स्वास्थ्यमा सरुवाः महानिर्देशक बन्दै विकास !


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुभदीन पारेर बुधबार आज स्वास्थ्यको सरुवा सुरु गर्ने भएका छन्। स्वास्थ्य सेवा विभागको महानिर्देशक र केही महाशाखा प्रमुखबाट सरुवा सुरुवात गर्ने भएका हुन्। 

विगतमा पनि पटकपटक फायल उठाएर रोकेका उनले यसपटक सरुवा भरिलो बनाउने गृहकार्य गरेका हुन्। करिब डेढ महिनादेखि उठेको महानिर्देशकको फायल आज खोल्ने भएका छन्।

विभिन्न स्रोतहरूले स्वास्थ्य लाइभलाई दिएको जानकारी अनुसार ओसिएको विकास देवकोटाको फायल आज खुल्ने छ र उनले महानिर्देशकको पहिरन लगाउने छन्। 

महानिर्देशकमा डा. दिपेन्द्ररमण सिंह र विकासको प्रतिस्पर्धा अग्रस्थानमा रहेको छ। तर, दिपेन्द्र अबको केही महिनामा सरकारी सेवाबाट हात धोएर सधैँका लागि घर जाँदैछन्। त्यसैले पनि विकासलाई महानिर्देशकको पहिरन आजै लगाइने अधिकारीहरूले बताएका छन्। हुन त यस अगाडि पनि मन्त्रीले गर्न खोजेको सरुवा अन्तिम समयमा रोकिएको थियो। कयौँ दिन कर्मचारीलाई सरुवा गर्ने भन्दै सात बजेसम्म कुराएका थिए। त्यसैले अहिले पनि दवाव आए रोक्न सक्छन् तर, फायर खोलिसकेकाले यसपटक विगतमा जस्तो सम्भावना कम देखिन्छ। 

महानिर्देशकसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका दुई महाशाखा प्रमुख बाहिरिने पक्का पक्की भएको छ। तर, उनीहरुलाई कहाँ जिम्मेवारी दिने भन्नेमा मन्त्री रनभुल्लमा देखिएका छन्। 

अन्तर्राष्ट्रिय समन्वय महाशाखामा हालै एघारौँ तहमा बढुवा भएका सानो सचिवले परिचित भीम सापकोटालाई लाने निर्णय भएको छ। सानो सचिव अहिले मन्त्रीका विश्वास पात्र समेत हुन्। उक्त महाशाखामा कार्यरत डा. चुमन लाललाई मधेश प्रदेश पठाइने भएको छ। केही दिन अगाडि मन्त्रीले बोलाएरै रोजेर जान उनलाई आग्रह गरेका थिए। सम्भवतः नारायणी अस्पतालको प्रमुखमा उनलाई पठाउने कुरा छ। 

यता गुणस्तर महाशाखा प्रमुखबाट युवा चिकित्सक डा. मदनकुमार उपाध्याय पनि आउट हुने भएका छन्। अधिकारीहरूले भनेका छन्, ‘उहाँको सरुवा हुन्छ, तर कहाँ पठाउने भन्नेमा मात्रै निर्णय भएको छैन ।’, उपाध्याय स्वास्थ्य मन्त्रालयमा बसेर राम्रो काम गर्दै आएका कर्मचारीभित्र पर्छन्। काम गर्ने कर्मचारीको सूचीमा परे तर, काङ्ग्रेस पार्टीमा परेनन्। 

यता विगतदेखि सरुवाको चर्चामा रहेका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलको सरुवा रोकिएको छ। प्रधानमन्त्रीस्तरबाट सरुवा नगर्न निर्देशन आएपछि उनको सरुवा रोकिएको हो। उनको सरुवा रोकिएर स्वास्थ्यलाई घाटा भन्दा फाइदै भएको छ। मन्त्रीको टिममा चाहिने मान्छेमध्येका एक हुन् पौडेल।

त्यसैगरी व्यवस्थापन महाशाखाबाट डा. श्रवण कुमार थापाको पनि सरुवा हुने भएको छ। उनलाई मन्त्रीले केही दिन अगाडि बोलाएर रोजेको अस्पतालमा जान अनुरोध गरेका थिए। तर, त्यहाँ ल्याउने मान्छेको टुंगो बुधबार बिहानसम्म लागेको छैन। यता सुरेन्द्र चौरासियाको भने सरुवा नहुने भएको छ। उनको स्थानमा जान उपेन्द्र ढुंगानालाई विगतमै मन्त्रीले अनुरोध गर्दा अस्वीकार गरेका थिए। खरिदमा बुझेको व्यक्ति चौरासियाबाहेक अर्को देखिँदैन। खरिदका कुनै पनि फायलमा उजुरी नपरेको छैन। त्यसैले नबुझेको र हालकाचा व्यक्ति पठाउँदा नेतृत्वनै संकटमा पर्ने भएकाले पनि स्वास्थ्यको खरिदमा चौरासियाको बिकल्प तत्काल देखिँदैन। यता चौरासिया भने सरुवा गर्दिए हुन्थ्यो भन्ने आसमा बसेका छन्। 

राष्ट्रिय ट्रमा सेन्टरको मेसु पनि परिवर्तनको सूचीमा रहेको छ। तर, डा. बद्री रिजाललाई मन नपराउने व्यक्ति धेरै भएकाले तत्काल नगर्ने कि भन्नेमा पनि अधिकारीहरु पुगेको बुझिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ