गोकर्णमणि दुवाडी बने गृहसचिव


काठमाडौं । गृहसचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार दुवाडीलाई गृहसचिवको जिम्मेवारी दिइएको हो।

परराष्ट्रमन्त्री आरजु राणा देउवाको चाहनामा दुवाडीलाई गृहमन्त्री रमेश लेखक गृहसचिवमा ल्याएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर गृहसचिव बनाउने गरी बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा कुरा भएको थियो। सोही अनुसार दुवाडीलाई गृहसचिव बनाइएको हो।

गृह मन्त्रालयको नीतिगत तहमा बसेर खासै काम नगरेका दुवाडीलाई गृहसचिव चलाउन चुनौतीपूर्ण रहेको प्रधानमन्त्री कार्यालय कै उच्च अधिकारीहरू दाबी गर्छन्। उनी यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सचिव बढुवामा पटकपटक सिफारिस हुँदा पनि पाँचौंपटकमा मात्र सचिव बढुवा भएका थिए। अहिले ओलीकै पालामा दुवाडी गृहसचिव बन्न सफल भएका छन्। दुवाडी हाल राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी छन्। तथ्याङ्क कार्यालयबाटै तोयम राया महालेखापरीक्षक बनेका थिए। दुवाडीले पनि गृह जस्तो राम्रै ठाउँ पाएका हुन्।

सचिवमा बढुवा भएपछि मधेश प्रदेशको प्रमुख सचिव बनेका दुवाडी साइकल खरिद घोटालामा ‘बालबाल’ जोगिएका थिए। निर्वाचन आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको भूमिकामा रहेर काम गरिसकेका दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय हुँदै गृह मन्त्रालय पुग्न सफल भएका छन्।

गृहसचिव बन्न महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय कृष्णहरी पुष्कर कर्ण र राजकुमार श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल, शिक्षा मन्त्रालयका दिपक काफ्लेलगायत गृहसचिवको ‘लिगलिगे’ दौडमा लागेका थिए। अन्ततः गोकर्णमणि दुवाडी बाँकी मारेका छन्। राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी र गृहसचिव बनेका गोकर्णमणि दुवाडी दुबै धादिङका हुन्। उनीहरु नजिकैको नातादार हुन्। अन्य प्रतिस्पर्धीलाई गृहमा छिर्न नदिन उनीहरुले आफूबीच नै तीव्र प्रतिस्पर्धा जस्तो देखाएको टिप्पणी हुन थालेको छ। नारायण गृह बुझेका सचिव हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णमणि दुवाडी गृहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ