महालेखाको सरुवामा तरमारा कर्मचारीले सेटिङ गरेको पुष्टि, मापदण्ड कुल्चेर सिंहले गरे उपसचिवको सरूवा


काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले आफैले बनाएको मापदण्ड कुल्चेर लेखाका उपसचिवको सरूवा गरेको छ। महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले हस्ताक्षर गरेर लागू गरेको मापदण्डको मसी सुक्न नपाउँदै मनोमानी तरिकाले लेखाका उपसचिवहरूको सरूवा गरेको पाइन्छ। महालेखा नियन्त्रक सिंहले लेखाका तरमारा कर्मचारीको स्वार्थ अनुकूल सरूवा गरेर सरूवामा सेटिङ रहेको पुष्टि गरिदिएका छन्।

हालेखा नियन्त्रकको कार्यालयले २६ जना लेखा उपसचिव सरूवा गर्दा केहीलाई मापदण्डविपरीत (क) वर्गको कार्यालयबाट (क) वर्ग कै कार्यालयमा सरूवा गरेको छ। लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ लाई तिलाञ्जली दिएर त्यसरी सरुवा गरिएका कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरका प्रमुख कोष नियन्त्रक गोरखबहादुर शाही र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लेखा उपसचिव भोजराज पौडेल रहेका छन्।

शाहीको कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरूवा गरिएको छ। पौडेलको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट संघीय संसद् सचिवालयमा सरूवा गरिएको छ। पौडेल अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति र कोलेनिका, त्रिपुरेश्वर बसिसकेका व्यक्ति हुन्। उनी (क) वर्गको कार्यालयबाट (क) वर्ग कै कार्यालयमा जान सफल भएका छन्।

महालेखा नियन्त्रक कार्यालयले जारी गरेको मापदण्डमा कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुर, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र संघीय संसद् सचिवालय (क) वर्गका पर्छन्।

मलेनिकाले (क) वर्गका राखेका कार्यालयहरू

लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ ले (क) वर्गका कार्यालयबाट (क) वर्गका कार्यालयमै सरूवा नहुने स्पष्ट व्यवस्था गरेको छ। तर, लेखा उपसचिव शाही र पौडेलको हकमा उक्त मापदण्ड उल्लंघन गरेको देखिन्छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत हुँदा टेरामक्स प्रविधि खरिद घोटालामा फसाइएका हुन कि भन्ने भ्रमबाट समेत मुक्त हुने गरी महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले लेखाका उपसचिवहरूको सरूवा गरेका छन्। लेखाका उपसचिव सरूवा गर्दा आफैले बनाएको विधि र थितिलाई कुल्चेर सिंहले ‘सिङ न पुच्छर’को बनाइदिएका छन्। झन्डै ४ वर्षदेखि एउटै कार्यालयमा बसेका निरज केसीलाई उनले छुने समेत आँट गरेनन्। महालेखाको गिरोहले मुस्ताङ, दोलखा र गोरखा घुमाएर ल्याइदिएपछि सिंह पुरै नतमस्तक बनेको पाइन्छ। २ वर्ष नपुगी कसैको पनि सरुवा नगर्ने भन्ने गुड्डी हाँक्ने सिंह अहिले उनको यो कर्मले नराम्रोसँग चिप्लिएका छन्।मा

पदण्डविपरीत सरुवा गरिएको विषयमा स्वास्थ्य लाइभले बुझ्न खोज्दा महालेखा नियन्त्रक सिंहले फोन समेत उठाउने जागर चलाएनन्। स्वास्थ्य लाइभले उनीसँग यो मापदण्ड लागू नगर्ने हो भने कसलाई लागि ल्याइदिएको हो भनेर प्रश्न गर्न खोजेको थियो तर सिंहले फोन नउठाएपछि त्यसको प्रतिक्रिया लिन सम्भव भएन। आफैले जारी गरेको मापदण्ड कार्यान्वयन गर्न नसक्ने महालेखा नियन्त्रक सिंहसँग अलिकति पनि नैतिकता बाँकी छ भने महालेखा नियन्त्रकबाट तत्काल हट्दा उपयुक्त हुन्छ।

महालेखा नियन्त्रक कार्यालयका मानव स्रोत व्यवस्थापन महाशाखा प्रमुख श्यामप्रसाद भण्डारी रहेका छन्। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता समेत रहेका भण्डारीलाई सरूवा गर्दा मापदण्ड पालना नगर्ने भए उक्त मापदण्ड किन? कसका लागि ल्याइदिएको भनेर स्वास्थ्य लाइभले सोध्न खोजेको थियो। पटकपटक सम्पर्क गर्दा उनको पनि फोन उठेन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऐन, नियम, निर्देशिका, मापदण्ड पालना गर्न सरकारी निकायलाई पटकपटक निर्देशन दिँदै आएको छ। अख्तियारमा समेत बसेका आएका भण्डारी प्रशासन हेर्ने महाशाखा प्रमुख भएको अवस्थामा सरूवा मापदण्ड कुल्चिएको अवस्था छ। अख्तियारमा बस्दा त्यहिँ व्यक्तिले एउटा काम र अख्तियारबाहिर गएपछि ठिकविपरीत काम कसरी गर्छ त्यो पनि खोजीको विषय हो। यसले अख्तियारको ‘स्कुलिङ’माथि समेत प्रश्न उठेको छ। यो विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नोटिस’मा लिएर आवश्यक कदम चाल्न जरूरी छ। मापदण्ड उल्लंघन गरेर सरूवा गर्ने यिनीहरू जिम्मेवार र जवाफदेही हुनैपर्छ। विधि र थितिमा बाँधिनै पर्छ।

महालेखा नियन्त्रक कार्यालयका अन्तर सरकारी वित्त समन्वय शाखाका प्रमुख रहेका मुनकुमार केसीको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), लैनचौर सरुवा गरिएको छ। (क) वर्गमा रहेको कोलेनिका, ललितपुरबाट महालेखा नियन्त्रक कार्यालयलाई ट्रान्जिट बनाएर केसी फेरि कोलेनिका, लैनचौर जान सफल भएका छन्। झन्डै ४ वर्षदेखि मलेनिकामा बसेका निरज केसी सरुवाको सेटिङ मिलाएर अमेरिका गएका छन्। उनी (क) वर्गको परराष्ट्र वा सडक विभाग जाने गरी अहिलेलाई मलेनिकामै रहने सेटिङ मिलाएर अमेरिका गएका थिए। त्यो कुरा स्वास्थ्य लाइभले यस अघि नै खुलासा गरिसकेको छ। उक्त कुरा अहिले आए पुष्टि भएको छ। महालेखाको सरुवा प्रणाालीलाई आफ्नो कब्जामा राखेर सँधै आफ्नो स्वार्थसिद्ध गर्न खप्पिस निरजले परराष्ट्र वा सडक विभागलाई आफ्नो विर्ता ठानेर बसेका छन्।

निरज केसी मात्र होइन उनीलगायत अवधि पुगेका गोकुल बाँस्तोला, रामचन्द्र शर्मा र रेजिना कोइराला पनि मलेनिकामै बस्न सफल भएका छन्। उनीहरूको अगाडि पनि सिंह निरीह बन्न पुगेका हुन्।

निरज र मुनकुमारले आफ्नो समूहका यज्ञप्रसाद ढकाल र ज्ञानेन्द्रराज ओझालाई महालेखा नियन्त्रक कार्यालय भित्र्याइसकेका छन्। ज्ञानेन्द्र अर्थबाट र यज्ञ काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट मलेनिका भित्रिएका हुन्। सडकमा रविन कोइराला छन्। यही गिरोहको सिण्डिकेटले मलेनिका कब्जा गरिरहेको छ। पछिल्लो सरुवाले उक्त समूहले सिण्डिकेटलाई झन मजबुत बनाएको देखिन्छ।

राजश्व अधिकृतमा मस्ती मारेर अर्थ मन्त्रालका तत्कालीन बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढालाई प्रयोग गरेर शम्भु मरासिनीमार्फत पहिलो पदस्थापना नै नुवाकोट कोलेनिका हत्याउन सफल भीमप्रसाद देवकोटाले स्वास्था सेवा विभागमा बाजी मारेका छन्। स्वास्थ्य विभाग जाने कसरतमा रहेका ज्ञानेन्द्रराज ओझा हेरेको हेरै भएका हुन्।

मापदण्डमा चलखेल गर्दा यिनले लाभ लिए

लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ को मस्यौदामा (क) वर्गका कार्यालयबाट (ग) को कार्यालयमा मात्र सरुवा गरिने व्यवस्था थियो। तर, महालेखाका तरमारा कर्मचारीले (क) वर्गको कार्यालयबाट (ख)मा पनि जान सक्ने गरी मापदण्डमा चलखेल गरे। त्यसको लाभ भुवनप्रसाद काफ्ले, रोमाकान्त काफ्लेहरुले उठाएका छन्। लगातार आकर्षक अड्डमा बसेका भुवन स्वास्थ्य सेवा विभागबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएका छन्। स्वास्थ्य सेवा विभाग (क) वर्गको कार्यालय हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय (ख) वर्गको कार्यालय हो। मापदण्डमा छेडखानी नभएको भए। भुवन कृषि मन्त्रालयमा जान पाउँदैन थिए।

मलेनिकाले वर्गीकरण गरेका (ख) वर्गका कार्यालयहरू

मापदण्ड फेरबदलको लाभ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा उपसचिव रोमाकान्त काफ्लेले पनि उठाएका छन्। उनी (क) वर्गको सामान्य प्रशासन मन्त्रालयबाट (ख) वर्गको कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरबार पुगेका छन्। त्यस्तै (क) वर्गको सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत लेखा उपसचिव भगवानप्रसाद उप्रेती (ख) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबारमा सरुवा भएका छन्। उनले पनि फेरिएको मापदण्डको लाभ उठाएका हुन्।

यस्तो छ लेखा उपसचिवको सरुवा

-कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुरका प्रमुख कोष नियन्त्रक गोरखबहादुर शाही ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय,

-ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका लेखा उपसचिव भोजराज पौडेल संघीय संसद् सचिवालय,

-महालेखा नियन्त्रक कार्यालयका लेखा उपसचिव मुनकुमार केसी कोष तथा लेखा नियन्त्रक कार्यालय, लैनचौर,

-काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा उपसचिव यज्ञप्रसाद ढकाल महालेखा नियन्त्रक कार्यालय,

-स्वास्थ्य सेवा विभागका लेखा उपसचिव भुवनप्रसाद काफ्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालय,

-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा उपसचिव रोमाकान्त काफ्ले कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरबार,

-सहरी विकास तथा भवन निर्माण विभागका लेखा उपसचिव भगवानप्रसाद उप्रेती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार,

-कोष तथा लेखा नियन्त्रक कार्यालय, नुवाकोटका लेखा उपसचिव भीमप्रसाद देवकोटा स्वास्थ्य सेवा विभाग,

-कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धाराका लेखा उपसचिव भूमिराज भुसाल आयोजना निर्देशनालय एडबी,

-जल तथा मौसम विज्ञान विभाग, बबरमहलका लेखा उपसचिव भाष्कर शर्मा नेपाल केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षा ज्ञानेश्वर,

-अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका लेखा उपसचिव शिवराम भट्टराई कोष तथा लेखा नियन्त्रक कार्यालय बबरमहल,

-राजस्व अनुसन्धान विभाग, हरिहर भवनका लेखा उपसचिवया मप्रसाद ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,

-सार्वजनिक वित्त व्यवस्थापन कार्यालयका लेखा उपसचिव युवराज आचार्य कोष तथा लेखा नियन्त्रक कार्यालय, ललितपुर,

-कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका लेखा उपसचिव महेशकुमार दाहाल कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुर,

-जल तथा ऊर्जा आयोगको सचिवालय, सिंहदरबारका लेखा उपसचिव बालकृष्ण अर्याल सहरी विकास तथा भवन निर्माण विभाग,

-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लेखा उपसचिव गणेशप्रसाद चालिसे काठमाडौं उपत्यका खानेपानी लिमिटेड,

-राष्ट्रपति कार्यालयका लेखा उपसचिव जनार्दन बडाल सर्वोच्च अदालत,

-युवा तथा खेलकुद मन्त्रालयकी लेखा उपसचिव सुनिता सुवेदी कोष तथा लेखा नियन्त्रक कार्यालय, सुन्धारा,

-कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका यज्ञराज उप्रेती बागमती सिंचाई आयोजन,

-संघीय संसद् सचिवालयका लेखा उपसचिव प्रेमचन्द्र भुसाल जल तथा मौसम विज्ञान विभाग, बबरमहल,

-कोष तथा लेखा नियन्त्रक कार्यालय, सिंहदरबारका लेखा उपसचिव रूपेश जंग थापा मगर राष्ट्रपति कार्यालय,

-सर्वोच्च अदालतका लेखा उपसचिव नारायणप्रसाद दाहाल राजस्व अनुसन्धान विभाग, हरिहर भवन,

-आयोजना निर्देशनालय एडीबीकी लेखा उपसचिव ओमकुमारी पोखरेल युवा तथा खेलकुद मन्त्रालय,

-कोष तथा लेखा नियन्त्रक कार्यालय, बबरमहलका लेखा उपसचिव रुद्रप्रसाद भट्ट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र,

-केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षा, ज्ञानेश्वरका लेखा उपसचिव विनोद गेलाल वन तथा भू-संरक्षण विभाग,

-कोष तथा लेखा नियन्त्रक कार्यालय, लैनचौरका लेखा उपसचिव कृष्ण पुडासैनी सार्वजनिक खरिद अनुगमन कार्यालय,

क्याटेगोरी : समाचार
ट्याग : #गोरखबहादुर शाही उपसचिव, #निरज केसी, #भोजराज पौडेल उपसचिव, #महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, #श्यामप्रसाद भण्डारी सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ