सांसद दिपेन्द्रको पहलमा प्रसूति गृहले पायो एम्बुलेन्स र एनेस्थेसिया मेसिन


काठमाडौं। बागमती प्रदेशका प्रदेश सांसद दिपेन्द्र श्रेष्ठको पहल र योगदानमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)ले एम्बुलेन्स र एनेस्थेसिया मेसिन पाएको छ। प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत दिपेन्द्रले प्रसूति गृहलाई एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्रदान गरेका हुन्। ५७ लाख ९० हजार रुपैयाँको एम्बुलेन्स र एनेस्थेसिया मेसिन प्राप्त भएको प्रसूति गृहका निर्देशक श्रीप्रसाद अधिकारी बताए। एम्बुलेन्स सञ्चालनको अनुमति समेत प्राप्त गरिसकेकाले चाँडै सञ्चालनमा आउने उनको भनाइ छ।

बागमती प्रदेशका पूर्वपर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सक्रियतामा प्राप्त एम्बुलेन्स र एनेस्थेसिया मेसिनबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आउने सेवाग्राही लाभान्वित हुने निर्देशक अधिकारीको विश्वास छ। आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उनको धारणा छ। 

प्रदेश सरकारले संघीय अस्पतालमा सहयोग गर्नु हुँदैन भन्ने मान्यतालाई चुनौती दिँदै सांसद श्रेष्ठले उपकरण अभाव भएका प्रसूति गृह जस्ता अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गरेका छन्। कोरोनाकालमा कार्यविधि परिमार्जन गरेर स्वास्थ्य क्षेत्रमा सहयोग गर्न प्रस्ताव राखेको स्मरण गराउँदै उनले प्रसूति गृहले पाएको स्वास्थ्य सामग्री त्यसैको देन भएको बताए।

कोरोनाकालमा सिभिल अस्पताललाई झन्डै दुई करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका सांसद दिपेन्द्रले प्रसूतिलाई पनि आवश्यक एम्बुलेन्स र उपकरण हस्तान्तरण गरेका हुन्। प्रसूति गृहलाई आवश्यक पर्ने अन्य पूर्वाधारमा पनि सहयोग गर्न तयार रहेको उनको प्रतिबद्धता छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले प्रसूति गृहमा आउने सेवाग्राही (सुत्केरी)लाई ध्यानमा राखेर अस्पताल पछाडि प्रसूति पार्क बनाउन लागिएको बताए। उक्त पार्क निर्माणका लागि आफ्नो प्रस्तावमा काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ विनियोजन गरेको भन्दै उनले उक्त पार्कको परियोजनाले चाँडै मुर्त रुप लिने धारणा राखे। प्रसूति गृहमा आउने सुत्केरीलाई नुहाउन, लुगा सुकाउन, घाममा बच्चा सुताउन प्रसूति पार्क उपयोगी हुन्छ। त्यो पार्क बनाउने काम अगाडि बढिसकेको छ। अब त्यहाँ नेपालकै पहिलो र भव्य प्रसूति पार्क बन्छ।’, वडाध्यक्ष तण्डुकारले भने।

ललितपुर र काठमाडौंमा रहेका प्रसूति अस्पतालका भवन र सेवालाई सहज हुने गरी मान्छे मात्र हिँड्न मिल्ने गरी बागमती नदीमा पुल हाल्न लागिएको पनि वडाध्यक्ष तण्डुकारको भनाइ छ। उक्त पुल निर्माणका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए। अस्पताल निर्देशक अधिकारीले सेवा प्रवाहलाई सहज बनाउन ललितपुर र काठमाडौं जोड्ने बागमती नदीमा पुलको आवश्यकता रहेको कुरा ध्यानाकर्षण गराएपछि वडाध्यक्ष तण्डुकार र प्रदेश सांसद श्रेष्ठले उक्त पुल बनाएरै छाड्ने बचनबद्धता जाहेर गरे।

अस्पतालको पार्किड व्यवस्थापनका लागि समेत निर्देशक अधिकारीले सहयोगको अपेक्षा राखेका थिए। पार्किङको विषयमा भने वडाध्यक्ष तण्डुकारले भवन बनाउने बेलामै गल्ती भएको बताए। भवनमा भूमिगत पार्किङ नभइ नक्सापास नगर्ने त्यो बेला आफूले अडान राखेको स्मरण गराउँदै वडाध्यक्ष तण्डुकारले आफूले भनेको मानेको भए अहिले जस्तो पार्किङको समस्या नआउने दाबी गरे। तर पनि उनले प्रसूति गृहलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए।

एम्बुलेन्स तथा एनेस्थेसिया मेसिन हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ , वडाध्यक्ष हिरालाल तण्डुकार, वडासदस्यहरु सरोजकुमार मुल्मी, दिपेश राउत, आशा श्रेष्ठ, योसोमति परियार तथा स्थानीय बुद्धिजीवी, अस्पतालको सिंगो टिम, स्थानीय समाजसेवी, सरोकारवाला र स्थानीय बासिन्दा तथा बिरामीका आफन्तहरू उपस्थित रहेका थिए।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ