स्वास्थ्य सचिवको भूमिकामा रहेर काम गरिसकेका महिलाहरू


काठमाडौं। स्वास्थ्य सचिवको भूमिकामा रहेर अहिलेसम्म चार महिलाले काम गरिसकेका छन्। डा. सुधा शर्मादेखि देवकुमारी गुरागाईसम्म आइपुग्दा महिलाबाट चारजना स्वास्थ्य सचिव बनिसकेका छन्। महिलाबाट पाँचौं स्वास्थ्य सचिव हुने लाइनमा डा. संगिता कौशल मिश्र रहेकी छिन्। उनी सचिव भइन् भने महिलाबाट पाँचौं स्वास्थ्य सचिव बन्नेछिन्।

प्रधानमन्त्री केपी शर्मा ओली महिलालाई अघि सार्नुपर्छ भनेर लागिपर्ने व्यक्ति हुन्। उनले सचिवमा नौं औं नम्बरमा रहेकी लिलादेवी गडतौलालाई मुख्यसचिव बनाइदिए। नेपाल टेलिकमको एमडीमा पनि प्रधानमन्त्री ओलीले महिला भएकै कारण संगिता पहाडी अर्याललाई नियुक्त गरे। हालै महिलालाई चाँडै प्रधानमन्त्री बनाउने उद्घोष गरेका प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा रहिरहे भने संगितालाई स्वास्थ्य सचिव बनाउने निश्चित छ।

प्रधानमन्त्री ओलीले सभामुख, प्रधानन्यायाधीश, राष्ट्रपति, मुख्यसचिवसम्म आफूले महिलालाई बनाएको ‘जस’ लिँदै आएका छन्। टेलिकमको एमडी भर्खरै महिलालाई बनाए। स्वास्थ्यमा वरिष्ठ अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा महिला नै भएकाले उनी यो मौका सदुपयोग गर्न पछि पर्दैनन्। त्यसैले स्वास्थ्यले महिलाबाट पाँचौं सचिव पाउने सम्भावना देखिन्छ। प्रधानमन्त्री ओलीले महिला सचिवहरुलाई खोजीखोजी ठाउँ दिन थालेका छन्। राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि सचिव बनाएका उनले प्रमिला शाक्य बज्रचार्यलाई खानेपानी सचिवको जिम्मेवारी दिए। सिंचाई सचिव सरिता दुवाडीलाई त्यहाँबाट अन्यत्र चलाउन दिएनन्। परराष्ट्र सचिवको भूमिकामा सेवा लम्साल छिन्। लक्ष्मीकुमारी बस्नेतलाई पनि संघमा ल्याएर प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण जिम्मेवारी दिने उच्च सम्भावना छ।

स्वास्थ्यमा सचिव बनेर ‘रेकर्ड’ कायम गर्ने महिला हुन् डा. सुधा शर्मा। शर्माको नेतृत्वको कुनै पुरूषको भन्दा कम थिएन। सुधापछि महिलाबाट स्वास्थ्य सचिव बनेकी डा. किरण रेग्मी पनि स्वास्थ्यमा बसेर काम गरिन्। गगनकुमार थापा जस्ता जुझारू व्यक्ति स्वास्थ्यमन्त्री भएका बेला किरण स्वास्थ्य सचिवको भूमिकामा थिइन्। उनी राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको सुपुत्री समेत हुन्।

स्वास्थ्यमा महिलाबाट सचिवको जिम्मेवारी लिने तेस्रो व्यक्ति हुन् डा. पुष्पा चौधरी। चौधरीपछि देवकुमारी गुरागाई स्वास्थ्य सचिवको भूमिकामा आइन्। गुरागाईपछि पनि स्वास्थ्यमा महिला सचिव नै आउने सम्भावना जीवितै देखिन्छ। स्वास्थ्यमा नीतिगत तहमै महिला हरूको उल्लेख्य र सशक्त उपस्थिति रहेको पाइन्छ।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पनि महिलाबाट ३ जनाले नेतृत्व गर्ने मौका पाए। डा. सरला मल्ल, डा. पुष्पा चौधरी र डा. संगिता कौशल मिश्राले नेतृत्व गर्ने मौका पाएका हुन्। विभागमा अहिले महानिर्देशकको भूमिको डा. संगिता रहेकी छिन्।

महिलाबाट हालसम्मका स्वास्थ्य सचिव

१, डा. सुधा शर्मा

२, डा. किरण रेग्मी

३, डा. पुष्पा चौधरी

४, देवकुमारी गुरागाई

महिलाबाट महानिर्देशक

१, डा. सरला मल्ल

२, डा. पुष्पा चौधरी

३, डा. संगिता कौशल मिश्रा

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : #डा. किरण रेग्मी, #डा. पुष्पा चौधरी, #डा. संगिता कौशल मिश्र, #डा. सरला मल्ल, #डा. सुधा शर्मा, #देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ