सर्वोच्चमा आउन रोकिएका निरौला बल्ल सिफारिसमा परे

उच्च अदालतका १४ न्यायाधीश सरुवा


काठमाडौं। एक मात्र मुख्य न्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा आउन नभएका नृपध्वज निरौला बल्ल सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका छन्। योभन्दा अगाडि सर्वोच्च छिर्न नपाएका निरौला बल्ल सर्वाेच्च अदालतको न्यायाधीशका लागि ‘योग्य’ भएका हुन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले घर जाने बेलामा उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई  ‘गुन’ लगाएका छन्। निरौलासहित शुक्रबार बसेको न्याय परिषद्को बैठकले रमेश लेखका नाताले साढूभाई पर्ने नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ। पाण्डेले आफूभन्दा ४ जना वरिष्ठ मुख्य न्यायाधीशलाई पछाडि पार्दै सर्वोच्चमा सिफारिस हुन सफल भएका छन्। न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने भएपनि निरौला र पाण्डेलाई मात्र सिफारिस गरेको हो।

न्याय परिषद्ले गत मंसिरमा उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश नियुक्ति गर्दा पाण्डेको नाम पाँचौ नम्बरमा परेका थिए। नृपध्वज निरौला त्यसै एक नम्बर थिए। त्यसपछि लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद भण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापा रहने गरी मुख्य न्यायाधीशमा सिफारिस भएका थिए। अन्तिमबाट दोस्रो नम्बरमा रहेका पाण्डे शाह, पोखरेल, भण्डारी र पौडेललाई पछि पार्दै सर्वोच्चमा उक्लन सफल भएका छन्।

नेपाल बार एसोसिएसनको विरोधका बाबजुद सर्वोच्च अदालतमा २ न्यायाधीश सिफारिस भएका हुन्। त्यस्तै उच्च अदालतका १४ जना न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #नित्यानन्द पाण्डे, #नृपध्वज निरौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ