वित्त आयोगमा ६ वर्षमा ९ सचिव फेरिए


काठमाडौं। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ६ वर्षमा ९ सचिव फेरिएका छन्। वित्त आयोग सचिव नटिक्ने निकायमा दर्ज भएको छ। उपराष्ट्रपति कार्यालय जस्तै सचिव बस्न नरुचाउने कार्यलयमा वित्त आयोग परेको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थापना भएपछि २०७४ पुस १३ गते बैकुण्ठ अर्यालले कायममुकायम सचिवको जिम्मेवारी पाए। अर्याल २०७५ असार ३ मा सचिवमा बढुवा भएपछि २०७६ भदौ ४ गतेसम्म वित्त आयोगमा रहे। करिब ६ महिना कायममुकायम सचिव र १४ महिना सचिवको भूमिकामा उनी वित्त आयोगमा रहेका थिए। त्यसपछि बेगेन्द्रराज शर्मा पौडेल वित्त आयोगको सचिव बनेर आए। २०७६ भदौ ५ मा वित्त आयोगको सचिव भएर आएका बेगेन्द्र २०७८ साउन २७ सम्म बसे।

बेगेन्द्रपछि गोकर्णमणि दुवाडी वित्त आयोगको सचिव भएर आए। २०७८ भदौ ३ मा वित्त आयोगको सचिव बनेर बसेका दुवाडी करिब साढे ४ महिनापछि मंसिर १५ मा त्यहाँबाट हिँडे। दुवाडीपछि भरतमणि सुवेदी वित्त आयोगको सचिव भएर आए। २०७८ मंसिर १५ मा वित्त आयोगको सचिवको जिम्मेवारी सम्हालेका भरतमणिले २०८० साउन ८ सम्म त्यहाँ बसे।

भरतमणिपछि रामकृष्ण सुवेदी वित्त आयोगको सचिव भएर आए। २०८० साउन १० मा वित्त आयोगको सचिव भएर आएका रामकृष्ण झन्डै साढे ५ महिना पुस २५ सम्म त्यहाँ बसे। रामकृष्ण गएपछि कृष्णबहादुर राउत वित्त आयोगको सचिव भएर आए। २०८० पुस २६ मा वित्त आयोगको सचिवको जिम्मेवारी सम्हालेका राउत ३ महिना नपुग्दै २०८० चैत २० मा त्यहाँबाट हिँडे।

राउत सरुवा भएर गएपछि विनोदप्रकाश सिंह वित्त आयोगको सचिव भएर आए। २०८१ वैशाख ६ गते वित्त आयोगका सचिव भएर गएका सिंह डेढ महिना बसेपछि त्यहाँबाट हिँडे। सिंहपछि मधुसुदन बुर्लाकोटी वित्त आयोगको सचिव भएर आए। २०८१ जेठ २१ मा वित्त आयोगको सचिव भएर आएका बुर्लाकोटी त्यहाँ २ महिना पनि नबसी साउन १६ मै सरुवा भएर हिँडे। बुर्लाकोटीपछि किरणराज शर्मा वित्त आयोगको सचिवको भूमिकामा छन्। वित्त आयोग पछिल्लो समय सचिव जान नरुचाउने अड्डामा परेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ