मुख्यसचिवलाई साक्षी राखेर प्रधानमन्त्रीले भने, ‘कर्मचारीको तलब बढाउन सकिँदैन’


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव एकनारायण अर्याललाई साक्षी राखेर कर्मचारीको तलब बढाउन नसकिने बताएका छन्। २१ औं निजामती सेवा दिवसको अवसरमा शनिबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका हुन्।

अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनखा वृद्धि गरिदिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको प्रस्ट पारे। प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘देशको अर्थतन्त्रले गर्दा तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था छैन। कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनखा वृद्धि गर्न सकिँदैन।’, अहिले मनलाई दह्रो बनाई कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसकेपछि पारिश्रमिक र सुविधा पनि बढ्ने उनको भनाइ छ।

सर्वोच्च अदालतले कर्मचारीको तलब बढाउने सरकारलाई आदेश दिएको थियो। तर, प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई साक्षी राखेर अदालतको फैसलालाई चुनौती दिँदै कर्मचारीको तलब बढाउन नसकिने जिकिर गरेका हुन्।

प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको आरोप लगाए। नियोजित र प्रायोजित रुपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको उनको टिप्पणी छ।

निजामती दिवसको अवसरमा प्रधानमन्त्री ओलीले विषय, प्रसंगबाहिर गएर नेकपा माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई छेडखानी गरेका छन्। निजामती सेवा दिवसको कार्यक्रम कर्मचारीसँग सम्बन्धित रहेर बोल्नु पर्नेमा उनले आफ्नो भाषणमा राजनीतिक कुरा गरेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ