नक्कली लाइसेन्स प्रकरण

अर्याललाई अख्तियार लाने प्रयास असफल भएपछि महर्जनलाई यातायात व्यवस्था विभाग फर्काइयो


काठमाडौं। नक्कली लाइसेन्स जारी प्रकरण र इम्बोस्ड नम्बर प्लेट खरिदमा संलग्न रहेका आईटी उपसचिव राजकुमार महर्जनको यातायात व्यवस्था विभागमा सरुवा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट खरिदको विस्तृत छानबिन गरिरहेको समयमा महर्जनको यातायात व्यवस्था विभागमा सरुवा भएको हो।

अख्तियारको छानबिनमा प्रभावित बनाउन नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको गिरोहले उक्त प्रकरणसँग जोडिएका सुरजप्रकाश अर्याललाई अख्तियारमै सरुवा गराउन सफल भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली लाइसेन्स प्रकरणमा समातेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि अर्याललाई अख्तियारले फिर्ता पठाइदिएको थियो। अर्याल मार्फत छानबिन प्रभावित बनाउने योजना तुहिएपछि उक्त गिरोहले महर्जनलाई यातायात व्यवस्था विभाग लगेको हो।

यातायातको गिरोहमा बसेर भ्रष्टाचार मुद्दा समेत खेपेका शाखा अधिकृत भविन्द्र कार्की पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा छन्। उनीमार्फत गिरोहले महर्जनलाई यातायात व्यवस्था विभाग सरुवा गराउन सफल भएको पाइन्छ। महर्जनलाई यातायात व्यवस्था विभाग पुऱ्याउनुको मुख्य उद्देश्य नै विभागमा बसेर नक्कली लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको छानबिन प्रभावित बनाउने देखिन्छ। विभागमा महर्जन पुगेपछि अख्तियार र सिआईबीलाई असहयोग गरेर छानबिन प्रभावित गर्ने गरी गिरोहले खेलेको खुल्न आएको छ। जसरी अर्यालको केसमा गिरोहले खेल्यो महर्जन केसमा पनि त्यसरी नै खेलेको बुझिन्छ।

कम्प्युटर इन्जिनियरमा नियुक्ति लिएर २०७० साल साउनमा यातायात व्यवस्था विभाग छिरेका महर्जनले ५ वर्ष बढी यातायात व्यवस्था विभागमै बसेका थिए। विभागमा हुँदा महर्जन हरेक जसो प्रकरणमा जोडिएका छन्। २०७५ असोज ४ गते यातायात व्यवस्था विभागबाट सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए । त्यहाँबाट निर्वाचन आयोग पुगेका महर्जन उपसचिव भएपछि भूमि व्यवस्थापन विभाग हुँदै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका थिए। राष्ट्रिय साइबर सुरक्षा ब्युरोमा समेत उपकरण खरिदमा तम्सिएका महर्जनको यातायात व्यवस्था विभाग सरुवा भएको हो।

५ वर्ष बढी यातायातमा एकछत्र राज गरेका महर्जन फेरि यातायातमै फर्किनु रहस्यको विषय हो। यसलाई सिआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विशेष ‘नोटिस’मा राख्न जरुरी छ। अर्याल र महर्जन ब्याची कम्प्युटर इन्जिनियर समेत हुन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #नक्कली लाइसेन्स, #राजकुमार महर्जन, #सुरजप्रकाश अर्याल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ