७० साले सहसचिवहरू प्रदेशको प्रशासनिक नेतृत्वमा छाउँदै


काठमाडौं । प्रदेश सरकारको प्रमुख सचिवमा ७० साले सहसचिवहरू छाउन थालेका छन्। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशको प्रशासनिक नेतृत्वमा ७० साल चैतका सह सचिव रहेका छन्। सुदूरपश्चिम वा कर्णाली सालमा पनि २०७० चैत कै सहसचिव प्रमुख सचिवको भूमिकामा जाने सम्भावना छ।

२०७० साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट केदारनाथ शर्मा, लोकनाथ पौड्याल, गोविन्दबहादुर कार्की, महादेव पन्थ, रघुराम विष्ट, बाबुराम अधिकारी, प्रेमकुमार श्रेष्ठ र काशीराज दाहाल सहसचिव भएका थिए। उनीहरूमध्ये श्रेष्ठ र दाहाल ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्। बाँकी ६ जना सहसचिवहरू एकपछि अर्को गर्दै प्रदेश सरकारको प्रशासनिक नेतृत्वमा पुग्न थालेका छन्।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेर बागमती प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ। कार्की त्योभन्दा अगाडि बागमती प्रदेशकै कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा थिए। गण्डकी प्रदेशको प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतको सरूवा उपराष्ट्रपति कार्यालयमा भइसकेको छ। गण्डकीमा ७० साले सहसचिव रघुराम विष्ट कायममुकायम प्रमुख सचिव हुने निश्चित छ। किनकी उनको सरूवा यसअघि नै गण्डकी प्रदेशमा भइसकेको छ।

अहिले २०७० साले सहसचिव केदारनाथ शर्मा कोशी प्रदेशको प्रमुख सचिवको भूमिकामा छन्। शर्मा कै ‘ब्याची’ सहसचिव लोकनाथ पौड्याल मधेश प्रदेशको प्रमुख सचिव बनेर गएका छन्। बागमतीमा कार्की र लुम्बिनीको कायममुकायम प्रमुख सचिव महादेव पन्थ रहेका छन्। गण्डकीमा जाने निश्चित भएका विष्ट र प्रदेश पठाउने सूचीमा रहेका बाबुराम अधिकारी पनि २०७० साल चैतका सहसचिव हुन्। प्रदेश सरकारको नेतृत्वमा एकपटक २०७० साल चैतका सहसचिवहरू छाउने अवस्था आएको छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काशीराज दाहाल, #केदारनाथ शर्मा, #गोविन्दबहादुर कार्की, #प्रेमकुमार श्रेष्ठ, #बाबुराम अधिकारी, #महादेव पन्थ, #रघुराम विष्ट, #लोकनाथ पौड्याल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ