महानगरमा ‘ह्याट्रिक’ हानेका सहसचिव भारती उपमहानगरपालिकामा झरे


काठमाडौं। तीनवटा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका वीरेन्द्रदेव भारती उपमहानगरपालिकामा झरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका भारतीको जीतपुर सिमरा उपमहानगरपालिकामा सरूवा भएको छ। उनी महानगरमा ‘ह्याट्रिक’ हानेर उपमहानगरपालिकामा झरेका हुन्।

पोखरा, ललितपुर र भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका सहसचिव भारती उपमहानगरपालिकामा गएका छन्। यसले उनी स्थानीय तहमा जागिर खानका लागि कति अभिसप्त रहेछन् भन्ने देखाउँछ। भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मुद्दा लागेपछि भारती निलम्बनमा परेका थिए। ललितपुरको गोदावरी नगरपालिकाको प्राकृतिक स्रोत दोहन र राजस्व हिनामिनाको ‘केस’मा अख्तियारले डामेपछि उनी निलम्बनमा परेका थिए। उक्त भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि भारती फेरि स्थानीय तहमै फर्किएका हुन्।

स्थानीय तहका बादशाहका रूपमा परिचित भारती बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर समेत काम गरिसकेका छन्।

कमल थापा उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री हुँदा दैलेखी भारती उनको सचिवालयमा बसेका थिए । दैलेख कै कुन्ती शाही स्थानीय विकास राजमन्त्री भएको फाइदा उनले राम्रैसँग उठाए। कमल र कुन्तीको विश्वास जितेर त्यहीँ बेला काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी पड्काउन सफल भए। काठमाडौं कै गोकर्णेश्वर नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा पनि कार्यकारी भएर भारतीले जागिर खाए । सहसचिव भएपछि मात्र भारतीले ललितपुरको गोदावारी नगरपालिका छाडेका थिए।

डोल्पाको कृषि विकास बैंकमा कार्यरत भारतीले २०५६ सालमा प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकालेका हुन्। २०६६ सालमा उपसचिव भएपछि भारतीले डोल्पालगायतका जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकामा समेत काम गरे। त्यो बेला उनी नेपालगञ्ज नगरपालिका (हाल उपमहानगरपालिका)को कार्यकारी बनेर समेत गएका थिए। १५ वर्षदेखि स्थानीयमा एकछत्र राज गरेका भारतीले एकपटक वैदेशिक रोजगार कार्यालय, ताहाचलको प्रमुख समेत भएर ‘रिफ्रेसमेन्ट’ गरेका थिए। त्यसपछि उनी पुनः स्थानीय तहमै फर्किए। महानगरपालिकाबाट उपमहानगरपालिकामै जानुले भारतीको स्थानीय तहप्रतिको आशक्ति देखाउँछ।

क्याटेगोरी : समाचार
ट्याग : #वीरेन्द्रदेव भारती सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ