‘गर्भपतनमा जोड दिने सरकारी सेवामा आवद्ध दम्पती नै’
मोरङ । गर्भपतन सेवा लिनेहरुमा असिक्षित वर्ग भन्दा पनि सिक्षित दम्पतीहरु बढी भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वास्थ्य लाइभ मिडियाले मोरङको विराटनगरमा आयोजना गरेको सुरक्षित गर्भपतन र जवाफदेहीता विषयक अन्तक्रिया कार्यक्रमका सहभागीहरुले गर्भपतन गराउँनेहरु पढेलेखेका जोडिनै धेरै भएको बताए ।
बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा बालकृष्ण साहले गर्भपतन गराउँन पढेलेखेका दम्पती बढी आउँने गरेको बताए । डा. साह भन्छन् ‘अझ सरकारी सेवामा आवद्ध दम्पतीनै गर्भपतन सेवामा बढी देखिएका छन् ।’, अधिकारीहरुले असिक्षत सम्पतीहरु न्युन भएको त्यसमा पनि उनिहरु सुरक्षित सेवामा जोडिएको बताएका छन् । डा. साहका अनुसार असिक्षितलाई भन्दा पनि सुरक्षित वा असुरक्षित गर्भपतनका बारेमा विद्धानहरुलाई नै बुझाउन जरुरी देखिएको छ । समाज परिवार र साथिभाइहरुको लाजले गर्दा भिड नहुने त्यसमा पनि अनुमती नै नपाएका स्वास्थ्य सस्थामा गएर सेवा लिनेहरु धेरै छन् ।
आर्थिक वर्ष २०८०–८१ मा विराटनगरमा सुरक्षित गर्भपतन सेवा लिनेहरु महानगरपालिका भित्र मात्रै २० वर्ष भन्दा मुनिका ८४ जना रहेका छन् । त्यस्तै २० वर्ष माथिका १२ सय ६४ जना रहेका छन् । महानगरपालिकाका स्वास्थ्य संयोजक दिलीप कुमार यादवका अनुसार महानगरपालिका अन्तर्गत सुरक्षित गर्भपतन सेवाको लागि रानी अस्पताल मात्र सुचिकृत संस्था हो । तर, उक्त सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा दुई बर्ष देखि सेवा संचालनमा छैन ।
यता जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले विश्वमा हरेक बर्ष झण्डै १२ करोड १० लाखको हाराहारीमा अनिच्छित गर्भधारण हुने गरेको बताए । जुन प्रति दिन ३ लाख ३१ हजार हो । विश्वव्यापी रूपमा गरिने गर्भपतनमध्ये करीब ४५% असुरक्षित गर्भपतन हुने गरेको छ ।
नेपालमा सन् २०२१ देखि २०२२ सम्म गरेको एक सरकारी अध्ययनले नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित भएको देखाएको छ । २०२१ मा जम्मा भएको गर्भपतन संख्या ३ लाख ३३ हजार ३४३ हो । त्यस्तै स्वास्थ्य संस्थामा गरिएको गर्भपतन १ लाख ७६ हजार २१६ र स्वास्थ्य संस्थाभन्दा बाहिर गरिएको गर्भपतन १ लाख ४० हजार ४६० हो । त्यस्तै अझै पनि विभिन्न हानिकारक माध्यमबाट गरिएको गर्भपतन १६ हजार ६६७ रहेका छन् । तथ्यांक अनुसार अनुमानित ५ प्रतिशत गर्भपतन लट्ठी घुसाउने, जडिबुटी औषधिको सेवन, पेटको मसाज, वा अस्वच्छ अवस्थामा गरिएको छ । त्यस्तै ५ प्रतिशत गर्भपतन १८ वर्ष भन्दा कम उमेरका समेत रहेको पाइएको छ । असुरक्षित रुपमा हुने गर्भपतनको एकिन तथ्यांक नआउने भएकाले यो भन्दा भयावह अवस्था भएको डा मेहता बताउँछन् ।
कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताइन् । प्रदेश सरकारले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउने विषयमा आवश्यक कानुन र पूर्वाधारको तयार गर्ने सचिव थपलियाको भनाइ छ । ‘स्वास्थ्य संस्थाको सेवा विस्तार र दक्ष जनशक्ति तयार गर्ने विषयलाई प्रदेश सरकारले प्राथमिकता राखेको छ । यसका लागि प्रदेश सरकारले तालिम सञ्चालन र आवश्यक बजेटको व्यवस्थापन गर्छ ।’, सचिव डा. थपलियाले भनिन् ।
सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको सूचीकृत र अनुगमनलाई प्रदेश सरकारले विशेष कार्ययोजना ल्याउने जानकारी दिइन् । सुरक्षित गर्भपतन गराउन सेवा लिन जान हिचकिचाउने गरेको सचिव थपलियाले सुनाइन् । यसमा प्रदेश सरकारले सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ ।
प्रेसक्रिप्सन बिना गर्भपतनको औषधि दिन नमिल्ने गरी अनुगमन गर्नुपर्नेमा जोड दिँदै सचिव थपलियाले देखिएका समस्याहरु सुधार गर्दै लैजाने प्रतिबद्धता जनाइन् । ‘स्वास्थ्य मन्त्रालयले सुरक्षित र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न धेरै लगानी गरेको छ । तर लक्षित वर्गसम्म पुरÞ्याउन सकिएको छैन । यसमा सञ्चारकर्मीले विशेष भूमिका खेल्नुपर्छ ।’, सचिव थपलियाले भनिन् । आधिकारिक ठाउँबाट सूचना नलिई समचार सम्प्रेषण गर्दा गलत सूचना बाहिर जाने भन्दै सचिव थपलियाले सही र आधिकारिक ठाउँबाट मात्र सूचना ‘भेरिफाई’ गरेर समाचार संप्रेषण गर्न पत्रकारलाई आग्रह गरिन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस