स्थानीय स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र उपकरण नहुँदा सुरक्षित भर्गपतनमा समस्या
काठमाडौं। स्थानीय तहका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र उपकरण नहुँदा सुरक्षित गर्भपतनमा समस्या भएको सरोकारवालाहरुले बताएका छन्। स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन्।
वीरगञ्ज महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख इन्दिरा लोहनीले स्थानीय तहका स्वास्थ्य संस्थासँग दक्ष जनशक्ति र उपकरण नहुँदा सुरक्षित गर्भपतन गराउन समस्या भइरहेको बताइन्। दक्ष जनशक्तिको अभाव र तालिम सूचीकृत नहुनु र सुरक्षित गर्भपतन सेवा मार्गदर्शन स्पष्ट नहुनु यसका मुख्य समस्या भएको लोहनीको भनाइ छ।
सुरक्षित गर्भपतनका लागि जनशक्ति मात्र होइन कानुन र बजेटको पनि उचित व्यवस्था छैन। प्रदेश सरकारले जनशक्ति र बजेटका लागि सहयोग गरेको छैन। जटिलता व्यवस्थाको लागि स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्था एम्बुलेन्सको व्यवस्था समेत छैन। यस्तो अवस्थामा कसरी सुरक्षित गर्भपतन हुन सक्छ।’, वीरगञ्ज महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लोहनीले भनिन्।
सुरक्षित गर्भपतन बारेमा शैक्षिक कार्यक्रमको ‘सिलेबस’मा समावेश गरेर प्रजनन स्वास्थ्य तथा किशोरकिशोरीको बारेमा विद्यालयमा राम्रोसँग पठन-पाठन गरिनु पर्ने लोहनीको सुझाव छ। गर्भपतन सेवाले आधारभूत स्वास्थ्य कार्यक्रममा उचित नपाउनु र फार्मेसीमा सूचीकृत नभएका औषधी जथाभावी पाउनु सुरक्षित गर्भपतनका लागि चुनौती रहेको उनको भनाइ छ।
नेपाल भारत खुला सीमाना नजिकै वीरगञ्ज रहनु र शारीरिक परीक्षण बिनै सर्वसुलभ रूपमा औषधी पाउनु सुरक्षित गर्भपतनका लागि चुनौती बनिरहेको लोहनीले बताइन्। प्रजनन स्वास्थ्य कार्यक्रम तथा सुरक्षित गर्भपतन सेवा किशोरकिशोरी मैत्री नहुनु र सुरक्षित गर्भपतन सेवाको सूचना सम्प्रेषण एकदम न्यून हुनु पनि सुरक्षित गर्भपतनका लागि चुनौती रहेको लोहनीको धारणा छ।
स्वास्थ्य कार्यालय पर्साकी प्रतिनिधि मीरा कुमारी यादवले पनि दक्ष जनशक्ति र उपकरण अभाव हुँदा सुरक्षित गर्भपतनमा चुनौती थपिएको बताइन्। अनुगमनको पाटो स्थानीय तहको भएकाे उनको भनाइ छ। तर स्थानीय तहमा अनुगमनका लागि स्रोत साधन र जनशक्तिको अभाव रहेको स्थानीय तहका प्रतिनिधहरू बताउँछन्।
मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको नर्सिङ डिभिजन प्रमुख आरती ठाकुरले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताइन्। स्वास्थ्य संस्थालाई सूचीकृत हुनका लागि प्रदेश सरकारले प्रणाली विकास गरेको उनको भनाइ छ। सुरक्षित गर्भपतनका लागि बजेट र जनशक्ति व्यवस्थापनमा पनि प्रदेश सरकारले ध्यान दिने ठाकुरले स्पष्ट पारिन्। नारायणी अस्पतालमा कार्यरत स्त्री तथा पसूति रोग विशेषज्ञ डा. मञ्जु रोयले सुरक्षित गर्भपतका लागि सबै सरोकारवाला निकाय तथा व्यक्तिहरुको महत्त्वपूर्ण भूमिका रहने धारणा राखिन्।
अहिले वीरगञ्ज महानगरपालिकाभित्र नारायणी अस्पताल, मेरिस्टोप्स, मेरिसर्भिस् ओम हस्पिटल र बगही प्राथमिक स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतनको सेवा उपलब्ध छ। त्योमध्ये बगही प्राथमिक स्वास्थ्य केन्द्र मात्र वीरगञ्ज महानगरपालिका मातहतको सरकारी स्वास्थ्य संस्था हो। वीरगञ्ज महानगरपालिका बाहिरका पोखरिया अस्पताल, बगबाना स्वास्थ्य चौकी, सखुवाप्रसौनी स्वास्थ्य चौकी तथा महुवन स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस