भदौ मसान्तभित्रै राजनीतिक उथलपुथलको संकेत


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संविधान दिवस मनाएर असोज ५ गते अमेरिकाको न्युयोर्क तर्फ प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्र संघको महासभा बैठक सहभागी हुन न्युयोर्क प्रस्थान गर्नुअघि केही राजनीतिक उथलपुथलको संकेत मिलेको छ।

सत्तारूढ दल कांग्रेस-एमाले मिलेर उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी थालेका छन्। प्रधानन्यायाधीश, राष्ट्रिय समावेशी आयोग अध्यक्ष, निर्वाचन आयुक्तसहितका संवैधानिक नियुक्तिका लागि सत्तापक्षको बहुमत पुऱ्याउन रानालाई उपसभामुखबाट हटाउन खोजिएको चर्चा छ। संसद्मा उपसभामुख रानाको राजीनामा मागिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक शुक्रबार साँझसम्मलाई सारेका छन्।

सभामुख देवराज घिमिरेले बुधबार नै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिदिएका छन्। उपसभामुखको पदीय आचरणको विषयलाई संसद्‌मा गरमागर्मी बहस चलिरहेको छ। विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओली एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठित ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ म्याद १५ दिन थपिएको त्यति सन्तुष्ट छैनन्। उनले थापालाई भदौ मसान्तभित्रै प्रतिवेदन बुझाउन दबाव दिएको स्रोतको दाबी छ।

संसद् बैठक पनि भदौ मसान्तभित्रै अन्त्य गर्ने गरी तयारी भइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीको निशानामा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने परेका छन्। सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’को प्रतिवेदन पेस भएपछि उनीमाथि ठूलै एक्सन हुन सक्ने प्रधानमन्त्री निकट विश्वस्त स्रोतको दाबी छ। उपसभामुखतिर निशाना देखाएर अर्केतिर हान्ने तयारी भइरहेको लख काट्न थलिएको छ। त्यसैको सुइँको पाएर हुनुपर्छ लामिछानेले रातारात प्रधानमन्त्रीलाई भेटेका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कुरालाई ‘सिरियस्ली’ रुपमा लिन छाडिएको छ। तर, उनले आफू र बालेनलाई जेल हाल्नेसम्मको सरकारको योजना रहेको आशंका व्यक्त गरेका छन्। सत्तारुढ दलको बैठकमा सहभागी भएका जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकार साना पार्टीहरूलाई कसरी सखाप पार्ने योजनामा रहेको सार्वजनिक टिप्पणी गरेका छन्। संसद् बैठक स्थगित गरेर पार्टी फुटाउने अध्यादेश ल्याउने तयारीमा सरकार रहेको चर्चा चलिरहँदा सिके राउतको प्रतिक्रियाले यसलाई थप मलजल गरेको छ।

प्रधानमन्त्री ओली माधवकमार  नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई फुटाउने गरी अध्यादेश ल्याउने रणनीतिमा लागेको चर्चा छ। उक्त पार्टीका केेही सांसद पार्टी फुटाउन प्रधानमन्त्री ओलीसँग नियमित संवादमा रहेको बनाइन्छ। अध्यादेश आए त्यसले अन्य पार्टीलाई पनि असर पर्छ। केही पार्टी फुट्न सक्छन्।

उपसभामुख हटाएर संवैधानिक परिषद्मा बहुमत पुऱ्याउने सतारुढ दलको कसरत सुरू भएको छ। संसद् बैठक स्थगित गरेर दल फुटाउने अध्यादेशको तारतम्य मिलाउने प्रयास जारी छ। वैकल्पिक गठबन्धनको भित्रभित्रै प्रयास सुरू भएपछि त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले राजनीतिक र रणनीतिक ‘मुभ’ गर्न खोजेका छन्। भदौ मसान्तभित्रै वा प्रधानमन्त्री ओली न्युयोर्क उड्नु अगाडि मुलुकमा उथलपुथलको संकेत देखा परेको छ। यो उथलपुथलमा ओली अगाडि हुन्छन् कि प्रचण्डले भ्याउँछन् हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसभामुख इन्दिरा राना मगर, #प्रधानमन्त्री केपी शर्मा ओली, #संवैधानिक परिषद्

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ