कानुनविपरीत गर्भपतनका औषधि बिक्रीवितरण गरे महानगरले कारबाही गर्छ : मेयर सिंह
पर्सा। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कानुनविपरीत गर्भपतनका औषधि बिक्रीवितरण गरे महानगरले कारबाही गर्ने बताए। स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। ‘वीरगञ्जमा कानुनविपरीत गर्भपतनका औषधि वितरण भइरहेको सुन्नमा आएको छ यसमा मिडियाले सहयोग गरे महानगरपालिकाले कारबाही गर्छ ।’, मेयर सिंहले भने। उनले सुरक्षित गर्भपतनका लागि स्वास्थ्य लाइभ मिडियाले खेलेको भूमिकाको प्रशंसा गरे। उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन समेत सुझाव दिएका छन् ।
युवा पिडिमा सुरक्षित गर्भपतनका लागि हातेमाले गरेर अगाडि बढ्नुपर्ने मेयर सिंहको धारणा छ। वीरगञ्जमा बगहीको स्वास्थ्य केन्द्रमा मात्र गर्भपतन सेवा उपलब्ध रहेको उनले जानकारी दिए। आगामी दिनमा सुरक्षित गर्भपतनको सेवा विस्तार गर्न महानगरपालिकाले जोड दिने मेयर सिंहले बताए। निजी स्वास्थ्य संस्थाबाट दिइने सेवामा पनि महानगरपालिकाले अनुगमन गर्ने उनले स्पष्ट पारे। वीरगञ्ज महानगरपालिकाभित्र नारायणी अस्पताल, मेरीस्टोप्स्, मेरिसर्भिस् र ओम हस्पिटलमा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ।
जनचेतनाका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै मेयर सिंहले अघि थपे, ‘वर्षका एकपटक मात्र यस्ता कार्यक्रम हुन्छन् यस्ता कार्यक्रम नियमित हुनुपर्छ।’, पत्रकारहरुलाई पनि यो क्षेत्रमा कलम चलाउन उनले आग्रह गरे। सबै विज्ञहरुलाई एक ठाउँमा राखेर नीति बनाउन जरूरी रहेको मेयर सिंहको भनाइ छ। यसमा विज्ञहरूको सुझाव आवश्यक रहेको उनले औँल्याए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस