना को प्रसुती डेलिभरी भएको थियो जस बाट २२ हजार ६१३ जना शिशुको जन्म भएको छ । तथ्याङ्क अनुसार ९ हजार ६ सय ५२ जनाको शल्यक्रिया ९४३५० सिजरियन सेक्सनबाट डेलिभरी भएको थियो । जुन गत वर्ष को तुलना मा ४ प्रतिशत ले बढी हो । साथै स्त्रीरोग गायनोकोलोजी शल्यक्रिया तर्फ गत आ.ब. २०८० / ८१ मा ३ हजार १ सय ३३ जनाको शल्यक्रिया भएको थियो । जस मध्ये २ सय ७६ जनाको दुरबिन (ल्याप्रोस्कोपीक) प्रविधीवाट शल्यक्रिया भएको थियो । 

०१६ साल भाद्र १० गते श्री कृष्ण जन्माष्टमीको दिन ४० शैय्याबाट परोपकार संस्थाले स्थापना गरेको  थियो । समयक्रमसँगै विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ साल असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नामकरण भएको हो । 

 

मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धी यो केन्द्रिय विशिष्टीकृत अस्पतालले विभिन्न आरोह / अवरोहका बीचमा नेपाल र नेपालीको मातृ शिशु स्वास्थ्यको क्षेत्रमा अमूल्य योगदान दिन सफल भएको छ । अझ कोरोनामा देशभरका अस्पतालले प्रसुती सेवा बन्द गर्दा यस अस्पतालले पुर्याएको सेवा “अजम्बरी” छ । 

४० शैय्याबाट सेवा सुरु भएको यस अस्पतालमा हाल स्वीकृत शैय्या सङ्ख्या ४१५ रहेको छ । तर, बिरामीको चाप लाई मध्यनजर गरि अस्पतालले ४ सय ८९ शैय्या सञ्चालन गर्दै आएको छ । स्वीकृत भन्दा बढी सेवा सञ्चालन गर्नुको एउटा मात्रै उद्देश्य भनेको गरिब बिरामी उपचारको नाममा निजीमा गएर ठगिनु नपरोस् भन्ने हो ।  

पाउला फेर्दै महिला अस्पताल 
बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा बिरामीलाई डिस्चार्ज गर्ने व्यवस्था मिलाइएको छ । गुणस्तरिय सेवा अन्तर्गत सरकारी स्तरमा दुरबिन प्रविधिबाट स्त्रीरोग सम्बन्धी शल्यक्रियाहरु गर्दै आएको छ । 

देशकै पहिलो सर्भसुलभ आई.भी.एफ. सेवा २०७२ सालको भुकम्प पश्चात स्थगन रहेको हाल स्तरोन्नती गरि पुनः नियमितरुपमा संचालनमा ल्याई ५८ जना सेवाग्राहीलाई सेवा दिई सकिएको छ । ओपिडि तथा अप्रेसन सेवा विहान ९ वजे देखि ३ वजे सम्म सञ्चालनमा रहेकोमा समय वढाइ विहान ९ वजे देखि ४ वजे सम्म सञ्चालन छ । अस्पतालमा विस्तारित स्वास्थ्य सेवा सफल छ । 

हालै नवजात शिशु तथा वालरोगको विस्तारित ओपिडि सेवा पनि सञ्चालनमा ल्याईएको । विशिष्टिकृत सेवा अन्तर्गत गर्भवती महिलाको वच्चाको मुटुको ईको कार्डियोग्राफी तथा आमाको मुटुको ओपिडि र ईको कार्डियोग्राफि सेवा ४ वजे देखी ६ वजे सम्म सञ्चालनमा ल्याईएको छ । अस्पतालमा सेवाग्राहीको मानसिक स्वास्थ्यलाई मध्यनजर गरि हालै मानसिक स्वास्थ्य सेवा ओपीडी सुरुवात गरिएको छ । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम छेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निशुल्क हवाई उद्धार सेवाबाट ४८ जना महिलाहरुको उपचार  गरिएको छ । अस्पतालमा आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गरी भिड कम गर्नका लागि अनलाइन टिकट को ब्यबस्थापन गरिएको छ । 

नेपालमा नै पहिलोपटक नियोनेटल स्क्रिनिङ्ग टेष्टको कार्य यहि साउन २९ गते देखि शुरुवात गरिएको छ । जसले गर्दा नवजात शिशुको वंशाणुगत रोग को समयमै पहिचान तथा  रोगको निदान गर्न सहज हुने देखिन्छ । शिशुको जन्म पूर्वनै गरिने प्रिनेटल स्क्रिनिंग टेस्ट समेत सरकारी अस्पतालमै पहिलो पटक यस अस्पतालमा उपलब्ध छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ