बेलायतको राजदूतमा सिफारिस चन्द्र घिमिरेलाई खुलापत्र

चन्द्र घिमिरेज्यू, राजदूत बन्नुअघि कर बक्यौता तिर्ने हैन?


काठमाडौं । सचिवबाट अवकाश प्राप्त चन्द्रकुमार घिमिरेज्यू यहाँ छिट्टै सहसचिव सरहको राजदूत बनेर जाँदै हुनुहुन्छ। यहाँको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेर परराष्ट्र मन्त्रालयले ‘एग्रिमो’का लागि संयुक्त अधिराज्य बेलायत समक्ष पठाएपछि ‘एग्रिमो’ पनि प्राप्त हुने छ भन्ने आशा व्यक्त गरौं। त्यसपछि यहाँ बेलायतको राजदूत बन्नु नै हुनेछ। किनकि हाम्रो संसदीय सुनुवाई ‘कर्मकाण्डी’ रहेकाले उक्त समितिले तपाईंको नाम अस्वीकृत गर्ने सम्भावना न्यून छ।

अमेरिकाको राजदूत भइसकेको यहाँ बेलायतका लागि आवासीय राजदूतमा खुम्चिनु पर्दा दुःख लागेको छ। त्योभन्दा ठूलो दुःख त सचिव र मुख्यसचिव भइसकेको व्यक्ति सहसचिवसरहको राजदूतमा जानुहुन्न भन्ने तपाईंको सार्वजनिक मान्यताविपरीत सरकारले राजदूत सिफारिस गरिदिएर ‘हाइट’ घटाइदिएकोमा लागेको छ ।

कलकत्ताको महावाणिज्यदूत हुँदा वैदेशिक भत्ता बापतको जम्मा २५ प्रतिशतमा लाग्ने आय कर बक्यौता बाँकी रहेकाले उक्त सूचीमा तपाईंको नाम देख्दा झनै दुःख लागेको छ। तपाईं ४ वर्ष कलकत्ता बस्दा ५ लाख जति वैदेशिक भत्तामा लाग्ने कर राज्यलाई तिर्न बाँकी देखिन्छ। यो बेरुजु महालेखा परीक्षकको कार्यालयको ‘रेकर्ड’मै उल्लेख भएको कुरा हो। विदेशस्थित नियोगमा कार्यरत कर्मचारीको हकमा वैदेशिक भत्तामा ७५ प्रतिशतमा कर लाग्दैन। जम्मा २५ प्रतिशतमा मात्र लाग्ने उक्त कर नतिर्नेको सूचीमा तपाईं पनि पर्नुहुन्छ।

मुलुकलाई कर नतिर्न र ठग्न परराष्ट्रभित्र ठूलो सिण्डिकेट छ। उक्त सिण्डिकेटमा मिसिएर तपाईंले पनि राज्यलाई कर नर्तिदा नमज्जा लागेको छ। तपाईंलाई राज्यले करोडौं ‘सेतो धन’ हुने बेलायतको राजदूत दिएको छ। एकचोटी छातीमा हात राखेर भन्नु त राज्यले यहाँभन्दा तपाईंलाई दिन सक्ने ठाउँ कुन छ? राज्यले यत्रो गुन लगाउँदा तपाईंले चाहिँ राज्यलाई तिर्नु बुझाउनु पर्ने कर तिर्नु पर्दैन? राज्यसँग लिने मात्रै कि दिने पनि हो? यो तपाईंले मनन गर्ने कुरा हो।

चन्द्र घिमिरेज्यू, कलकत्ताको महावाणिज्यदूत हुँदाको कर बेरुजु बक्यौता चुक्ता गरेर परराष्ट्रका सिण्डिकेटधारीलाई लज्जित बनाइदिनु होस्। अनि मात्र राजदूत खानुहोस्। कर बेरुजु बक्यौता नतिरेर आफैं चाहिँ लज्जित नहुनुहोस्। यहीं छ शुभकामना!

धन्यवाद,

-उहीँ तपाईंको सुभचिन्तक

क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #चन्द्रकुमार घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ