आरक्षण बिना सहसचिव बनेर देश चिनाउने अब्बल नर्सहरू


काठमाडौँ ।  सामान्य तया हरेक मानिसमा महिलाहरू आरक्षणबाट मात्र सरकारी सेवामा प्रवेश गर्छन, आरक्षणकै जगमा टेकेर सेवाको माथिल्लो तहसम्म पुग्छन् भन्ने भाष्य छ । तर, समाजले कति व्यक्ति आरक्षणको जग बिनै माथिल्लो तहमा पुगेका छन् भन्ने हेक्का राख्दैन । 

अझ नर्सिङ क्षेत्रमा हेर्ने दृष्टिकोण अन्यको हकमा फरक छ । तर, यही क्षेत्रका केही नर्सहरू आरक्षणको भऱ्या बिनै सहसचिव बनेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान बनाएका यी नर्सहरूको क्षमता राज्यले आवश्यक ठाउँमा उपयोग गर्न सकेको छैन । 

सरकारी विवरण अनुसार आधा दर्जन सहसचिव नर्सहरू आन्तरिक प्रतिस्पर्धा (आप्र) र खुला प्रतिस्पर्धाबाट आउन सफल भएका छन् । स्वास्थ्य लाइभको अध्ययनमा दुर्गालक्ष्मी श्रेष्ठ, सङ्गीता श्रेष्ठ, वन्दना पाण्डे, सावित्री कुमारी पौडेल, सरिता कार्की, हिराकमारी निरौलालगायत आरक्षण बिनै आन्तरिक र खुला प्रतिस्पर्धामा खरो रुपमा उत्रिएर सहसचिव बन्न सफल भएका हुन् ।

 

आरक्षणको दुरुपयोग भइरहेको र महिला भनेकै आरक्षणबाट माथिल्लो तहमा जान्छन् भन्ने मान्यतालाई चुनौती दिन उनीहरू आप्र र खुलाबाट सहसचिव बन्न सफल भएको देखिन्छ । नर्सिङबाट सहसचिव भएका व्यक्तिको विवरण हेर्दा कतिपयले ‘इन्ट्री प्वाइन्ट’मा मात्र उक्त सुविधा लिएका छन् भने कतिपयले कुनै पनि पदमा आरक्षण सुविधा लिएका छैनन् । 

आरक्षण बिनै खरो प्रतिस्पर्धामा उत्रिने सहसचिव हुन् सङ्गीता श्रेष्ठ । सङ्गीता ०७८ साल मङ्सिरमा खुला प्रतिस्पर्धाबाट नर्सिङ तर्फबाट सहसचिव बनेकी हुन् । हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालकी ‘मेट्रोन’ छन् । 

 

त्यस्तै ०७८ मा आन्तरिक प्रतिस्पर्धा गर्दै वन्दना पाण्डेले पनि सहसचिवमा बाजी मारेकी थिइन् । पाण्डे हाल वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख छन् ।  यता हिराकुमारी निरौलाले २०७९ मा सहसचिवमा बाजी मारिन् । उनी हाल नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख छन् । यी नर्सहरू महिलाहरूका लागि उदाहरणीय पात्र हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##दुर्गा लक्ष्मी श्रेष्ठ, ##नर्स, ##हिरा निरौला, #आरक्षण, #कमला राना, #रोशनी तुईतुई, #वन्दना पाण्डे, #सङ्गीता श्रेष्ठ, #सरिता कार्की, #सावित्री पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ