‘वायु प्रदूषणको प्रभाव न्यूनिकरणमा मन्त्रालयले प्रभावकारी कदम चाल्छ’, वनमन्त्री शाही


काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका छन । ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोन्धन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनिकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री शाहीको भनाइ छ ।

वन तथा वातावरण मन्त्री

जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनिकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाउने मन्त्री ठकुरीले बताए । सञ्चारमाध्यका साथीहरु र सरोकारवाला पक्षलाई मन्त्रालयमा आमन्त्रण गरेर सल्लाह र सुझाव लिएर अघि बढ्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठूलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं महानगरपालिकाका साथै स्थानीय तह र सम्वन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरुको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्यूनिकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि सधैं तत्पर रहेको स्पष्ट पारे । अबको समय वायु प्रदूषण नियन्त्रणमा जुट्नुको विकल्प नभएको मन्त्री शाहीले स्पष्ट पारे ।

कार्यक्रममा काठमार्डौ महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता राईले वायु प्रदुषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभवाकारी ढंगबाट गरेको बताइन । स्वच्छ काठमाडौं निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन । ‘धूलोरहित काठमाडौं निर्माण गर्न जुटेका छौं’, राईले भनिन्, ‘स्वास्थ्य संस्थाको फोहर अनुगमन गरेको छौं ।’, मापदण्ड अनुसार फोहरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारबाही गर्ने उनले प्रस्ट पारिन् ।

ट्रिपल मिडिया प्रालिद्वारा आयोजित ‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरुद्वारा सातवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा वातावरणविद् भूषण तुलाधरले वायु प्रदषुणले स्वास्थमा पारेको असर र समाधानका उपायबारे प्रकाश पारेका थिए । तुलाधरका अनुसार विश्वमा ९९ प्रतिशत मानिसहरु प्रदूषित वायु भएको ठाउँमा बस्ने गरेका छन् । ‘वायु प्रदूषणकै कारण प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ’, वातावरण विद तुलाधर भन्छन्, ‘यीमध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशहरुमा हुने गरेको छ ।’,

तुलाधरका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या ४८ हजार ५ सय रहेको छ । काठमाडौंमा मात्रै वर्षमा ५ हजार बढीको मृत्यु वायु प्रदूषणका कारण भएको छ । काठमाडौंमा प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ८ गुणा बढिरहेको छ । वायु प्रदूषण बढेपछि सरकारले काठमाडौं वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ स्वीकृत गरेको छ ।

नेपालमा मृत्युको मुख्य कारण र त्यसमा वायु प्रदूषणको भूमिका मध्ये ६६ प्रतिशत दिर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको संक्रमण, २२ प्रतिशत नवजात शिशुको मृत्यु रहेको वातावरणविद् भुषण तुलाधरले बताए ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदुषण करिब १८ प्रतिशतले घटेको छ । तर, अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य संगठनको मापदण्ड पुर्याउन सके हरेक नेपालीको आयु ३ दशमलब ४ वर्ष र काठमाडौंबासीको उमेर २ दशमलब ६ वर्ष बढ्ने बिभिन्न अध्ययनहरुले देखाएको तुलाधर बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिन्छ । ‘हाल दिन र रात दुवै पहिलाको तुलनामा ताता भैरहेका छन् अर्थात् चिसा दिन र रातको सङ्ख्या कम हुँदै गएको पाइन्छ । साथै तापक्रम बढ्ने, छिटफुट हिमपात र हिमनदीहरू अत्यधिक मात्रामा पग्लनाले पहाडी भेगमा खानेपानी तथा सिचांईको अभाव हुन थालेको छ।’, अधिकारी भन्छन् ।

वातावरण क्षेत्रका विज्ञ पत्रकार छत्र कार्कीले वायु प्रदुषण र जलवायु परिवर्तनका क्षेत्रमा कलम चलाउँदा विशेष ध्यान दिनुपर्ने बताए । अरु विषय जस्ताे रिपोर्टिङ गर्न यश क्षेत्रमा सहज नभएको पनि सुनाए । तथ्यांकलाई विशेष जाेड दिएर समाचार लेख्न उनले पत्रकारलाई अनुरोध गरे । कार्कीले पत्रकार सहज रुपमा पुग्न नसकेका स्थानहरुकाे सुचना संकलन गर्न सक्ने वातावरण पत्रकारले मिलाउनु पर्ने पनि बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० देखि २०५० को बीचमा जलवायु परिवर्तनले मलेरीया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास हजार मान्छेको मृत्यु हुनेछ भनी अनुमान गरीएको अधिकारीले प्रष्ट्याए ।

वातावरणीय स्वास्थ्य समस्यामध्ये वायु प्रदूषण सन् २०१९ को सबैभन्दा ठूलो चुनौती हो । अधिकारीका अनुसार विश्वभरि ९० प्रतिशत भन्दा बढी मानिसहरु प्रदुषित वायु भएको ठाउँमा बस्छन् । प्रदुषण कै कारणले विश्व भरि वर्सेनी ७० लाखको मृत्यु भएको छ ।  मृत्यु बढी हुनेमा ९०% कम र मध्य आय भएका देशहरुमा हुने गर्छन् ।

वायु प्रदूषणका कारण हावामा हुने किरणले फोक्सोको क्यान्सर गराई ३६ प्रतिशतको मृत्यु गराएको छ । त्यस्तै ३४ प्रतिशतको मस्तिष्कघातबाट मृत्यु भएको छ भने हृदय रोगबाट २७ प्रतिशतको मृत्यु भएको सरकारी तथ्यांक छ अधिकारीले भने । काठमाडौंमा भने सवारी साधन नै वायु प्रदुषणको प्रमुख कारक हो । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभाग बीच सम्झौता गरेको पनि अधिकारीले बताए ।

कान्ति बाल अस्पतालका चिकित्सक डा. जगतजीवन घिमिरले साउथ एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए । ‘तत्काल यसको असर नदेखिने भएकाले पनि नीति निमार्णमा बसेकाहरुलाई यसको असरले छुएको छैन ।’, डा. घिमिरेले भने ।

नेपालमा वायु प्रदूषणले मानवमा पारेको प्रभावको विषयमा कुनै तथ्यांक छैन । चीनलगायत भारतमा समेत वायु प्रदूषण उच्च हुदा विद्यालय बन्द गराएर बालबालिकालाई जोगाउने काम हुन्छ तर, नेपाल वायु प्रदूषणको उच्च जोखिममा पुग्दा समेत सरकारले विद्यालय बन्द गराउन सकेको छैन । वायु प्रदूषण उच्च हुँदा बालबालिकालाई तुरुन्तै असर समेत पार्न सक्छ ।

बालबालिकाको शरिरका अंगहरु बिकास हुने क्रममा भएकाले बच्चाहरु वायु प्रदूषणको बढी जोखिममा हुन्छन् । अझ पेट भित्र बच्चा बन्ने क्रममा हुदा आमाहरु प्रदूषणमा सामेल हुदा बच्चा बढ्ने प्रक्रिया राम्रोसँग हुँदैन । डा. जगत जीवन घिमिरे भन्छन्, ‘नेपालमा बच्चाहरु अत्यन्तै प्रदूषणमा बसेका छन् ।’,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानविद् डा. मेघनाथ धिमाल भन्छन्, ‘२०२४ स्टेट अफ ग्लोबल एयर अनुसार, वायु प्रदूषणका कारण ६ वर्ष मुनिका ७ लाख ९ हजार बालबालिको मृत्यु भएको थियो । तथ्यांक अनुुसार पाँच वर्ष मुनिका बालबालिकामा हुने सबै विश्वव्यापी मृत्युको १५ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।’,

डा. धिमालका अनुसार हरेक दिन ५ वर्ष मुनिका करिब २ हजार बालबालिका वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य प्रभावका कारण मर्छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढीको मृत्यु प्रदूषित इन्धनमा खाना पकाउने घरायसी वायु प्रदूषणका कारण भएको थियो । यसको सबैभन्दा ठूलो प्रभाव अफ्रिका र दक्षिण एसियामा देखिएको धिमाल सुनाए ।

वायु प्रदूषण एक सामाजिक समस्या भएको डा. धिमालको भनाइ छ। इटाभट्टा, ट्राफिक एक्सपोजर (पैदलयात्री बनाम एसी कारका सवार), विद्यालय र बस्तीको छेउमा निर्माण गरिएका कारखानाहरू, सहर भएर जाने सडक र लामो दूरीका ट्रकहरूबाट हुने प्रदूषण मुख्य समस्या भएको उनले बताए ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जलवायु कार्यमा मिडियाको योगदान अन्वेषण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले वायु प्रदूषण नियन्त्रणमा पत्रकारकाे महत्त्वपूर्ण भूमिका रहेकाे बताए ।

सेभ द चिल्ड्रेनका वातावरणविद् पल्लव रेग्मीले सप्तरी र काठमाडौँमा आधारित भएर गरेको एक अध्ययन अनुसार वायु प्रदूषणको कारण महिलाहरूमा ३५ प्रतिशत महिलामा छालाजन्य संक्रमण भएको पाइएको थियो । उनका अनुसार ७२ प्रतिशतमा श्वास–प्रश्वास सम्बन्धी समस्या भएको पाइएको छ। प्रदूषणको कारण लाग्ने रोगको कारण महिलाहरूको गुणस्तरीय जीविकामा समेत नकारात्मक असर परेको पाइएको उनले बताए।

तराइका जिल्लाहरूमा औद्योगिक र घरभित्रको वायु प्रदूषण दुवै उत्तिकै रहेको र काठमाडौँमा बाहिरी प्रदूषण उच्च रहेकोले वायु प्रदूषणको असर बढी देखिएको उनले बताए।

कार्यक्रममा वन तथा वतावरणमन्त्री ठकुरीलाई नेशनल युथ फर चिल्ड्रेन एक्सनले तयार पारेको जलवायु परिवर्तन सम्वन्धी घोषणा पत्र समेत हस्तान्तरण गरेको थिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ