जो एउटै मितिमा सहसचिव सिफारिस भएर सचिव हुन सफल भए


काठमाडौं । २०६७ वैशाखमा प्रशासन सेवाको सहसचिव सिफारिस भएर सचिव बनेकाहरू अहिले महालेखापरीक्षक, अख्तियार आयुक्त, प्रतिनिधि सभाको सचिवलगायत भूमिकामा रहेको पाइन्छ। २०६७ साल वैशाखमा सहसचिवमा सिफारिस भएका १ जनाबाहेक ८ जना नेपाल सरकारको सचिव बन्न सफल भएका छन्। कतिपय त सचिव बनेर माथिल्लो पदमा समेत पुग्न सफल भएका हुन्।

२०६७ वैशाखमा आन्तरिक प्रतिस्पर्धा र खुला गरी १० जना प्रशासन सेवाको सहसचिवमा सिफारिस भएका थिए। त्यसरी सिफारिस हुनेमा सुरेेश अधिकारी, हरि पौडेल, तोयनारायण ज्ञवाली, तोयम राया, केवलप्रसाद भण्डारी, हरिप्रसाद बस्याल, सुदर्शनप्रसाद ढकाल, रामकृष्ण सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराई रहेका छन्। अधिकारी, पौडेल, ज्ञवाली, राया, भण्डारी, बस्याल र ढकाल आन्तरिक प्रतिस्पर्धाबाट सिफारिस भएका हुन्। सुवेदी, घिमिरे र भट्टराई भने त्यसै मितिमा खुला प्रतिस्पर्धाबाट सहसचिव सिफारिस भएको देखिन्छ। एउटै मितिमा सिफारिस भएका आ.प्र. का सुदर्शनप्रसाद ढकाल भने ५८ वर्षे उमेर हदका कारण सचिव हुन पाएनन्। बाँकी ९ जना सचिव भए।

प्रशासन सेवाको सहसचिवमा आन्तरिक प्रतिस्पर्धाबाट आएका सुरेश अधिकारी प्रशासन सेवाको सचिव भएर प्रतिनिधि सभाको सचिव बन्न सफल भएका छन्।  हरि पौडेल सचिव हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनेका हुन्। तोयनारायण ज्ञवाली राष्ट्रिय योजना आयोगको सचिवको भूमिकामा छन् भने तोयम राया सचिव हुँदै महालेखापरीक्षक बनेका हुन्। केवलप्रसाद भण्डारी र हरिप्रसाद बस्याल सचिवबाट अवकाश लिएर बसेका छन्।

खुला प्रतिस्पर्धाबाट आएका रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव पदमा कार्यरत छन्। दिनेश भट्टराई भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सचिवको भूमिकामा छन्। घिमिरे भने छोटो समय सचिव भएर ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्। उनी करिब ३ महिना सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएर काम गरेका थिए।

त्यसको झन्डै १ वर्षपछि २०६७ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट ५ जना प्रशासन सेवाको सहसचिव थपिएका थिए। त्यसरी थपिनेमा रामशरण पुडासैनी, अर्जुनप्रसाद पोखरेल, लक्ष्मीविलास कोइराला, जगदीश रेग्मी र एकनारायण अर्याल रहेका छन्।

पुडासैनी सचिव भएर अवकाश भइसकेका छन्। पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको भूमिका छन्। कोइराला र रेग्मी सचिव नै हुन पाएनन्। अर्याल अहिले गृहसचिवको भूमिकामा रहेका छन्।

२०६७ साले पहिलो र अन्तिम टोली यसै आर्थिक वर्षभित्र सचिवबाट भने खाली हुँदैछन्। तर, त्योभन्दा माथिल्लो ठाउँमा भने यिनीहरू कै बर्चस्व कायम रहने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनप्रसाद पोखरेल, #एकनारायण अर्याल, #केवलप्रसाद भण्डारी, #तोयनारायण ज्ञवाली, #तोयम राया, #दिनेश भट्टराई, #रामकृष्ण सुवेदी, #रामशरण पुडासैनी, #सुरेेश अधिकारी, #हरि पौडेल, #हरिप्रसाद बस्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ