‘म्युजिकल चेयर’ बन्दै वाणिज्य तथा आपूर्ति सचिव

दामोदर भण्डारी मन्त्री भएको ६ महिनामा वाणिज्यमा ४ सचिव फेरिए


काठमाडौं। ६ महिना बीचमा दुईपटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका दामोदर भण्डारीले उक्त अवधिमा चार जना सचिव फेरेका छन्। पछिल्लो समय वाणिज्यमा डेढ महिना पनि सचिव अडिन सकेनन्।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धन गरेपछि फागुनमा दामोदर भण्डारी दोस्रोपटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने। पहिलोपटक उद्योगमन्त्री बन्दा प्रचण्ड कांग्रेससँग मिलेपछि भण्डारीले छोटो समयमै मन्त्री पदबाट हात धुनु परेको थियो। फेरि एमाले र एमाओवादी मिलेपछि भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेर आए। त्यसपछि एमाले र कांग्रेसको गठबन्धन भयो। भण्डारी तेऱ्याएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्न सफल भए। तर, उनी वाणिज्य तथा आपूर्ति सचिव टिकाउन भने असफल देखिएका छन्।

२०८० फागुन २३ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदभार सम्हालेका भण्डारीले त्यसको एक महिना नपुग्दै उद्योग र वाणिज्य हेर्ने दुबै सचिव फेरे।

२०८० चैत १५ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट उद्योग सचिव मुकुन्दप्रसाद निरौलाको ठाउँमा कृष्णबहादुर राउत र वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीको ठाउँमा दिनेशकुमार घिमिरे सरूवा भएर आए । राउत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उद्योगमा पुगेका थिए भने घिमिरे मधेश प्रदेशको प्रमुख सचिवबाट वाणिज्यमा आएका हुन्।त्यसयता वाणिज्यमा लगातार सचिव फेरिरहेका छन् भने उद्योगतिर स्थिरता देखिएको छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट २०८० कात्तिक २३ गते वाणिज्य तथा आपूर्ति सचिव बनेर आएका दुवाडी ५ महिना पनि त्यहाँ बस्न पाएनन्। उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरूवा भए। अहिले राष्ट्रपति कार्यालयको सचिवको भूमिकामा छन्।

२०८० चैत १५ गते वाणिज्य तथा आपूर्ति सचिवमा सरूवा भएका घिमिरे ४ महिना पनि त्यहाँ टिकेनन्। दुवाडीलाई प्रतिस्थापन गरेर वाणिज्य तथा आपूर्ति सचिवमा आएका घिमिरे उनी जति पनि त्यहाँ रहन पाएनन्। २०८१ साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरूवा गऱ्यो।

घिमिरेको राजस्व सचिवमा सरुवा भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट मधुसुदन बुर्लाकोटी आए। वाणिज्य तथा आपूर्ति सचिव बनेको डेढ महिना पनि नपुगी बुर्लाकोटीको राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरुवा गरिएको छ।

भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयमा सरूवा गरेर वाणिज्य तथा आपूर्ति सचिवमा बागमती प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्कीलाई ल्याउने निर्णय गरेको छ। पछिल्लो समय वाणिज्य तथा आपूर्ति सचिवको कुर्सी ‘म्युजिकल चेयर’ जस्तो बन्न थालेको देखिन्छ।

मन्त्रीसँग स्वार्थ र ‘ट्युनिङ’ नमिल्दा तुलनात्मकरूपमा इमानदार कर्मचारी लामाे समय टिक्न सकेकाे देखिँदैन। यसकाे पछिल्लो उदाहरण हाे, वाणिज्य तथा आपूर्ति मन्त्रीले ६ महिनामा ४ सचिव फेरेको घटना। यस्तो घटना अन्य मन्त्रालयमा पनि देखिँदै आएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर राउत, #गोविन्दबहादुर कार्की, #दिनेशकुमार घिमिरे, #नारायणप्रसाद शर्मा दुवाडी, #मकुन्दप्रसाद निरौला, #मधुसुदन बुर्लाकोटी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ