महावाणिज्यदूत भएर फर्किएपछि प्रदेश पठाउने प्रचलन तोड्ने प्रयास


काठमाडौं । महावाणिज्यदूत भएर फर्किएपछि प्रदेश पठाउने प्रचलन रहँदै आएको छ। महावाणिज्यदूतको कार्यकाल पूरा गरेर फर्किएका गोविन्दबहादुर कार्कीलाई कोशी प्रदेशको सचिव बनाएर पठाइएको थियो। उनी कोशी प्रदेशको सामाजिक विकास सचिवको भूमिकामा काम गरेर मात्र संघ छिरेका थिए। कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै अहिले फेरि बागमती प्रदेशको प्रमुख सचिव बनेर प्रदेश नै गएका छन्।

४ वर्ष चीनस्थित ग्वान्जाओको महावाणिज्यदूत खाएपछि फर्किएका हरिशरण पुडासैनीलाई पनि बागमती प्रदेश पठाइएको थियो। पुडासैनी १ वर्ष बढी बागमती प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयको सचिवको जिम्मेवारीमा काम गरेर मात्र संघ छिरेका थिए। उनी अहिले प्रदेशबाट संघको अर्थ मन्त्रालय हुँदै भन्सार विभागको महानिर्देशक बनेका छन्।

चीन कै छेन्दुमा महावाणिज्यदूत रहेका दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएपछि नेपाल फर्किएका थिए। नेपाल आएपछि उनी मधेश प्रदेशको प्रमुख सचिव बनेर गएका थिए। उनले पनि महावाणिज्यदूत भएर आएपछि संघमा बस्न पाएनन्। प्रदेश नै जान बाध्य भए। मधेश प्रदेशको प्रमुख सचिवबाट वाणिज्य तथा आपूर्ति सचिव हुँदै घिमिरे अहिले अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा छन्।

महावाणिज्यदूत भएर फर्किएपछि प्रदेश पठाउने प्रचलनको विकास हुँदै गएको यी केही ‘केस’बाट देखिन्छ। तर, अहिले यो प्रचलन तोड्ने प्रयास भएको पाइन्छ। भारतको कलकत्ताबाट महावाणिज्यदूतको ४ वर्षे कार्यकाल पूरा गरेर फर्किएका ईश्वरराज पौडेललाई मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव बनाएर पठाएको थियो। तर, उनी लुम्बिनी प्रदेशमा अहिलेसम्म हाजिर भएका छैनन्। आफू सिनियर सहसचिव भएकाले प्रदेश नजाने पौडेलको जोडबल देखिन्छ। गोविन्दबहादुर कार्की र हरिशरण पुडासैनीहरूले आफू सिनियर भनेर प्रदेश जान हिच्किचाएनन्। अहिले भने प्रचलन नै तोड्ने प्रयास भएको सिंहदरबारभित्र चर्चा छ।

प्रदेशमा पठाउनु पर्ने नै सिनियर सहसचिव हो। प्रदेशलाई बलियो बनाउन अनुभवीहरूलाई पठाउन आवश्यक देखिन्छ। एक ‘लट’ सिनियर सहसचिवहरु प्रदेश बसेर आइसकेका छन्। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आलाकाचा अधिकृत पठाएर सरकारले संघीयताका विकृत अभ्यास गर्न खोजेको देखिन्छ। यता सिनियरहरू स्थानीय तह र प्रदेश जान आनाकानी गरिरहेका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #ईश्वराज पौडेल, #गोविन्दबहादुर कार्की, #दिनेशकुमार घिमिरे, #हरिशरण पुडासैनी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ