ढुण्डिराज लामिछानेलाई १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार


काठमाडौं । यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार राष्ट्रिय तथ्याङ्क कार्यालयका वरिष्ठ निर्देशक ढुण्डिराज लामछिानेलाई प्रदान गरिएको छ। निजामती सेवा दिवशका अवसरमा शनिबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछानेलाई सो पुरस्कार प्रदान गरेका हुन्। गतवर्ष २० औं निजामती सेवा दिवसका अवसरमा सरकारले लामिछानेलाई सो पुरस्कार दिने घोषणा गरेको थियो। १ लाख रुपैंया राशीको पुरस्कारसहित प्रमाणपत्र प्रधानमन्त्री ओलीले लामिछानेलाई हस्तान्तरण गरेका हुन्।

झापा दमक निवासी लामिछाने करिब ३ दशकदेखि तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग र हालको राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयको जनसंख्या शाखाका प्रमुख लामिछानेको नेतृत्वमा राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको थियो। कोभिडको महामारी शान्त भइनसक्दै गरिएको सो जनगणना सफलतापूर्वक सम्पन्न भएको थियो। लामिछानेले कोभिडविरुद्धका सावधानी अपनाएर करिब ५० हजार जनशक्तिलाई घरघरमा पुगेर तथ्याङ्क संकलन गर्ने टिमको नेतृत्व गरेका थिए। सरकारले विषम परिस्थितीमा पनि जनगणना जस्तो चुनौतिपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गरेको भन्दै गत वर्ष उनलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।

लामिछानेले उक्त पुरस्कारमा त्यती नै रकम थपेर आफ्ना स्वर्गीय बुबा आमाको नाममा अक्षय कोष स्थापना गरेर समाजसेवा गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आमा रनकुमारी र बुबा माधवप्रसादको नाममा कुनै खास क्षेत्रका गरिब, जेहन्दार, श्रमशिल व्यक्तिलाई वार्षिक रुपमा पुरस्कार दिने घोषणा  गरेका हुन्  अक्षयकोषको राशी वार्षिक रुपमा वृद्धि गर्दै जाने लामिछानेको जानकारी दिए।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ