नक्कली लाइसेन्स प्रकरणका नाइके लक्ष्मण पाण्डे कहाँ लुकेका छन्?


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर गरेका लक्ष्मण पाण्डे अझै फरार छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउन यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर पाण्डे प्रहरीलाई छल्न सफल भएका छन्। सिआईबीले नक्कली लाइसेन्स बनाउन भूमिका खेलेका पाण्डेलाई समेत प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा लिखत सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको दुई महिना बढी भइसकेको छ। तर, उक्त गिरोहका हर्ताकर्ता अभियुक्त पाण्डे अहिलेसम्म प्रहरीलाई गुमराहमा पार्न सफल भएका छन्। फरार अभियुक्त पाण्डेलाई समात्न प्रहरी समेत असफल भएको हो।

 

स्याङ्जा बिर्घाका लक्ष्मण पाण्डे यातायात कार्यालय बुटवलमा करारमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिए। नकक्ली लाइसेन्स बनाउन उनले विशेष भूमिका खेलेको सिआईबीको अभियोगपत्रबाट खुल्न आउँछ। यातायात कार्यालय बुटवल कै तत्कालीन कार्यालय प्रमुख केशव अर्याल, पदमराज आचार्य, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डेलगायत पक्राउ परेपछि लक्ष्मण पाण्डे ‘भूमिगत’ भएका थिए। अर्याल र आचार्यलगायतलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाइदिएपछि लक्ष्मण पाण्डे लापत्ता छन्।

अर्याललगायतलाई उच्च अदालत पाटनले समेत थुनामुक्त गर्न अस्वीकार गरेपछि लक्ष्मण पाण्डे बुटवलतिरै बसेर विभिन्न षड्यन्त्रमा लागेको दाबी गरिएको छ। अख्तियार, अदालत, सिआईबी सबै मिलाउँछु भन्दै हिँड्ने लक्ष्मण पाण्डे फरार अभियुक्त रहेका छन्। पाण्डे पक्राउ परे नक्कली लाइसेन्समा ठूला ‘माछा’ समेत फन्दामा पर्ने भएकाले उनलाई लुकाईएको आशंका छ।

फरार अभियुक्त लक्ष्मण पाण्डे

नक्कली लाइसेन्स प्रकरणका फरार अभियुक्त स्याङजा बिर्घाका लक्ष्मण पाण्डेलाई माथिल्लो तहकै राजनीतिक र प्रशासनिक संरक्षण रहेकाले उनी बुटवलतिरै ‘सान’ले घुमिरहेको विश्वस्त स्रोतले बतायो। राज्य संयन्त्र पैसाले किन्न सकिन्छ भन्ने लक्ष्मण पाण्डे अदालतसँग भने गलेको पाइन्छ। अहिलेसम्म उनी फरार अभियुक्त कै रूपमा रहनुले त्यो कुराको पुष्टि गर्छ।

पैसा खर्च गरेरै भएपनि लक्ष्मण पाण्डेले नक्कली लाइसेन्स छानबिन प्रक्रियालाई प्रभावित पार्न खोजेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नक्कली लाइसेन्स प्रकरणमा छानबिन थालेपछि पाण्डेको गिरोह सल्बलाउन थालेको पाइन्छ। प्रहरी प्रशासनले फरार अभियुक्त पाण्डेलाई तत्काल पक्राउ नगर्ने हो भने यसले गम्भीर प्रश्न खडा गर्छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #उपसचिव केशव अर्याल, #नक्कली लाइसेन्स, #नारायण पाण्डे नक्कली लाइसेन्स, #प्रविन भन्ने फानेश्वर सापकोटा, #लक्ष्मण पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ