जो अधिकृतमा मात्र कोटा प्रयोग गरेर सहसचिव भए


काठमाडौं । निजामती प्रशासनमा आरक्षण (कोटा) प्रणाली दुरुपयोग भएको बहस चलिरहँदा त्यो कोटालाई सदुपयोग गर्ने पनि भेटिएका छन् । स्वास्थ्य लाइभको खोजीमा सरकारी सेवा प्रवेश गर्दा (इन्ट्री प्वाइन्ट)मा मात्र कोटा प्रयोग गर्नेहरू पनि उल्लेख्य संख्यामा भेटिएका छन्। आधा दर्जन बढी सहसचिवहरूले शाखा अधिकृतमा मात्र कोटा प्रयोग गरेको पाइएको छ।

निजामती प्रशासनमा शाखा अधिकृतमा मात्र आरक्षण सुविधा लिएर खुला र आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्नेमा नारायणप्रसाद रेग्मी, रेखा कँडेल, सुशिला अर्याल, प्रदीप परियार, मिरा आचार्य, पुजा खत्री, ज्ञानबहादुर मगर, कृष्णकुमारी श्रेष्ठलगायत रहेका छन्। स्वास्थ्य लाइभको जानकारी नआएका अरू पनि शाखा अधिकृत मात्र आरक्षणको सुविधा लिएर सहसचिव बन्नेहरू हुन सक्छन्। यी भने केही प्रतिनिधि र उदारणीय पात्र बनेका छन्। निजामती सेवामा पटकपटक आरक्षण सुविधा लिएर सहसचिव भएकाहरूकाबीच यी सहसचिव उदाहरणीय पात्र नै हुन्। एउटै व्यक्तिले पटकपटक आरक्षणको लाभ लिनु दुरुपयोग नै हो। सहसचिव तहमा त आरक्षण सेवा दिनु सरासर गलत देखिन्छ। इन्ट्री प्वाइन्टमा मात्र कोटा प्रयोग गर्नुलाई स्वभाविक र सामान्य रुपमा लिनुपर्छ। निजामती प्रशासनमा आरक्षण प्रणाली लागू भएको १७ वर्ष भइसकेकाले अब भने इन्ट्री प्वाइन्टमा पनि कस्तो आर्थिक, सामाजिक र शैक्षिक हैसियत भएकालाई आरक्षण प्रयोग गर्न दिने स्पष्ट मापदण्ड बनाउन जरूरी भइसकेको देखिन्छ।

आर्थिक, सामाजिक र शैक्षिक रूपले पछाडि परेकालाई आरक्षण दिने हो। तर, नेपालमा आरक्षण प्रणाली तरमारा वर्गको कब्जामा रहेको पाइन्छ। लक्षित वर्गका लागि ल्याइएको आरक्षण प्रणालीमा तरमारा बर्ग हाबी हुँदा र उनैको हालिमुहाली रहँदा त्यसको विकृत रूप देखिन थालेको छ। यस्तो विकृत अवस्थालाई तत्काल सुधार र राज्यले ध्यान दिन जरूरी छ।

२०६६ सालमा पिछडिएको क्षेत्रबाट शाखा अधिकृत बनेका नारायणप्रसाद रेग्मी सहसचिवमा खुला प्रतिस्पर्धाबाट १ नम्बरमा नाम निकाल्न सफल भएका थिए। उनी २०७४ असारमा खुला प्रतिस्पर्धाबाट १ नम्बरमा सहसचिव भएका हुन्।

लुम्बिनी प्रदेशकी आन्तरिक मामिलामा तथा कानुन मन्त्रालयकी सचिव रेखा कँडेल पनि शाखा अधिकृतमा मात्र कोटा प्रयोग गर्नेमा पर्छिन। उनी २०६६ फागुनमा महिला कोटाबाट शाखा अधिकृत भएकी हुन्। रेखा २०७८ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी थिइन्।

महालेखा नियन्त्रक कार्यालयकी सहमहालेखा नियन्त्रक सुशिला अर्याल पनि शाखा अधिकृतमा मात्र कोटा प्रयोग गर्नेमा पर्छिन्। उनी २०६६ मा महिला कोटाबाट लेखा अधिकृत बनेकी थिइन्। सहसचिव भने अर्याल आन्तरिक प्रतिस्पर्धाबाट भएकी हुन्। रेखासँगै सुशिला पनि २०७८ फागुनमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएकी हुन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार पनि शाखा अधिकृतमा मात्र कोटा प्रयोग गर्नेमा पर्छन्। २०७० सालमा दलित कोटाबाट शाखा अधिकृत बनेर सरकारी सेवामा प्रवेश गरेका प्रदीप खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्। उनी २०७८ चैतमा खुला प्रतिस्पर्धाबाट प्रशासन सेवाको सहसचिवमा सिफारिस भएका थिए।

 

२०६९ असोजमा महिला कोटाबाट शाखा अधिकृत बनेकी मिरा आचार्य आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेकी हुन्। उनले सहसचिव बन्दा आरक्षणलाई भऱ्याङ बनाइनन्। २०८१ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्ने मिरा एक्ली महिला हुन्। हाल उनी राष्ट्रिय किताबखाना (निजामती)की उपमहानिर्देशक रहेकी छिन्।

सरकारी वकिलमा सहसचिव रहेकी पुजा खत्री पनि शाखा अधिकृतमा मात्र कोटा प्रयोग गर्नेमा पर्छिन्। हाल उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगरमा कार्यरत खत्रीले खुला प्रतिस्पर्धाबाट सरकारी वकिल समूहको सहसचिवमा नाम निकाल्न सफल भएकी हुन्। २०७० साउनमा महिला कोटाबाट न्याय तर्फको शाखा अधिकृत बनेकी खत्री २०७९ चैतमा खुला प्रतिस्पर्धाबाट सरकारी वकिल समूहको सहसचिवमा सिफारिस भएकी हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेकी छिन्।

परराष्ट्र सेवाका सहसचिव ज्ञानबहादुर मगर पनि शाखा अधिकृतमा मात्र आरक्षण सुविधा लिनेमा पर्छन्। २०७१ मंसिरमा आदिवासी/जनजाति कोटाबाट परराष्ट्र सेवाको शाखा अधिकृत बनेका मगर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका हुन्। उनी २०८१ वैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको सहसचिवमा सिफारिस भएका हुन्। हाल मगर परराष्ट्र मन्त्रालयमा कार्यरत छन्।

राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठ पनि शाखा अधिकृतमा मात्र कोटा प्रयोग गर्नेमा पर्छिन्। २०७० भाद्रमा महिला कोटाबाट प्रशासन तर्फको शाखा अधिकृत बनेकी श्रेष्ठ खुला प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएकी हुन्। उनी खुला प्रतिस्पर्धाबाट सहसचिवमा ‘टपर’ बनेर चर्चामा आएकी महिला हुन् । कृष्णकुमारी २०८१ साल जेठमा खुला प्रतिस्पर्धाबाट १ नम्बरमा सहरुचिवमा सिफारिस भएकी हुन्।

शाखा अधिकृतमा मात्र आरक्षण सुविधा लिने सहसचिवहरू यो प्रणाली सुधारका प्रयाय हुन्। निजामती सेवामा आरक्षण एकपटकका लागि त्यो पनि इन्ट्री प्वाइन्टमा मात्र हुनुपर्छ भन्ने कुरामा यिनीहरूको महत्त्वपूर्ण भूमिका हुन सक्छ।

 

अधिकृत मात्र कोटा प्रयोग गरेर सहसचिव भएकाहरु

१, नारायणप्रसाद रेग्मी

२, प्रदीप परियार

३, रेखा कँडेल

४, सुशिला अर्याल

५, मिरा आचार्य

६, पुजा खत्री (सरकारी वकील)

७, ज्ञानबहादुर मगर (परराष्ट्र)

८, कृष्णकुमारी श्रेष्ठ

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #कृष्णकुमारी श्रेष्ठ, #ज्ञानबहादुर मगर (परराष्ट्र), #नारायणप्रसाद रेग्मी, #पुजा खत्री (सरकारी वकील), #प्रदीप परियार, #मिरा आचार्य, #रेखा कँडेल, #सुशिला अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ