कानुनतिर २ सचिव बढुवा भए प्रशासनमा ३ जना बढुवाको लाइनमा


काठमाडौं । कानुनतिरका दुई सचिव जाने र आउने भइसकेको छ। लीलादेवी गडतौला र तोयनाथको ठाउँमा नयाँ सचिव आइसकेका छन्। गडतौला मुख्यसचिव भएपछि रिक्त उक्त ठाउँमा आलोकचन्द्र श्रेष्ठ सचिव बढुवा भइसकेका छन्। उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको भूमिकामा काम गर्न थालिसकेका छन्। गडतौलापछि सचिवमा बढुवा भएका तोयनाथ अधिकारीले राजीनामा दिएपछि रिक्त उक्त पदमा पाराश्वर ढुंगाना बढुवा भइसकेका छन्। उनी पनि नेपाल कानुन आयोगको सचिवमा पदस्थापन भएर काम गरिरहेका छन्। ५ वर्षे सेवा अवधिका कारण जेठमा अवकाश पाउन लागेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको ठाउँमा वरिष्ठ सहसचिव निर्मला अधिकारी भट्टराई बढुवा हुने निश्चित छ।

प्रशासन तर्फको ३ सचिवमा बढुवाको तयारी भइरहेको छ। राजीनामा दिएका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली र मुख्यसचिवमा बढुवा भएका एकनारायण अर्यालको ठाउँ रिक्त छ। ‘लुकाइएको’ भनिएको एक सचिव पदमा बढुवाका लागि कमलप्रसाद पोखरेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएको छ।

सहसचिव पोखरेल अहिलेका सचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल, चूडामणि पौडेल, हरिप्रसाद लम्साल केदारनाथ शर्मा र लोकनाथ पौड्यालभन्दा वरिष्ठ रहेकाले उनकै बढुवा हुने सम्भावना देखिन्छ। नेपाल शिक्षा सेवा विविध समूहबाट सचिव बनेका सूर्यप्रसाद गौतम अवकाश भएपछि उक्त सचिव पद लुकाइएको र त्यसै ठाउँमा पोखरेल, कार्की र पन्थलाई बढुवाका लागि सिफारिस गरिएको बताइन्छ। पोखरेल पनि नेपाल शिक्षा सेवा विविध समूह कै सहसचिव हुन्।

बरियता नमिची सचिवको बढुवा भयो भने तोयनारायण ज्ञवालीको ठाउँमा बागमती प्रदेशका कायममुकायम प्रमुख सचिव गोविन्दबहादुर कार्की सचिवमा बढुवा हुनेछन्। उनको बागमती प्रदेशमै पदस्थापना हुने उच्च सम्भावना छ। मुख्यसचिवमा बढुवा भएका एकनारायण अर्यालको ठाउँमा भने लुम्बिनी प्रदेशका कायममुकायम प्रमुख सचिव महादेव पन्थ बढुवा हुनेछन्। उनको पनि लुम्बिनीमै पदस्थापन हुने देखिन्छ।

अहिले राष्ट्रिय योजना आयोग र गृह मन्त्रालयमा सचिव पद रिक्त छ। अर्को एक सचिव पद रिक्त देखाएर बढुवाका लागि लोक सेवा आयोगले नै सिफारिस गरिसकेको छ। प्रदेशमा प्रमुख सचिव बनेर काम गरिरहेका गण्डकीकी लक्ष्मीकुमारी बस्नेत, कर्णालीका चूडामणि पौडेल र सुदूरपश्चिम प्रदेशका हरिप्रसाद लम्साल संघमा आउने लाइनमा रहेका छन्। प्रशासन तर्फको एक सचिव बढुवा र राष्ट्रिय योजना आयोग र गृह मन्त्रालयको रिक्त सचिव सरूवा एकैपटक हुने सम्भावना छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #आलोकचन्द्र श्रेष्ठ, #एकनारायण अर्याल, #कमलप्रसाद पोखरेल, #गोविन्दबहादुर कार्की, #डा. हरिप्रसाद लम्साल, #तोयनाथ अधिकारी, #तोयनारायण ज्ञवाली, #पाराश्वर ढुंगाना सचिव नेपाल कानुन आयोग, #महादेव पन्थ, #लीलादेवी गड्तौला, #सचिव लक्ष्मीकुमारी बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ