सहकारी रकम दुरुपयोग छानबिन समितिले पूर्वरजिष्ट्रारहरूसँग सोधपुछ गऱ्यो


काठमाडौं। प्रतिनिधिसभाले बनाएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले द्रुत गतिमा काम गरिरहेको छ। प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा गठित समितिले केही दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरिरहेको हो। त्यसै सन्दर्भमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी विभागका पूर्वरजिष्ट्रारहरूलाई बोलाएर सोधपुछ गरेको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका संयोजक क्षेत्रीले सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानबिन गरिरहेको संसदीय छानबिन विशेष समितिले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरेको जानकारी दिएका छन्। त्यसका साथै अनुभवकेन्द्रित परामर्श र छलफल गरिएको उनले जनाएका छन्।

समितिका संयोजक क्षेत्रीले सहकारी विभागका तत्कालीन रजिष्ट्रारहरूले कानुनविपरीत सहकारी संस्थाको क्षेत्राधिकार विस्तार गर्न दिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले त्यो कुरा छानबिन प्रतिवेदनमा पनि उल्लेख गर्ने उद्घोष गरेका थिए। त्यसको केही समयपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी विभागका पूर्वरजिष्ट्रारहरूलाई समितिमा बोलाएर सोधपुछ गरेको हो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी विभागका पूर्वरजिष्ट्रारहरू डा. टोकराज पाण्डे, नमराज घिमिरे, झलकराम अधिकारी, लीलाप्रसाद शर्मा, शिवकुमार कार्कीलगायतकासँग सोधपुछ गरेको छ। त्यस्तै वागमती प्रदेशको सहकारी महाशाखाका पूर्व रजिष्ट्रारहरुलाई पनि समितिमा बोलाएर सोधपुछ गरिएको संयोजक क्षेत्रीले जानकारी दिए।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बागमती प्रदेश, सहकारी महाशाखा पूर्वरजिष्ट्रार टोकप्रसाद पाण्डे, बिक्रमप्रसाद पाण्डेय, नारायण ज्ञवालीलगायतलाई पनि सोधपुछ गरेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #झलकराम अधिकारी सहसचिव, #डा. टोकराज पाण्डे, #नमराज घिमिरे, #लिलाप्रसाद शर्मा, #शिवकुमार कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ