३ जना वरिष्ठ मुख्य न्यायाधीशलाई पछाडि पार्दै पाण्डेले सर्वोच्चमा बाजी मारे


काठमाडौं। ३ जना वरिष्ठ मुख्य न्यायाधीशलाई पछाडि पार्दै नित्यानन्द पाण्डेले सर्वोच्च अदालतमा बाजी मारेका छन्। न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालतबाट दुईजना मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डे सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका हुन्। यीमध्ये पाण्डे मुख्य न्यायाधीशको वरियताक्रममा चौथो नम्बरमा रहेका छन्।

मुख्य न्यायाधीशको पहिलो बरियतामा रहेका नृपध्वज निरौला स्वभाविक ढंगले सर्वोच्च अदालत छिर्ने भएका हुन्। पाण्डे भने आफूभन्दा वरिष्ठ मुख्य न्यायाधीशहरू लोहितचन्द्र शाह, रमेशप्रसाद भण्डारी र श्रीकान्त पौडेललाई पछाडि पार्दै सर्वोच्चमा सिफारिस हुन् सफल भएका छन्। न्याय परिषद्का अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सुदूरपश्चिम कै हुनु र गृहमन्त्री रमेश लेखेको साढूभाई नाता पर्नुले पाण्डेले सर्वोच्चमा बाजी मारेको चर्चा चल्न थालेको छ।

गत मंसिरमा न्याय परिषद्ले गत उच्च अदालतमा ६ जना मुख्य न्यायाधीश नियुक्ति गर्दा पाण्डेको नाम पाँचौ नम्बरमा परेका थिए। लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद भण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्ति सिंह थापा रहने गरी बरियताक्रम निर्धारण परेर न्याय परिषद्ले मुख्य न्यायाधीश नियुक्ति गरेको थियो।

यीमध्ये माधवप्रसाद पोखरेलले अवकाश पाइसकेका छन्। पोखरेल ठाउँमा रत्नबहादुर बागचन्द नियुक्ति भएर उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा पदस्थापन भए। बाँकी रहेका उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाह, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेललाई पछि पार्दै उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश पाण्डे सर्वोच्च अदालतमा उक्लन सफल भएका छन्। सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्दा पनि बरियता मिच्ने काम भएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #नित्यानन्द पाण्डे, #नृपध्वज निरौला, #रमेशप्रसाद भण्डारी र श्रीकान्त पौडेल, #लोहितचन्द्र शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ