थापाथलीमा ‘प्रसूति पार्क’ निर्माणको काम अघि बढ्यो


काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)सँगै जोडिएको बागमती नदी किनारमा प्रसूति (सुत्केरी) पार्क निर्माणको काम अघि बढेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार (काका)को प्रस्ताव अनुसार बन्न लागेको ‘प्रसूति पार्क’को काम अघि बढेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य दिपेश राउतसहितका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले ‘प्रसूति पार्क’को फिल्ड निरीक्षण गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तण्डुकारले उक्त पार्क निर्माणका लागि काठमाडौं महानगरपालिकाले १० करोड रुपैयाँ बजेट विनियोजन गरेर काम सुरू गरेको बताए। ‘प्रसूति पार्क’ नेपाल कै नमूना बन्ने उनको भनाइ छ। ‘सुत्केरी पार्क’ निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने र उक्त पार्कबाट प्रसूति गृहमा आएका सुत्केरी महिला लाभ लिने वडाध्यक्ष तण्डुकारको विश्वास छ।

वडाध्यक्ष तण्डुकारले प्रसूति गृहमा आउने सेवाग्राही (सुत्केरी)लाई ध्यानमा राखेर अस्पताल पछाडि प्रसूति पार्क बनाउन लागिएको बताउँदै उक्त पार्क सुविधायुक्त हुने दाबी गरे।  प्रसूति गृहमा आउने सुत्केरीलाई नुहाउन, लुगा सुकाउन, घाममा बच्चा सुताउन प्रसूति पार्क उपयोगी हुन्छ। त्यो पार्क बनाउने काम अगाडि बढिसकेको छ। अब त्यहाँ नेपालकै पहिलो र भव्य प्रसूति पार्क बन्छ।’, वडाध्यक्ष तण्डुकारले भने। वडाध्यक्ष तण्डुकारको योजना, प्रस्ताव र निर्देशनमा प्रसूति पार्क निर्माणका लागि फिल्ड निरीक्षण गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ