मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव भीम उपाध्यायले सफाइ पाए

तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित ४ जना भ्रष्टाचारी ठहर


काठमाडौं। मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा दायर मुद्दामा तत्कालीन खानेपानी सचिव भीमप्रसाद उपाध्यायले सफाइ पाएका छन्। विशेष अदालतले उपाध्यायलाई सफाइ दिने फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उपाध्यायसहित १० जना प्रतिवादीलाई सफाइ दिएको छ। त्यस्तै गजेन्द्रकुमार ठाकुरसहित ४ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष ठाकुरसहित तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मा दोषी ठहर भएका छन् ।  उनीहरूमाथि असोज ७ गते सजाय निर्धारण हुनेछ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, रुद्रसिंह तामाङ र  चन्द्रबहादुर थापालाई सफाइ दिने विशेष अदालतको निर्णय छ। त्यस्तै मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई, उपकार्यकारी निर्देशक भोजबिक्रम थापा, लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन्।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार भएको भन्दै गत फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८९ करोड ८ लाख रुपैयाँ राज्यकोषमा नोक्सानी भएको अभियोगसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा सोमबार विशेष अदालतले फैसला गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ