गृह सचिव बन्न स्वास्थ्य सचिवदेखि शिक्षा सचिवसम्म दौडधुपमा


काठमाडौं । गृह सचिव एकनारायण अर्याल मुख्यसचिव बढुवा भएसँगै गृह सचिव रिक्त भएको छ। उक्त ठाउँमा जानका लागि तीव्र दौडधुप सुरु भएको देखिन्छ। आगमी मन्त्रिपरिषद्को बैठकबाट गृह मन्त्रालयले सचिव पाउने सम्भावना देखिन्छ।

गृह सचिव बन्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्कर कर्ण, महालेखा नियन्त्रक कार्यालयका सचिव विनोदप्रकाश सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले र राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव गोकर्णमणि दुवाडी दौडधुपमा लागेका छन्। यीमध्ये सिंह गृह सचिव भइरहेका व्यक्ति हुन् भने कर्ण र पोखरेलले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

कांग्रेस पृष्ठभूमिमा हरिप्रसाद मैनाली राष्ट्रपति रामचन्द्र पौडेलको नातेदार भएकाले उनी त्यहिँ लाइनबाट गृह सचिव बन्न लागिपरेको स्रोतको दाबी छ। उनको ससुराली तनहुँ नै भएकाले राष्ट्रपति मार्फत मैनालीले गृह सचिव बन्न लबिइङ गरिरहेको स्रोतले बतायो।

श्रम सचिव मुकुन्दप्रसाद निरौला चिनिएका कांग्रेस हुन्। पार्टी निकट सचिव खोज्ने हो भने निरौला गृहसचिव बन्न सक्छन्। जसरी एकनारायण अर्याललालाई एमालेले च्यापेको थियो त्यसरी नै निरौलालाई कांग्रेसले च्याप्ने हो भने निरौला गृह सचिवका प्रमुख दाबेदार हुन्। उनी सन्तुलन मिलाउन सक्ने सचिवका रूपमा चिनिन्छन्।

निरौलापछि गृह सचिव बन्न लागिपरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव कृष्णहरि पुष्कर कर्ण हुन्। अर्थ, सामान्य प्रशासन जस्ता मन्त्रालयको सचिव भइसकेका कर्ण जसरी भएपनि गृह सचिव बन्न लागिपरेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ।

महोत्तरी सुगाका सचिव कर्णको ससुराली सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला हो। उनी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका नातेदार हुन्। कर्णकी श्रीमती आभा श्रेष्ठ कर्ण पनि सहसचिव छिन्। उनको परराष्ट्रमन्त्री एवं आरजु राणा देउवासँग पनि राम्रै सम्बन्ध रहेको पाइन्छ। सबै पार्टी मिलाउन ‘खप्पिस’ कर्ण सुदूरपश्चिमको ‘साइनो’ लगाएर गृह सचिव बन्ने तरखरमा छन्। तर, उनलाई रोक्न सुदूरपश्चिम कै डोटी घर भएका महालेखा नियन्त्रक विनोदप्रकाश सिंह अघि सर्ने उत्तिकै सम्भावना देखिन्छ।

महालेखा नियन्त्रक सिंह डोटी हुँदै धनगढी झरेका हुन्। उनको बुढानिलकण्ठ ‘क्याम्प’सँग घनिष्ठ सम्बन्ध रहेको पाइन्छ। सुदूरपश्चिममा कै रमेश लेखेक गृहमन्त्री भएकाले उनलाई गृह सचिवको प्रबल दाबेदारको रूपमा लिएको हो। भलाद्मी स्वभावका सिंह बालकृष्ण खाँणको पालामा पनि गृह सचिव भएका थिए। आरक्षणबाट उपसचिव र सहसचिव भएका कर्णलाई गृह सचिवमा सिंहले रोक्न सक्ने सम्भावना देखिन्छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग निकट सम्बन्ध भएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेल गृह सचिवका अर्का प्रतिस्पर्धी हुन्। आरजुसँग निकट रहेकै कारण उनी अर्थ सचिव बनेको चर्चा अझै सेलाएको छैन। अर्थ जस्तै गृह सचिव बन्न पोखरेल पनि लागिपरेको पाइन्छ।

शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले पनि गृह सचिवका प्रतिस्पर्धी हुन्। अपांग कोटाबाट सहसचिव बनेका काफ्ले शिक्षाका उपसचिव हुन्। शिक्षाका टेकनारायण पाण्डे गृह सचिव बनेका थिए। पाण्डेपछि गृह सचिव बन्ने लाइनमा काफ्ले रहेको पाइन्छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका गोकर्णमणि दुवाडी पनि गृहसचिव बन्न मरिहत्ते गरेको लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो। उनी कांग्रेसी नाता लगाउँदै गृहमा जाने दाउमा लागेको चर्चा छ।

क्याटेगोरी : समाचार
ट्याग : #अर्जुनप्रसाद पोखरेल, #कृष्णहरि पुष्कर कर्ण, #डा. दिपक काफ्ले सचिव, #मुकुन्दप्रसाद निरौला सचिव, #विनोदप्रकाश सिंह, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ