चलखेलले गर्दा स्वास्थ्यको सरुवा रोकियो!, ´स्वार्थले कर्मचारीको मनोबल कमजोर पार्ने छुट मन्त्रीलाई छैन´


काठमाडौँ ।  स्वास्थ्यको सरुवामा चलखेल हुँदा सरुवा रोकिएको छ। प्रदीप पौडेल मन्त्री भएर आएयता धेरै पटक सरुवाको तयारी भएको थियो। तर, उनले सरुवा गर्न सकेनन् । मन्त्री भएको एक महिनापछि मात्रै कर्मचारी सरुवा गर्ने सल्लाह गरेर पौडेल बसेका थिए। असार अन्तिममा मन्त्री भएका पौडेलले अहिलेसम्म सरुवा गरेका छैनन्। यसको मुख्य जड चलखेल नै हो।

स्वास्थ्यमन्त्री पौडेललाई  कर्मचारी व्यवस्थापनका क्षेत्रमा उच्च तहको हस्तक्षेप देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, आरजु राणा देउवा, डा. शेखर कोइरालासम्मको दबावले गर्दा उनले कर्मचारी चलाउन सकेका छैनन्। मन्त्रालयका एक अधिकारीले बताए अनुसार एक महिनापछि गर्ने भनिएको सरुवा अहिलेसम्म हुन नसक्दा यत्रतत्र आशंका उब्जिएका छन्।

एक महिनामा सरुवा गर्छु भनेर गर्न सकेका छैनन्। मन्त्रीको चलखेलले कर्मचारी प्रताडित छन्। ‘सरुवा गर्ने भए धमाधम गर्नु पर्छ, हैन भने काम गर्न स्पष्ट निर्देशन दिनुपर्छ।’, मन्त्रालयका कर्मचारीहरू भन्छन्। अर्का एक कर्मचारीले अघि थपे, ‘मन्त्री आफै चलखेलमा लागे भन्ने लाग्दैन तर, उनका अघि-पछि हिँड्नेहरू सलबलाएको हुनसक्छन्।’,  रङ्ग न  ढङ्गका व्यक्ति सचिवालयमा राख्नु नै  मन्त्रीका लागि दुर्भाग्य भएको छ ।

सचिवालयमा गतिलो टिम नभएकाले पनि मन्त्रीलाई उच्च तहबाट हस्तक्षेप हुन थालेको हो। काम गर्नका लागि कर्मचारी सरुवा गर्नै पर्छ भन्ने छैन। अहिले मन्त्रालय विभाग र महाशाखामा भएका जत्तिको टिम  मन्त्रीले सरुवा गरेर पनि जुटाउन सक्दैनन्।

अधिकारीहरू भन्छन्, ‘चलाउन खोजेका कर्मचारीहरुको विषयमा नचलाउन दबाव आएको अनुभूति भएको छ। अब मन्त्रीले काम देखाउने भए कसैलाई सरुवा गर्दिन तपाईँहरूबाट काम लिन्छु भनेर अगाडि बढ्नु पर्छ।’, मन्त्रीले कर्मचारीमा विश्वासको वातावरण मिलाउनु पर्छ।

नयाँ कार्यक्रम लान नयाँ कर्मचारीको व्यवस्थापन गर्नु ठिक छ तर कर्मचारी सरुवाको अनावश्यक हल्ला पिटेर उनीहरूको  मनोबल गिराउने छुट मन्त्रीलाई छैन। यदि यही गतिमा मन्त्री अगाडि बढे कर्मचारीले पनि दैनिक काम कारबाही मात्रै गरेर बस्नु उचित हुन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ