न्यून तलबले प्रत्येक वर्ष विदेशिने चिकित्सक बढ्दै 


काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलको सन् २०२३ सम्मको तथ्याङ्क अनुसार २४ हजार ९१० चिकित्सक देशमा उत्पादन भएका छन । उनीहरू बिरामीको स्वास्थ्य उपचार गर्न सक्षम ठहरिएका छन् । जस मध्ये १० हजार ५८८ विशेषज्ञ चिकित्सक छन् । 

काउन्सिलको ४ वर्षको तथ्याङ्क अनुसार नेपालमा बर्सेनी करिब २०००–२५०० नयाँ चिकित्सक दर्ता हुने गरेका छन । तर विगत केही वर्षदेखि चिकित्सकहरू ठुलो सङ्ख्यामा विदेश पलायन भईरहेका छन् । विदेश पलायन हुनुको मुख्य कारण देशमा रोजगारीको अवसर नहुनु र जीवन धान्ने तलब सुविधा नहुनु हो । 

आकर्षक सेवा सुविधा स्वास्थ्यकर्मीलाई राज्यले दिन नचाहँदा विदेश पलायनको दर बिस्तारै बढ्न थालेको अधिकारीहरू बताउँछन् । नेपाल चिकित्सक सङ्घ, नर्सिङ सङ्घ लगायत स्वास्थ्यका अन्य सङ्घ सस्थाहरूले पनि चुनाबको समयमा सेवा सुविधाको कुरा झिक्ने त्यस पछिका दिनहरूमा सुतेर बस्नाले पनि समाधान नभएको हो । 

नेपाल मेडिकल काउन्सिलको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सन् २०२३ मा २६९२ नयाँ चिकित्सक दर्ता भएका थिए । सोही अवधीका काउन्सिलबाट विदेशमा अध्ययन र काम गर्न २३१८ जना चिकित्सकले असल चारित्रिक प्रमाणपत्र लिएका थिए ।

यसरी विदेश जाने सङ्ख्या वर्षेनी बढिरहेको छ । सन् २०२० मा ८६९ चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएकोमा, २०२१ मा १३२७, र सन् २०२२ मा १९५४ र सन् २०२३ मा २३१८ जनाले सो प्रमाणपत्र लिएका छन् । यसरी ४ वर्षको अवधिमा विदेश जाने प्रकृयामा लाग्ने चिकित्सकको सङ्ख्या २.६७ गुनाले बढेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ