लोक सेवा आयोगको नेतृत्वमा पुगेका महिला


काठमाडौं। लोक सेवा आयोगको स्थापना भएपछि ६ जना महिला पदाधिकारी भएकाे पाइन्छ। बिक्रम सम्बत् २००८ सालमा स्थापना भएको लोक सेवा आयोगको ७३ वर्षीय इतिहासमा ६ जना महिला पदाधिकारी बनेका छन्। तीमध्ये कयोदेवी येमी त सदस्य, कार्यवाहक अध्यक्ष हुँदै अध्यक्ष हुन सफल भइन्। अहिलेसम्म उमा पाण्डे, उर्मिला श्रेष्ठ, विजया केसी, कयोदेवी येमी, बिन्द्रा हाडा भट्टराई, मञ्जु कुमारी महिलाबाट प्रतिनिधित्व गरेर लोक सेवा आयोगको पदाधिकारी बन्न सफल भएका छन्।

लोक सेवा आयोगमा महिलाबाट पहिलोपटक प्रतिनिधित्व गर्ने व्यक्ति हुन् उमा पाण्डे। लोक सेवा आयोगका पूर्व सदस्य अशोककुमार झाका अनुसार उनी २०४१ सालतिर लोक सेवा आयोगको सदस्य बनेकी हुन्। उमा प्रख्यात चिकित्सक मृगेन्द्रराज पाण्डेकी श्रीमती हुन्। मृगेन्द्र तत्कालीन राजा महेन्द्रराजको निजी चिकित्सक समेत भएर काम गरेका ख्यातिप्राप्त व्यक्ति हुन्। डा. मृगेन्द्रराजकी श्रीमती उमा लोक सेवा आयोगको पहिलो महिला पदाधिकारी (सदस्य) रहेको दाबी गरिएको छ।

उमापछि उर्मिला श्रेष्ठ लोकसेवामा पुग्ने अर्की महिला हुन्। उनी २०५९ वैशाख ५ गतेदेखि २०६५ वैशाख ५ गतेसम्म लोक सेवा आयोगको सदस्य रहेकी थिइन्। उर्मिलाले ६ वर्षे पूरा अवधि लोक सेवा आयोगमा बिताएको देखिन्छ।

उमा र उर्मिलापछि विजय केसी महिलाबाट लोक सेवा आयोगको सदस्य बनेको देखिन्छ। विजय २०६१ पुस २६ गतेदेखि २०६४ वैशाख १० गतेसम्म लोक सेवा आयोगको सदस्य रहेकी थिइन्। विजयले लोक सेवा आयोगमा पूरा कार्यकाल बिताएको पाइँदैन। उनले करिब साढे ३ वर्ष लोक सेवा आयोगको सदस्य भएर काम गरेकी थिइन्।

उमा, उर्मिला र विजयपछि लोक सेवा आयोगको पदधिकारी बनेकी कयोदेवी येमीले पूरा ६ वर्ष अवधि आयोगमा बिताएकी थिइन्।  येमी लोक सेवा आयोगको सदस्य, कार्यवहाक अध्यक्ष हुँदै महिलाबाट पहिलो अध्यक्ष बनेर ‘रेकर्ड’ कायम गरेकी छिन्। २०६५ फागुन ५ गते लोक सेवा आयोगको सदस्य बनेकी येमीले एक महिनापछि २०६५ चैत १० गते लोक सेवा आयोगको कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएकी थिइन्। तीर्थमान शाक्य आयोगबाट बिदाई भएपछि उनले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाएकी थिइन्। ५ वर्ष लामो कार्यवहाक चलाएपछि येमीले २०७० वैशाख २५ गतेदेखि फागुन ५ गतेसम्म झन्डै १० महिना आयोगको अध्यक्ष भएर काम गरिन्।

बिन्द्रा हाडा भट्टराईले २०७१ चैत ११ गतेदेखि २०७७ चैत १० गतेसम्म लोक सेवा आयोगको सदस्य भएर काम गरेकी थिइन्। उनी महिलाबाट लोक सेवा आयोगको सदस्य बन्ने चौथो व्यक्ति हुन्। नेपाल सरकारको सचिवबाट अवकाश पाउनेवित्तिकै बिन्द्रा लोक सेवा आयोगको सदस्य बनेकी थिइन्।

हाल लोक सेवा आयोगको सदस्य मञ्जु कुमारी छिन्। संवैधानिक निकायमा महिलाको अनिवार्य प्रतिनिधित्व गराउने संवैधानिक मूल्य, मान्यता र मक्षतका कारण मञ्जु कुमारी लोक सेवा आयोगको सदस्य बन्न पाएकी हुन्। अब भने लोक सेवा आयोग जस्ता सवैधानिक निकायमा महिलाको अनिवार्य रूपमा प्रतिनिधित्व हुनेछ।

अहिले त लोक सेवा आयोगको प्रवक्ता पनि गीताकुमारी होमेगाई (महिला) नै रहेकी छिन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #उमा पाण्डे, #उर्मिला श्रेष्ठ, #कयोदेवी येमी, #बिन्द्रा हाडा भट्टराई, #मञ्जु कुमारी, #लोक सेवा आयोग, #विजय केसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ