यी हुन् उपसचिवमा कोटा प्रयोग गरेर सहसचिव हुनेहरू


काठमाडौं। सरकारी सेवा खासगरी निजामती सेवामा आरक्षण (कोटा) प्रणालीका विभिन्न रूप देखा परेका छन्। आर्थिक, समाजिक र शैक्षिक रूपले पहाडि परेकाले सरकारी सेवामा दिइने भनिएको आरक्षण विभिन्न रूपले उपयोग गरिएको पाइएको हो।

स्वास्थ्य लाइभको खोजीमा शाखा अधिकृतमा मात्रै कोटा प्रयोग गर्ने, उपसचिवमा मात्रै कोटा प्रयोग गर्ने, सहसचिवमा मात्रै कोटा प्रयोग गर्ने, शाखा अधिकृत, उपसचिव र सहसचिवमै कोटा प्रयोग गर्ने, शाखा अधिकृत र सहसचिवमा कोटा प्रयोग गर्ने तथा उपसचिव र सहसचिवमा कोटा प्रयोग गर्ने फेला परेका छन्। अहिले भने उपसचिवमा मात्र कोटा प्रयोग गरेर सहसचिव भएकाहरूको विषयमा चर्चा गर्न लागेका छौं।

उपसचिवमा मात्र कोटा प्रयोग गर्ने सहसचिवहरूमा रामबहादुर कुरुम्बाङ, गीताकुमारी होमेगाई, यमुना प्रधान, धर्मेन्द्रकुमार मिश्र, रुद्रसिंह तामाङ, रितेशकुमार शाक्य, बुद्धबहादुर गुरुङ र गोगनबहादुर हमाल रहेका छन्। उपसचिवमा मात्रै कोटा प्रयोग गरेर सहसचिव बन्नेहरू हाम्रो जानकारीमा नआएका अरू पनि हुन सक्छन्।

रामबहादुर कुरुम्बाङ्ग २०६७ जेठमा आदिवासी/जनजाति कोटाबाट उपसचिव बनेका हुन्। हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालय प्रमुख रहेका कुरुम्बाङ्ग सहसचिव भने बढुवा मार्फत भएका हुन्। कार्यक्षमता मूल्याङ्कनका आधारमा रामबहादुर कुरुम्बाङ्ग २०७८ पुसमा सहसचिवमा बढुवा भएका हुन्।

 

हाल लोक सेवा आयोगकी प्रवक्ता रहेकी गीताकुमारी होमेगाई पनि उपसचिवमा मात्र कोटा प्रयोग गर्नेमा पर्छिन्। उनी पनि कुरुम्बाङ्गसँगै २०६७ जेठमा महिला कोटाबाट उपसचिव बनेकी थिइन्। एउटै मितिमा महिला कोटाबाट उपसचिव बनेकी आभा श्रेष्ठ कर्ण मधेशी कोटाबाट सहसचिव बनेपनि होमेगाई आन्तरिक प्रतिस्पर्धाबाटै सहसचिव बन्न सफल भइन्। गीता २०७४ बैशाखमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बन्न सफल भएकी हुन् ।

भन्सार विभागको उपमहानिर्देशक रहेकी यमुना प्रधान महिला कोटाबाट उपसचिव भएकी थिइन्।  सहसचिव भने बढुवा मार्फत भएकी उनका श्रीमान प्रेमकुमार श्रेष्ठ सहसचिवबाटै अवकाश पाएकाले यमुना आरक्षण प्रयोग गर्ने वर्गमा पर्छिन् कि पर्दिनन् त्यो भने बहसको विषय हो।

कैलालीको प्रमुख जिल्ला अधिकारी रहेका धर्मेन्द्रकुमार मिश्र पनि उपसचिवमा मात्रै कोटा प्रयोग गर्नेमा पर्छन्। उनी २०६८ वैशाखमा मधेशी कोटाबाट उपसचिव भएका हुन्। धर्मेन्द्र मधेशी कोटाबाट राजस्वको उपसचिव बनेका थिए। धर्मेन्द्रले मधेशी कोटाबाट सहसचिवमा नाम निकालेपनि अन्तर्वार्तामा असफल भएका थिए। फेरि २०७७ असारमा धर्मेन्द्र आन्तरिक प्रतिस्पधाबाट सहसचिव भए।

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा लागेर निलम्बन परेका सहसचिव रुद्रसिंह तामाङ उपसचिवमा कोटाबाट आएका हुन्। उनी २०६६ मंसिरमा आदिवासी/जनजाति कोटाबाट उपसचिव बनेका थिए। रुद्रसिंह २०७१ माघमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव हुन्।

अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सहसचिव रितेशकुमार शाक्य कोटा प्रयोग गरेर उपसचिव बन्नेमा पर्छन्। आदिवासी/जनजाति कोटाबाट रितेश २०६७ जेठमा लेखाको उपसचिव बनेका थिए। सहसचिव भने उनी आन्तरिक प्रतिस्पर्धाबाट भएका हुन्। गीताकुमारी र रितेश २०७४ वैशाखमा एकैपटक आ.प्र.बाट सहसचिव भएकाे देखिन्छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ पनि उपसचिवमा आरक्षणको लाभ लिनेमा पर्छन्। २०७० जेठमा आदिवासी/जनजाति कोटाबाट उनी उपसचिव बनेका थिए। सहसचिवमा आदिवादी/जनजाती लिखितमा नाम निकाले पनि अन्तर्वार्ता भने उनी पटकपटक असफल भएको देखिन्छ। बुद्धबहादुर २०७७ असारमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख गोगनबहादुर हमाल कोटा प्रयोग गरेर उपसचिव भएका हुन्। मेकानिल इन्जिनियर हमाल पिछडिएको क्षेत्रबाट २०७४ साउनमा प्रशासन तर्फको उपसचिव बनेका थिए। सहसचिवमा भने उनले खुला प्रतिस्पर्धाबाट नाम निकाले। गोगन २०७५ जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन्।

आरक्षण एउटा व्यक्तिले एकपटक मात्र प्रयोग गर्नु ठूलो ‘इस्यु’ होइन यसलाई स्वभाविक रूपमा लिनुपर्छ । हाम्रो कुरा पनि एउटा व्यक्तिले एकपटक मात्र आरक्षण पाउनुपर्छ भन्ने हो। त्यो पनि ‘इन्ट्री प्वाइन्ट’ मा मात्र। तर, उसको आर्थिक, सामाजिक र शैक्षिक हैसियत हेरेर वा मापन गरेर मात्र आरक्षण दिनुपर्छ। आरक्षणका लागि आवश्यक मापदण्ड बनाउन ढिला भइसकेको छ। अब सरकार र सरोकारवाला निकायले यसमा विशेष ध्यान दिनुपर्ने बेला भइसकेको देखिन्छ।

उपसचिवमा मात्र कोटा प्रयोग गर्ने सहसचिवहरू

१,रामबहादुर कुरुम्बाङ,

२, गीताकुमारी होमेगाई,

३, यमुना प्रधान,

४,धर्मेन्द्रकुमार मिश्र,

५,रुद्रसिंह तामाङ,

६,रितेशकुमार शाक्य,

७, बुद्धबहादुर गुरुङ,

८, गोगनबहादुर हमाल,

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #उपसचिवमा मात्र कोटा प्रयोग गर्ने सहसचिवहरू, #गीताकुमारी होमेगाई, #गोगनबहादुर हमाल, #धर्मेन्द्रकुमार मिश्र, #बुद्धबहादुर गुरुङ, #यमुना प्रधान, #रामबहादुर कुरुम्बाङ, #रितेशकुमार शाक्य, #रुद्रसिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ