जो एउटा प्रदेशबाट अर्को प्रदेशको प्रमुख सचिवमा सरूवा भए


काठमाडौं। सामान्यतः प्रदेशको प्रमुख सचिव भएको व्यक्ति संघीय मन्त्राल वा निकायको प्रमुख सचिवमा सरूवा भएर आउने/ल्याउने प्रचलन रहँदै आएको छ। प्रायजसो प्रदेशका प्रमुख सचिवहरू संघीय मन्त्रालयको सचिव बनेर काठमाडौं छिर्ने गरेका छन्। तर, प्रदेशका केही प्रमुख सचिव भने काठमाडौं नछिरी अर्को प्रदेशको प्रमुख सचिवमा सरूवा भएका छन्।

सरकारले बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद मैनालीलाई बागमती प्रदेशको प्रमुख सचिवमा सरूवा गरेको छ। उनीभन्दा जुनियर  प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेशबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवमा सरूवा गर्दै डा. लम्साललाई सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट बागमती प्रदेशको प्रमुख सचिवमा सरूवा गरेको हो। २०८० कात्तिक २३ गते सुदूरपश्चिम प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी पाएका डा. लम्साल चैत १५ मा सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश कै प्रमुख सचिवमा पदस्थापन भएका थिए। भदौ २७ गते उनको सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएको हो। डा. लम्साल कायममुकायम प्रमुख सचिवमा करिब ५ महिना र प्रमुख सचिवमा झन्डै ६ महिना बसेर बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा भएका छन्।

यसअघि लक्ष्मीराम पौडेल, नारायणप्रसाद बिडारी, रामकृष्ण सुवेदी र डा. दिपक काफ्ले पनि प्रदेशको प्रमुख सचिवबाट प्रदेश कै प्रमुख सचिव हुनेमा पर्छन्।

प्रदेश सरकारको अभ्यास सुरू भएपछि एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिवमा सरूवा हुने लक्ष्मीराम पौडेल पहिलो व्यक्ति हुन्। उनी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका थिए।

२०७४ माघ १९ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव भएका पौडेल २०७५ भदौ १२ त्यहाँबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा भएका थिए। भदौ १४ गते गण्डकी प्रदेशमा उनी प्रमुख सचिवको रूपमा हाजिर भएका थिए।

लक्ष्मीराम गौतम र नारायणप्रसाद बिडारी प्रदेश साटफेर गरेर एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिवमा एकैदिन सरूवा भएका हुन्। बिडारी पनि गण्डकी प्रदेशको प्रमुख सचिवबाट सुदूरपश्चिमको प्रमुख सचिवमा सरूवा भएका थिए। पौडेललाई सुदूरपश्चिम प्रदेशबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरूवा गरिएको थियो भने बिडारीलाई गण्डकीबाट सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरेर पठाइको थियो।

२०७५ असार ६ गते गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका बिडारीको भदौ १२ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएको थियो। २०७५ भदौ १९ मा सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका बिडारी २०७६ पुस ७ गतेसम्म बसेका थिए। त्यसपछि मात्र संघमा आएका हुन्। बिडारी गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा डेढ वर्ष बसेर मात्र संघमा फर्किएका थिए।

रामकृष्ण सुवेदी पनि मधेश प्रदेशको प्रमुख सचिवबाट सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएका थिए। २०७६ मंसिर ४ गते मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका उनी ६ महिना उक्त प्रदेशमा २०७७ वैशाख ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरूवा भएका थिए। २०७७ वैशाख ८ देखि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेका २०७८ असार २४ सम्म उक्त प्रदेशको प्रमुख सचिवको भूमिकामा बसेका थिए। सुवेदी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट उपराष्ट्रपति कार्यालयमा सरूवा भएर आए। उनी मधेश र सुदूरपश्चिम गरी करिब ९ महिना प्रमुख सचिव बनेर संघमा फर्किएका हुन्।

सुवेदीको सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट उपराष्ट्रपति कार्यालयको सचिवमामा सरूवा भएको थियो। उपराष्ट्रपति कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्राकृतिक स्रोत तथा वित्त आयोग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुँदै सुवेदी अहिले सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव बन्न पुगेका छन्। सचिवको ५ वर्षे कार्यकालका कारण उनी कात्तिक ५ गते घर जाँदैछन्।

अपांग कोटाबाट सहसचिव हुँदै सचिव बनेका डा. दिपक काफ्ले पनि एउटा प्रदेशको प्रमुख सचिवबाट अर्को प्रदेशको प्रमुख सचिव बनेर जानेमा पर्छन्। सचिवमा बढुवा भएपछि उनी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए। डा. काफ्ले लुम्बिनी प्रदेशको प्रमुख सचिवबाट कोशी प्रदेशको प्रमुख सचिवमा सरूवा भए।

२०७९ भदौमा लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका काफ्ले चैतसम्म लुम्बिनीमा बसेका थिए। उनी २०७९ चैत २० गते कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्न पुगेका थिए। डा. काफ्ले कोशी प्रदेशको प्रमुख सचिव भएर झन्डै साढे ९ महिना बसेपछि २०८० पुस २ गते कोशी प्रदेशको प्रमुख सचिवबाट बिदाई भएका थिए। उनी प्रदेशमा करिब १७ महिना बसेपछि मात्र संघमा फर्किएका हुन्। कोशी प्रदेशबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै शिक्षा सचिवको भूमिकामा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दिपक काफ्ले सचिव, #डा. हरिप्रसाद लम्साल, #नारायणप्रसाद बिडारी, #प्रमुख सचिव, #रामकृष्ण सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ