सूर्य थापाले १५० वटा सेवा केन्द्र खोल्ने दिनेलाई बोलाएर सोधपुछ गरेको भनेर कसलाई संकेत गरेका हुन्?


काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका संयोजक सूर्यबहादुर थापाले सहकारीको नियामक निकाय नै ठगीमा संलग्न भएको दाबी गरेका छन्। गोरखापत्रसँगको कुराकानीमा उनले उक्त दाबी गरेका हुन्। नियामक नै मिलेमतोमा सबै ठगी प्रक्रियामा संलग्न भएको देखिएको थापाले बताएका छन्।

‘आफ्नो कार्यक्षेत्र, उत्तरदायित्वलाई संवैधानिक र कानुनी व्यवस्था अनुसार काम गर्ने हुटहुटी मात्र भएको भए पनि अलिक फरक नै पर्ने देखिन्छ। जे गरे नि चल्छ; कसैले हेर्दैन, देख्दैन भन्ने भाव छ। एक जना रजिस्ट्रार १५० भन्दा बढी सेवा केन्द्र विस्तार गर्न स्वीकृत गरेको पनि भेट्यौँ। उहाँलाई बोलाएर पनि सोध्यौँ। कार्यक्षेत्र विस्तारमा पनि बेथिति छ।’,  थापाले कुराकानीका क्रममा भनेका छन्। नियमनमा हेलचेक्रयाइँ भएको र त्यस अनुसारको कानुनी प्रबन्ध नभएकाले आजको समस्या उत्पन्न भएको थापाको ठहर छ।

थापाले १५० भन्दा बढी सेवा केन्द्र विस्तार गर्न स्वीकृति गर्ने रजिस्ट्रार भनेर सहकारी विभागका तत्कालीन रजिस्ट्रार डा. टोकराज पाण्डेतिर संकेत गरेका हुन्। २०७५ देखि ७७ सम्म दुई वर्ष सहकारी विभागको रजिस्ट्रार भएर काम गरेका पाण्डेलाई संसदीय छानबिन विशेष समितिले बोलाएर सोधपुछ गरेको थियो। प्रतिवेदनमा उनको नाम नै किटान गरिएको छ। समितिका संयोजक थापाले जे गरे नि चल्छ; कसैले हेर्दैन, देख्दैन भन्ने भाव पाण्डेसँग रहेको संकेत गरेका छन्। नियामक निकायका नेतृत्वकर्तालाई अहिलेको सहकारी समस्या आउनुमा थापाले जिम्मेवार देखेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. टोकराज पाण्डे, #सहकारी ठगी, #सूर्यबहादुर थापा क्षेत्री

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ