मुख्यसचिव बन्न दुई ‘ब्याच’का सचिवहरूबीच प्रतिस्पर्धा


काठमाडौं । महिलाबाट पहिलो मुख्यसचिव बनेर इतिहास रचेकी लिलादेवी गड्तौला शुक्रबार ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जाँदैछिन्। त्यसपछि मुलुकले नयाँ मुख्यसचिव पाउनेछ। मुलुकको २८ औं मुख्यसचिवमा दुई ‘ब्याच’का सचिवहरूबीच प्रतिस्पर्धा देखिन्छ।

गड्तौलापछिको मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल मुख्य प्रतिस्पर्धामा देखिन्छन्।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका ज्ञवाली, सुवेदी र भट्टराई २०६७ वैशाख एकैदिनका सहसचिव हुन् भने अर्याल र पोखरेल त्यसको झन्डै १ वर्षपछि २०६७ फागुनका सहसचिव हुन्। मुख्यसचिवको प्रतिस्पर्धामा २०६७ वैशाख र २०६७ फागुनका दुई ‘ब्याची’ सहसचिवहरूबीच मुख्य प्रतिस्पर्धा रहेको पाइन्छ।

२०६७ वैशाखमा एकैदिन सहसचिव सिफारिस भएकामध्ये ज्ञवाली, सुवेदी र भट्टराई बहालवाला सचिव छन्। त्यसको झन्डै १ वर्षपछि सहसचिव भएकामध्ये अर्याल र पोखरेल सचिवको भूमिकामा छन्। यीनै दुई ‘ब्याची’ सचिवहरुबीच मुख्यसचिवमा मुख्य प्रतिस्पर्धा रहेको पाइन्छ।

२०२५ साल फागुनमा जन्मिएका ज्ञवाली र २०२५ साल पुसमा जन्मिएका सुवेदी मुख्यसचिव बने ३ वर्ष पूरा अवधि चलाउने देखिँदैन। त्यो ‘ब्याच’बाट २०२७ साल पुसमा जन्मिएका भट्टराईले मात्र पूरा अवधि मुख्यसचिव चलाउन पाउने देखिन्छ। पछिल्लो ‘ब्याची’बाट २०२४ साल फागुनमा जन्मिएका अर्याल र २०२५ साल जेठमा जन्मिएका पोखरेल ५८ वर्षे उमेद हदका कारण आधा कार्यकाल मात्र मुख्यसचिव चलाउन पाउनेमा पर्छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आपसी समझदारीबाट मुख्यसचिव बनाउने बुझिन्छ। सरकारमा स्थायित्व खोजेको प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले मुख्यसचिवमा पनि स्थायित्व रोज्ने सम्भावना देखिन्छ। मुख्यसचिव कसलाई बनाउने भन्नेमा प्रधानमन्त्री ओलीको विशेष भूमिका रहन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ